Comments Add Comment

वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्यांक पनि राखिँदै, बन्यो अनलाइन सिस्टम


३१ साउन, काठमाडौं । सरकारले अब विदेशमा रोजगारी गरेर फर्किएकाहरुको पनि तथ्यांक राख्ने भएको छ । अहिलेसम्म यसको थालनी भएको थिएन ।

रोजगारीका लागि विदेशी जाने नेपालीहरुको रेकर्ड सरकारसँग हुन्छ । तर, विदेशबाट फर्किनेहरुको बारेमा सरकारी निकायहरु कुनै खोजखबर गर्दैनन् ।

विदेशमा श्रम गरेर वर्षेनी कति नेपाली स्वदेश फर्किन्छन् भन्ने प्रश्नमा उत्तर दिन नसक्ने सरकारले अब भने एकीन तथ्यांक नै लिने तयारी गरेको हो ।

श्रम तथा रोजगार मन्त्रालयले फर्किएका कामदारको पनि सम्पूर्ण रेकर्ड राख्ने तयारी गरेको छ ।

यो व्यवस्थासहित वैदेशिक रोजगारीमा जाने युवाको विवरण र तथ्याङ्क व्यवस्थित गर्ने गरी श्रम तथा रोजगार मन्त्रालयले अनलाइन सिस्टम विकास गरेको छ ।

श्रममन्त्री गोकर्ण बिष्टले अबको १० दिनभित्र यस्तो अनलाइन सिस्टमको प्रयोग गर्न सुरु गरिने जानकारी दिएका छन् । यस्तो अनलाइन सिस्टममा जानेहरुको विवरण र सम्पुर्ण खालका तथ्यांक त रहने छ नै अब फर्किएकाहरुको पनि तथ्यांक सरकारसँग हुनेछ ।

अहिलेसम्म फर्किनेको तथ्यांक एकीन नहुँदा सरकारले नीति निर्माणमा अप्ठेरो खेप्दै आएको थियो ।

विदशे जाने युवाको तथ्यांकमा पनि अनेक प्रकारका अन्योल थिए । श्रम स्वीकृति लिने संख्यालाई नै विदेश गएको संख्याका रुपमा मानिँदै आएको थियो ।

अब भने कामका लागि श्रमिक भिसामा जाने र त्यहाँबाट काम गरेर फर्किनेको तथ्यांकलाई व्यवस्थित र एकीकृत गर्न लागिएको हो ।

‘कामका लागि विदेश जान सबैको सम्पूर्ण व्यक्तिगत विवरण, नाम थर, ठेगानाा, पासपोर्ट नम्बर, विदेशमा कुन कम्पनीका जाने, कस्तो काममा जाने, कति वर्ष बस्ने, कति तलव सुविधा छ लगायताका सबै विवरण हामी अनलाइनमा एक क्लिक गर्दा भेटिने गरी गरि राख्दै छौं,’ मन्त्री बिष्टले भने,’फर्किनेको पनि यस्तै विवरण सहित कुन कम्पनीबाट कति वर्ष काम गरेर कुन सीप लिएर फर्किएको छ भन्ने सबै व्यवस्थित गरिनेछ ।’

अहिलेसम्म कामका लागि श्रम स्वीकृति लिएर ५० लाखभन्दा बढी युवा विदेशिएको तथ्यांक भएपनि यसमा श्रम रि-इन्ट्री गरेर जानेको संख्या पनि जोड्ने गरिन्छ । जसले गर्दा तथ्यांकमा दोहोरपना छ ।

विदेशिएकामध्ये कति युवा स्वदेश फर्किए र कतिले फेरि श्रम इजाजत नवीकरण गरेर विदेश उडे भन्ने एकीन तथ्यांक अहिले सरकारसँग छैन ।

त्यसैले अब विदेशबाट फर्किएकाहरुको पनि व्यवस्थित तथ्यांक राख्ने निश्कर्षमा मन्त्रालय पुगेको हो । अब विदेशबाट फर्किएकालाई एयरपोर्टमै सोधिनेछ ‘के सीप सिक्नुभयो ? कति वर्षको अनुभव छ ? कुन कम्पनीमा काम गर्नुभयो ? फर्केर के गर्नुहुन्छ ? लगायत ।

देशमा रोजगारीको पर्याप्त अवसर र उचित वातावरण नभएपछि युवा शक्तिको विदेश पलायन जारी छ । विदेशमा काम गर्न जान चाहने युवाले सरकारसँग श्रम स्वीकृति लिनुपर्छ । सरकारले तोकेको कर तिरेपछि पनि अनेक हण्डर खानुपर्छ ।

श्रम अनुमतिका लागि युवाले तिर्ने राजश्व सरकारको आम्दानीको गतिलो श्रोत पनि हो । त्यही युवा विदेशबाट अनेक दुःखकष्ट सहेर फकिँदा राज्य र सरकारी निकायले कुनै चासो राख्दैनन् ।

उल्टै मलेसिया सहितका खाडी मुलुकबाट फर्किएका युवालाई दोस्रो दर्जाको नागरिकको जस्तो व्यवहार भएको गुनासो सुनिन्छ ।

तथ्यांक किन ?
श्रम मन्त्रालयका अधिकारीहरुका अनुसार विदेशबाट फर्किएका जनशक्तिको महत्वलाई बुझेर नै तथ्यांक लिने तयारी गरिएको बताउँछन् । विदेशबाट फर्किएका युवालाई ‘सोसियल रेमिट्यान्स’ भएकाले उनीहरुको तथ्यांक फेरि स्वदेशमा स्वरोजगार गराउने नीतिका लागि यो महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

‘कामदारले विदेश गएर कमाएर पठाउने रेमिट्यान्सको महत्व कति छ भनेर बयान गर्नुपर्दैन’ मन्त्रालयका एक अधिकारी भन्छन् ‘तर, उनीहरुले विदेशमा संगालेका सीप र अनुभव त्योभन्दा निकै बहुमूल्य हुन्छ । त्यसको सदुपयोग गर्ने वातावरण तयार गर्न फर्किएका युवाबारे राज्यले चासो राख्न लागेको हो ‘

उनले राज्यले रोजगारी सम्बन्धी नीति बनाउँदा र कार्यक्रमहरु तय गर्दा पनि यस्ता तथ्यांकले निकै महत्व राख्ने बताए ।
मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन विन्दुबाटै विदेशमा काम गरेर फर्किनेहरुको तथ्यांक लिने योजना बनाइएको छ ।

अध्यागमन विभागको ‘एराइभल डेक्क’ प्रयोग गरेर सहज रुपमा तथ्यांक लिने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment