Comments Add Comment

आयोग साहको हत्या आफन्तबाटै

हजुरबुवा र ठूली आमा पूर्पक्षका लागि कारागार चलान


३१ साउन, वीरगञ्ज । असार ३१ गते स्थानीय पोखरीमा मृत भेटिएका पर्सा बहुदरमाई नगरपालिका– २ का ६ वर्षीय आयोग साहको हत्या परिवारकै सदस्यबाट भएको दाबी प्रहरीले गरेकाे छ । हत्याको एक महिनापछि प्रहरीले आयोगकको हत्या परिवारकै सदस्यबाट भएकाे दाबी गरेकाे हाे ।

शिवजी साहको छोरा आयोगको हत्या हजुरबुवा र ठूली आमा मिलेर गरेको प्रहरी दावी छ ।

हत्या अभियोगमा प्रहरीले जिल्ला पर्सा, बहुदरमाई–२, बैरीया विता बस्ने ताराचन्द साह र रितादेवी साहलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । ताराचन्द आयोगका हजुरबुवा हुन् भने रिता ठूली आमा ।

घटनाको अनुसन्धान गर्दै जाँदा मृतकको बाजे ताराचन्द र निजकै ठूली आमा रिता देवी मिलेर आयोगको हत्या गरेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले जानकारी दिए ।

‘अनुसन्धानको क्रममा संकलित प्रमाणका आधारमा उनीहरु दुवै जना मिलेर बालकको हत्या गरेको देखिएको छ’, उनले भने ‘हत्याको कारण खुल्न सकेको छैन, थप अनुसन्धान गरिरहेका छौं ।’

असार ३१ गते बिहान ८ बजे खाना खाएर घरबाट निस्किएका आयोग घरदेखि अन्दाजी ३ सय मिटर उतरतर्फ रहेको बाँसको झाङ नजिकैको पोखरीमा दिउँसो २ बजेतिर मृत भेटिएका थिए ।

प्रहरी स्रोतका अनुसार उनीहरुले पोखरीको उत्तरी किनारमा रहेको खर काँस सहितको बाँसको झाङमा लगी आयोगको घाँटी बटारेर हत्या गरेका थिए । त्यसपछि नजिकैको पोखरीमा लास फालेका थिए ।

पर्सा जिल्ला अदालतको साउन २८ गतेको आदेशले साउन ३० गते दुवै जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

८ महिनाको अन्तरालमा एकै परिवारका दुई जना बालकको हत्या भएपछि स्थानीयले गम्भीर ढंगले अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र समेत बुझाएका थिए ।

प्रशासनले यसबारे छानबिन गर्न समिति गठन गरेको थियो । अनुसन्धानमा सहयोग पुर्याउन सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको संयोजकत्वमा गठन गरिएको छानवीन समितिले प्रतिवेदन अन्तिम चरणमा पुर्याएको छ ।

दुई बालकको हत्यार अझै पत्ता लागेनन

आयोगको हत्या प्रकरणमा सफल भए पनि प्रहरीले पर्साका दुई बालक हत्या घटनाको दोषी पत्ता लगाउन सकेको छैन ।

०७४ मंसिर १६ गते शिवजी साहको दाइ सञ्जय साहको १० वर्षीय छोरा सुमित साहको पनि हत्या भएको थियो । घरबाट हराएको ४ दिनपछि सुमितलाई छुरा प्रहार गरी मारेर पोखरीमा फालिएको अवस्थामा शव फेला परेको थियो । उनको हत्यारा प्रहरीले अझैसम्म पत्ता लगाउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले सुमित साहको हत्याको घटनालाई पनि जोडेर अनुसन्धान हुने जानकारी दिए ।

त्यसैगरि ०७३ असोज २० गते मृत भेटिएका बहुदरमाई वडा नं. ८ रामनगरी बस्ने विनोद पटेलको छोरा वर्ष ९ को राजन पटेलको हत्यारा पनि प्रहरीले पत्ता लगाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment