Comments Add Comment

आजका पत्रपत्रिकाः सुत्केरी र बिरामी बोक्न डोजर, घाटा लागेको व्यवसाय बन्द गर्न १० हजार !

३१ साउन, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषयहरु परेका छन् । खासगरी, स्थानीय तहमा कर लगाउन देखिएको होडबाजी र मुलुकी ऐन प्रतिष्थापन गरी भदौ १ देखि लागू हुन लागेका मुुलुकी फौजदारी संहिताका विषयवस्तु माथि पत्रपत्रिकाहरु बढी केन्द्रित भएका छन् ।

त्यसैगरी, कांग्रेसमा ५ सय उजुरी अलपत्र परेको, पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएको, विद्युत्तीय सवारी सञ्चालन अन्योलमा परेको, नेपाल रेल्वेको जग्गा अनधिकृत किनबेच भएको, जीवित भएको प्रमाण लिनसमेत कर तिर्नुपर्ने भएकोलगायत समाचार पनि आजका पत्रपत्रिकाको पहिलो पृष्ठमा छन् ।

फौजदारी संहितामा प्रेसलाई कडा अंकुश लगाइएकोलाई मुख्य समाचार बनाएको कान्तिपुरले वातावरणमैत्री विद्युत्तीय सवारी साधन सञ्चालनमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले आलटाल गरेको लेखेको छ । कान्तिपुरमै गाउँलेलाई आत्मनिर्भर बनाउन पर्वतको एक गाउँपालिकाले एक घर एक टनेल कार्यक्रम शुरु गरेको खबर पनि छ ।

अन्नपूर्णले स्थानीय तहमा कर लगाउन देखिएको होडबाजीलाई ‘करको बबन्डर’ शीर्षक दिएर लेखेको छ । समाचारमा गाउँमा सिंहदरबार आएको भनेर दंग जनतालाई करको बोझ थोपरेर स्थानीय सरकारले निराश बनाएको उल्लेख छ । कांग्रेसमा ५ सय उजुरी अलपत्र परेकोलाई पनि अन्नपूर्णले छापेको छ ।

बागमती नदीमा बुधबार आएको बाढीले वरपरका बासिन्दालाई दिएको सास्तीमाथि मुख्य समाचार लेखेको नागरिकले दोलखामा सुत्केरी तथा बिरामी बोक्न डोजर प्रयोग गर्ने गरिएको अर्को रोचक समाचार छापेको छ । ग्रामीण सडकमा अन्य सवारी साधन गुड्न नसक्ने भएपछि दोलखाको शैलुंगेश्वर गाउँपालिकामा सुत्केरी तथा बिरामी बोक्न डोजर प्रयोग गर्ने गरिएको हो ।

केही दिनदेखि स्थानीय तहले लगाउँदै आएको करबारे समाचार लेख्दै आएको नयाँ पत्रिकाले आज पनि यही विषयवस्तुलाई मुख्य समाचारका रुपमा छापेको छ । पत्रिकाले विभिन्न नगरपालिकाले लगाएको अनौठो करलाई मुख्य विषयवस्तु बनाएको छ । समाचार अनुसार मोरङको विराटनगर महानगरपालिकाले व्यवसाय बन्द भएको सिफारिसका लागि १० हजार कर तोकेको छ । व्यवसाय दर्ता गर्न भने ५ सय शुल्क तोकिएको छ ।

राजधानीले राजनीतिक कोपभाजमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परेको निष्कर्ष निकालेको छ भने गोरखापत्रमा बिम्स्टेकको तयारी पूरा गर्न प्रधानमन्त्रीले दिएको निर्देशनलाई समाचारका रुपमा छापिएको छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment