Comments Add Comment

एमबीबीएस अध्ययनरत सौरभकोे मृत्यु कि हत्या ?

आफन्तले गुहारे मानवअधिकार आयोग


३० साउन, सिमरा । सरकारी छात्रवृत्तिमा विराटनगरस्थित नोबेल कलेजमा एमबीबीएस अध्ययनरत सौरभ उप्रेतीको रहस्यमय मृत्यु भएको दुई हप्ता बित्यो ।

एसएलसीमा ९३ प्रतिशत अंक ल्याएका बारा, कोल्हबी नगरपालिका ८ का सौरभले उच्च शिक्षा सरकारी छात्रवृत्तिमै पढे । २५ वर्षे सौरभले १५ साउनको साँझमा बुबालाई फोनमा भनेका थिए, ‘परीक्षा सकियो । १५/२० दिनका लासिग गाउँ आउँछु ।’

भोलिपल्टै अर्जुन उप्रेतीलाई छोराको घरबेटीको फोन आयो, सौरभ बेहोस भएर अस्पताल भर्ना भएका छन् । उनलाई साझै विराटनगर अस्पताल आउन भनियो ।

अपरान्ह अर्जुन छरछिमेकीसहित अस्पताल पुगे । अघिल्लो दिन साँझसम्म टेलिफोनमा कुरा गरिरहेका छोरालाई भोलिपल्टै अस्पतालमा मृतक देख्दा भक्कानिए । उनका आफन्त र सौरभका साथीलगायतले अस्पताल परिसरमा हो-हल्ला गरेको भन्दै प्रहरीले बुबा अर्जुन सहितलाई सोझै मोरङ प्रहरी कार्यालय लग्यो ।

अर्जुनका अनुसार प्रहरीले घटनाको प्रकृति गम्भिर रहेको भन्दै घर फर्किन आग्रह गरेको थियो । तर, आफन्तले पोस्टमार्टम भएपछि मात्रै घर फर्किने भनेपछि शव धरान लैजान आग्रह गर्‍यो । भोलिपल्ट सौरभको शव धरान लगियो ।

कार्कीको घरमा डेरा गरी बसेका सौरभ र कुवेर थापा एउटै कोठामा बस्थे । सोही घरको अर्को कोठामा बस्ने सत्रुधन यादव र कुवेरका अनुसार उनीहरु ३ जना अघिल्लो दिन राति करिब २ बजेसम्म सँगै पढेर बसेका थिए । तर, बिहान ६ बजे सौरभ बेहोस अवस्थामा रहेको भन्दै दुई साथीले घरवाला र परिवारलाई खबर नगरी अस्पताल पुर्‍याए ।

उनीहरुका अनुसार सौरभको घाँटीमा ल्यापटपको तार बेरिएको र केही ठाउँमा निलडाम थियो ।

एउटै कोठामा सुतेका कुवेरले घटनाबारे आफूलाई थाहा नभएको बयानमा प्रहरीसामू भनेका छन् । दुबै साथीले घटनाबारे थाहा नभएको भन्नु र मृतकको घाँटीमा ल्यापटपको तारको निलडाम देखिनुले घटना हत्या हो कि मृत्यु भन्ने पत्ता लगाउन प्रहरीलाई यति लामो समय नलाग्नु पर्ने परिवारको दाबी छ ।

उनीहरुको सौरभको हत्या भएको दाबी गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

नातीको मृत्यु संस्कारमा हजुरबुबा

पिता जिवित हुँदा छोराले काजकिरियामा बस्न नमिल्ने हिन्दु परम्परा अनुसार सौरभका ८२ बर्षे हजुरबुबा छबिलाल उप्रेतीले नातीको मृत्यु संस्कार गरेका छन् ।

प्रहरीले घटना अनुसन्धानमा ढिलासुस्ती गरेको उनको गुनासो छ । ‘नातीले अनाहकमा ज्यान गुमायो, हत्यामा कलेज र साथीहरुकै मिलोमतो छ’ गहभरी आँसु पार्दै उनले भने, ‘घर भन्दा टाढा राखेर छोराछोरी पढाउन नहुने रहेछ ।’

नेकपाका स्थानीय नेता तथा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न मोरङका एसपी मनोज केसीलाई आग्रह गरेको बताए । उनले दोषीलाई कारवाहीको दायरामा ल्याउन पहल गर्ने बताए ।

कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

मोरङका एसपी मनोज केसीले घटनाको छानबिन गरी सत्थ तथ्य छिट्टै बाहिर ल्याउने बताएका छन् । दुई साथीको बयानलाई एक बिशेष प्रबिधिद्वारा ‘पोलिग्राफ टेस्ट’ सुरु गरिएको भन्दै उनले अनुसन्धानमा कुनै कसुर बाँकी नराख्ने बताए ।

प्रहरीका अनुसार दुबै प्रहरी निगरानीमा छन् । तर, अस्पतालले गत मंगलबार बुझाएको शव परिक्षण प्रतिवेदनमा ‘कज अफ डेथ’नदेखिएको प्रहरीले बताएको छ । पीडितका परिवारले भने प्रहरीको अनुसन्धानमा शंका व्यक्त गरेका छन् ।

सौरभका बुबा अर्जुनले भने संगै पढने साथीहरुको भनाइ अनुसार कलेजले घटना घटाएको हुन सक्ने आशंका गर्ने थुप्रै कारण रहेको बताए । त्यहाँका स्थानीयका अनुसार यसअघि पनि कलेजले स्कुलका एक उत्कृष्ट विद्यार्थीको हत्या गरी निजको प्रमाणपत्र महँगो मुल्य बिक्री गरेको हल्ला चलेको उनले बताए ।

घटना घटेको हप्तादिन बितिसक्दा पनि कलेजले शोक वक्तब्यसम्म जारी नगर्नु, बिहान कसैलाई खबर नगरी अस्पताल ल्याउनु, मृतकलाई बेहोस भनेर परिवारलाई अस्पताल बोलाउनुलगायतले शंका लागेको परिवारका सदस्यहरु बताउँछन् ।

सौरभकी बहिनी सोनु उप्रेतीले दाजुसँगै बस्ने साथीहरुबाटै हत्या भएको हुन सक्ने बताएकी छन् । अघिल्लो दिन १६ गतेको राति ११ बजेर २० मिनेटमा सँगै बस्ने साथीले फेसबुकमा रिप लेखेको आफूले देखेको उनले बताइन् ।

साथीहरुले राति २ बजेसम्म सँगै पढेको बताए पनि एक जनाले सौरभको फोटोसहित ११ बजे नै रिप लेखेको स्किृन सट प्रहरीलाई बुझाएको उनले बताइन् । उनलाई पक्राउ नगरी सामान्य तारेखमा छाडेकाले प्रहरीको अनुसन्धानमाथि शंका लागेको भन्दै उनले आवश्यक छानबिन गर्न माग गरेकी छन् ।

आफन्तले गुहारे मानवअधिकार आयोग

सौरभको मृत्युको रहस्य सार्वजनिक गर्न माग गर्दै आफन्त र छिमेकीले मानव अधिकार आयोगमा निवेदन दिएका छन् । मृत्यु भएको दुई हप्ता बितिसक्दासमेत हत्या वा आत्महत्या हो भन्ने कुरा प्रहरीले सार्वजनिक गर्न नसकेको भन्दै प्रभावकारी अनुसन्धानका लागि परिवारले आयोगलाई गुहारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment