Comments Add Comment

कांग्रेसका ‘युवा नेता’लाई खुलापत्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले बेलाबेलामा संसद र सडकमा कडा वक्तव्य दिन्छन् । सञ्चार माध्यमले प्राथमिकताका साथ प्रचार-प्रसार गर्छन् । उनी मिडियामा चर्चामै आउने गर्छन् । त्यसैले मैले पनि उनैलाई यो खुलापत्र लेख्दैछु । यो खुलापत्र विश्वप्रकाश शर्मा वा प्रदीप पौडेललाई पनि लेख्न सकिन्थ्यो । तर, उनीहरुले कांग्रेसभित्रको गुटमा खासै शक्ति आर्जन नगरेकाले गगन थापा प्राथमिकतामा परेका हुन् ।

धेरै पत्रिकाले युवा नेता भन्ने गर्छन्, तर मैले कसैलाई पनि युवा नेता र बुढा नेताको उपमा दिन चाहन्न । ८४ वर्ष पुग्न लागेका मोहनविक्रम सिंहले आफ्नो पार्टी हाँकेकै छन् । ८३ का गिरिजाप्रसाद कोइरालाले ०६३ को आन्दोलनलाई सफलतामा पुराएर गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेले । युवा भनिएका नेताहरु ५० वर्षमै पनि थाकेर लखतरान परेका धेरै उदाहरणहरु छन् ।

स्वयं थापाले पनि ६० वर्षपछि आफूले अवकाश लिने बताइसकेका छन् । अमेरिकाका डोनाल्ड ट्रम्प ७५ को हाराहारी पुगिसकेका छन् भने मलेसियाका मोहम्मद महाथिरले ९२ वर्षमा पुनः शासन हातमा लिएर दुनियाँलाई चकित पारेका छन् । त्यसैले युवा र वृद्ध नेता भनिनुमा राजनैतिक, सैद्धान्तिक कारण छैन । त्यो युवाहरुको चञ्चल मन खिच्ने एउटा गतिलो मसला हो ।

जे भए तापनि मुख्य विषयवस्तुतिर जानु उपयुक्त हुन्छ । गगन थापा नेपाली कांग्रेसका नेता हुन् । तर, अहिलेको नेपाली कांग्रेस कस्तो छ त ? के यो ०४६ सालको गणेशमान सिंहको कांग्रेस हो, जसले कम्युनिस्ट पार्टीसित मिलेर पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन सञ्चालन गरेर बहुदलीय व्यवस्था पुनस्र्थापना भयो ? के यो ०६३ सालको गिरिजाप्रसाद कोइरालाको कांग्रेस हो, जसले प्रतिगमनविरुद्ध संघर्ष गरेर देशमा गणतन्त्रका लागि अगुवाइ गरे ? के यो २००७ सालको वीपी कोइरालाको कांग्रेस हो, जसले राणा शासनविरुद्ध लडेर प्रजातन्त्र ल्याए ?

अहिलेको कांग्रेस त शेरबहादुर देउवाको कांग्रेस हो, जसले विगतमा भएका कैयौं कमजोरीबाट कत्ति पनि गल्ती स्वीकार गर्ने आँट गरेनन् । उनले ०५९ सालमा संसद् विघटन गरेर राजालाई प्रजातन्त्र बुझाउन महत्वपूर्ण भूमिका खेले । त्यसपछि फेरि पार्टी विभाजन गरेरै भए पनि राजाको प्रधानमन्त्री बन्न पुगे ।

०७२ को संविधान घोषणापछि केपी ओलीले भारतीय नाकाबन्दीको सामना गरेर देशको सार्वभौमिकतालाई माथि उठाएकै हुन् । इतिहासले त्यो घटनालाई सधैं गौरवपूर्ण घटनाको रुपमा व्याख्या गर्नेछ । तर, शेरबहादुर देउवालाई त्यो सैह्य भएन । भारतीय विस्तारवादको उक्साहटमा माओवादीसित प्रधानमन्त्रीको सौदाबाजी गरेर केपी ओलीलाई हटाइदिए । गगन थापा पनि त्यसको गोटी बनेका हुन् । कैयौं गल्तीहरु गरिसकेपछि उनले आफूलाई सुधार्न सक्नुपर्दथ्यो । तर, सकेनन् ।

कांग्रेसले लिने निर्णयले देशको भविष्यमा पनि दूरगामी असर पर्न सक्ने भएकाले उसका राजनीतिक निर्णयहरुलाई चासोपूर्वक हेरिने गर्दछ । कांग्रेसले देशका विरुद्धमा गरेका गल्तीहरुका चाङहरु छन् । तर, गगन थापाहरुले ती गल्तीहरुलाई उल्लेख नै गर्न चाहँदैनन् । इतिहासबाट पाठ नसिकी प्रजातन्त्र अगाडि बढ्न सक्दैन । वीपी कोइरालाले त्यसरी सिक्ने मौका पाएका थिएनन् । मनमोहन अधिकारी वा पुष्पलाललाई पनि गल्तीहरुबाट पाठ सिक्ने अवसर प्राप्त भएन । किनभने, उनीहरु नै पार्टी स्थापना वा आन्दोलनका संस्थापक नेताहरु थिए र उनीहरुलाई सिक्ने समय थोरै थियो ।

कांग्रेसको समाजवाद के हो ? यसबारेमा बहस गरौं । वीपी कोइरालाले भनेजस्तै बैठक कक्षमा गरिब किसानको फोटो राखेर मात्रै हुने हो कि काम पनि गर्नुपर्दछ भन्ने कुरामा कांग्रेसले कहिल्यै ध्यान दिएन । देशमा पञ्चायतले खोलिदिएका दर्जनौं उद्योगधन्दाहरु कांग्रेसले निजीकरण गरिदियो । बर्दियामा कपास खेती थियो, बुटवलमा धागो कारखाना थियो र हेटौंडामा कपडा कारखना थियो । बर्दियाको कपास बुटवलमा धागो बनेर हेटौंडा पुग्थ्यो कि पुग्थेन, त्यो मलाई थाहा छैन, तर पञ्चायतले सही निर्णय गरेको थियो । तर, गगन थापाले ती कारखाना सञ्चालन गरियोस् भनेर संसदमा कहिल्यै आवाज उठाएको सुनिएको छैन ।

ठूलठूला उद्योगधन्दाहरु सरकारले चलाउनुपर्छ कि पर्दैन ? भारतमा रेल, ठूलठूला बैंक जस्ता ठूलठूला परियोजना सरकारकै मातहतमा छन् । नेपालमा साझालगायत सार्वजनिक यातायातलाई ध्वस्त पारियो । गगन लगायतका नेताहरुले सार्वजनिक यातायात सरकारको मातहत हुनुपर्छ भनेर बोलेको आजका दिनसम्म सुनिएको छैन ।

अहिले देशमा हजारौं छपाई प्रेसहरु छन् । त्यहाँ छपाई गर्नका लागि भारत लगायत अन्य देशबाट हजारौं टन कागज नेपाल भित्रिन्छ । भृकुटी कागज कारखानाबाट गुणस्तरीय कागज उत्पादन हुन्थ्यो । भृकुटी कागज कारखानालाई विस्तार गरिनुको सट्टा किन खत्तम पारियो ? गगन थापाले त्यो कागज कारखाना सञ्चालन गर्नका लागि आवाज उठाउएको सुनिएको छैन ।

त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र फेजआउट गरियो । मलाई सम्झना छ, उक्त कार्यमा तपाईंहरुको पनि महत्वपूर्ण भूमिका रह्यो । नेतृत्वका हिसावले प्रदीप पौडेलको । अस्कल, बुटवल, पोखरा, बिराटनगर, सिद्धनाथ जस्ता सरकारी आंगिक क्याम्पसमा ३ हजारमा २ वर्षसम्म पढ्न पाइने आइएससीलाई प्लस टुको बहानामा २, ३ लाख पर्न गयो । अहिले गोविन्द केसीले जुन छात्रवृत्तिको कुरा गरिरहेका छन्, त्यो त २ लाख तिरेर पढ्न सक्नेहरुले मात्रै हात पार्छन् । गरिबको लागि त ६ वर्ष पहिले नै छात्रवृत्तिको घाँटी रेटिसकिएको हो ।

गगन थापाले निजी लगानीमा अकूत नाफाकै लागि खोलिएका निजी स्कुलहरुलाई सरकारीकरण गर्ने आवाज उठाएका छैनन् । किनभने कांग्रेसकै लगानीमा हजारौं निजी स्कुलहरु खोलिएका छन् । स्वयं गगन थापा पनि निजीकरण र उदारीकरणका हिमायती हुन् । निजीकरण र उदारीकरणका हिमायतीहरुले शिक्षा र स्वास्थ्यमा सरकारीकरणको वकालत गर्नु जनताको आँखामा छारो हाल्नुबाहेक अरु केही हो भने म गगन थापाहरुसित बहस गर्न तयार छु ।

कुनै पनि सरकारले गरेका राजनीतिक नियुक्तिहरु सरकार हट्दावित्तिकै सम्बन्धित व्यक्तिहरुले राजीनामा दिएर अर्काे सरकारलाई काम गर्ने वातावरण बनाइदिनुपर्ने हो । यदि त्यसो होइन भने राजनीतिक नियुक्ति दिने पदहरुलाई नै खारेज गरिदिनुपर्छ । तर, सरकार सञ्चालनका लागि कैयौं स्थानहरुमा राजनीतिक पदहरु आवश्यक पर्छ । जस्तो कि महान्याधिवक्ताले सरकार परिवर्तन हुनेवित्तिकै राजीनामा दिने चलन छ । तर, अरु पदहरु त कांग्रेसका वपौती जस्तै व्यवहार गरिरहेका छन् । कांग्रेसीहरु हलो हड्काएर गोरु चुट्ने योजनाका साथ कांग्रेसका कार्यकर्ताहरुलाई सर्वाेच्च अदालत पठाइदिए ।

वास्तवमा कांग्रेस भएकै कारण राजनीतिक पद पाएकाहरु केपी ओलीले बर्खास्त गरेपछि पनि सर्वाेच्च जानु भनेको न्यूनतम राजनीतिक नैतिकता नभएका हरामीहरु हुन् । उनीहरुले कांग्रेस भएका कारण जागिर पाएका थिए । कम्युनिस्ट सरकार आएपछि उनीहरुले छोडिदिनुर्दथ्यो । तर, त्यसो गरिएन । के ती राजनीतिक पदहरुमा सर्वाेच्चमार्फत् थमौती गरेर कांग्रेसीहरु केपी ओली सरकारको सुराकी गर्न चाहन्छन् ? विश्वविद्यालयका उपकूलपतिहरु, प्रज्ञा प्रतिष्ठान लगायतका संस्थाहरु राजनीतिको शिकार भएकाले त्यसले जटिल समस्या निम्त्याएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति कुलप्रसाद कोइराला सरकारलाई छलेर, विद्यमान कानुनहरु तोडेर विदेश भ्रमण गर्न लागेका थिए । सरकारलाई उपयुक्त लागेन भने उपकूलपति त के मन्त्री पनि विदेश भ्रमण जान पाउँदैन । उपकूलपति कुलप्रसाद कोइरालाको पक्षमा बोल्नु भनेको कानुनको विरोध गर्नुमात्रै होइन, कानुन उल्लंघन गर्नेहरुको वकालत गरेको ठहर्छ । उनलाई विदेश जान मन लाग्यो भन्दैमा कानुनहरु छलेर, लुकेर, ढाँटेर जान पाइँदैन । वास्तवमा कांग्रेसले उनलाई कारवाही गर्न माग गर्नुपर्दथ्यो । तर, कांग्रेसले विधिको शासनको पक्षमा होइन, एक जना खराब उपकूलपतिको पक्ष लियो । गगन थापाले कानुनी राज्यको वकालत गर्दैगर्दा कानुनको उल्लंघन गर्ने उपकूलपतिहरुको वकालत गर्दै हिँड्नु लज्जास्पद हो ।

गगन थापाले गोविन्द केसीको अनसनको समर्थन गरे । त्यो ठीकै हो । तर, उनले सरकारी अस्पतालमा डाक्टरहरुले गरेको मानवताविरोधी हड्तालको पनि समर्थन गरे । गोविन्द केसीको अनसनलाई समर्थन गर्नुको अर्थ डाक्टरहरुले गरेको मानवताविरोधी हड्तालको पनि समर्थन गर्नु होइन । गोविन्द केसीको अनसन र अस्पतालमा गरिएका हड्तालहरु फरक कुरा हुन् । गोविन्द केसीका सहयोगी अभिषेकप्रताप शाह, सूर्यराज आचार्यलगायत धेरैले गोविन्द केसीको अनसनको समर्थन गर्दै खुलारुपमै डाक्टरको हड्तालको विरोध गरेका थिए । गोविन्द केसीको अनसन र अस्पतालको हड्ताललाई एउटै आँखाले हेर्ने गल्ती गरिनुहुन्न ।

गोविन्द केसीको अनसनबाट अनुचित फाइदा लिन खोज्नेहरुको विरोध गर्न सक्नुपर्दथ्यो । तर, त्यसो गरिएन । गगन थापालाई थाहा हुनुपर्ने हो, महान् दोस्रो जनआन्दोलनमा पनि अस्पतालहरु हड्ताल गरिएका थिएनन् । गोविन्द केसीको अनसन जनआन्दोलन भन्दा महान् घटना थिएन । त्यो एउटा जनचासोको आन्दोलन हो । त्यो सफल हुनुपर्दथ्यो र भयो पनि ।

प्रथम विश्वयुद्धमा कति मारिए भन्ने एकीन नभए पनि दोस्रो विश्वयुद्धमा रुसका मात्रै साढे २ करोड मारिएका थिए । तर, त्यहाँ डाक्टरहरुले हड्ताल गरेका थिएनन् । युद्धहरुमा पनि डाक्टर साथसाथै हुन्छन् भने नेपालका सरकारी अस्पतालमा गरिएको हड्तालको समर्थन किन गरियो ? यसको उत्तर गगन थापाले दिनुपर्छ कि पर्दैन ? गगन थापा माइतीघरमा कुर्लिएर मात्रै हुन्छ त ?

कांग्रेसका डाक्टर कार्यकर्ता उतारेर अस्पतालमा हड्ताल गरिनुलाई कुनै पनि अर्थमा सही मान्न सकिन्न । कांग्रेसले त्यो नैतिकता गुमायो । गोविन्द केसीको अनसनले समर्थन पाउँदापाउँम्दै सत्ता पक्ष त्यहींनिर बलियो भएको थियो ।

संघीयता भन्ने एजेण्डा कांग्रेसको घोषणापत्रमै थिएन । गणतन्त्रको एजेण्डा त जनआन्दोलन चल्दै गर्दा भएको महाधिवेशनले पारित गरेको थियो । इतिहासमै कहिल्यै बहस नगरिएको, कुनै पनि जनआन्दोलनमा माग नगरिएको र देशलाई दूरगामी असर पर्ने संघीयताको बारेमा गगन थापा दृष्टिकोणविहीन नेता भएकोमा कुनै शंका छैन । उनी बजारमा जे विक्री हुन्छ, त्यही भाषण गर्न माहिर छन् । तर दर्शन, सिद्धान्त, विचारविहीन भाषणबाजीहरु २ दिनका लागि मात्रै काम लाग्छन् भन्ने कुरा पनि गगन थापाले बुझ्न जरुरी छ ।

सरकारले समयमै काम नगर्ने ठेकेदारहरुलाई कारवाही गर्न अग्रसर भयो । तर कांग्रेसका राधेश्याम अधिकारी र मिनेन्द्र रिजालहरुले त्यसको चर्काे विरोध गरे । गगन थापाले तिमी समयमै काम नगर्ने ठेकदारहरुलाई कारवाही गर हामी साथमा छौं भन्नै सकेनन् ।

वास्तवमा काम नगर्ने ठेकदारहरुलाई अदालतको फास्ट ट्रयाक बाटो बनाएरै कारवाही गरिनुपर्दछ । भ्रष्टाचारका मुद्दाहरुमा पनि फास्ट ट्रयाक प्रणालीबाटै कारवाही गरिनुपर्दछ । तर, गगन थापालगायतले यो कुरालाई कहिल्यै संसद्मा आवाज उठाएको पाइन्न । किन कि त्यसो गर्दा कांग्रेसकै भ्रष्टाचारी र ठेकदारहरु पर्ने ठूलो डर छ ।

देशको विकासमै दूरगामी असर पार्ने जलविद्युत परियोजनाहरु, अरुण तेस्रो र माथिल्लो कर्णाली भारतीय कम्पनीहरुलाई बेचियो । नेपाली जनताको लगानीबाट बनाउने पर्याप्त सम्भावना हुँदाहुँदै पनि त्यसो गरिएको विषयमा सबै जानकार छन् । ती परियोजनाहरुमा राष्ट्रघात भएको घामजत्तिकै छर्लंङ्ग छ । तर, गगन थापाहरु कत्ति पनि बोल्न चाहँदैनन् । त्यसैले यो पनि प्रष्ट छ कि उनीहरु देशको भविष्य बनाउनतिर होइन, आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न चाहन्छन् । देशको भविष्य डामाडोल बनाएर आफ्नो भविष्य बनाउने कार्य प्रकारान्तरले राष्ट्रघात हो भन्ने कुरा गगन थापाहरुले बुझ्ने हैसियत राखेनन् ।

प्रतीपक्ष भनेको सशक्त जनताको आवाज हो । तर, नेपाली कांग्रेसले संसद्मा आफू सत्तामा जान नसकेको तुष्टि पोखिरहेको छ । मिनेन्द्र रिजाल, गगन थापा, डिला संग्रौलाले जसरी संसद्मा प्रस्तुती दिइरहेका छन्, ती केवल ठट्टाको विषयवस्तु बनेका छन् । कांग्रेसले आत्मालोचनासहितको प्रस्तुती नगरीकनै संसद्मा कुनै पनि विषयवस्तु राख्नु भनेको उसको तुष्टि मात्रै हो भन्ने बुझ्न गाह्रो पर्दैन । माथिका तथ्यहरुले पुष्टि गर्छन्, गगन थापाहरुले आफ्ना निहीन स्वार्थ पूर्ति गर्नको लागि नेपालको राजनीतिलाई गलत बाटोमा लैजाँदैछन् भन्ने कुरामा कुनै शंका छैन । यदि त्यसो होइन भने देशको भविष्यका बारेमा राजनीतिका खराब पक्षहरुलाई परास्त गर्नको लागि सैद्धान्तिक राजनीतिक रुपमा किन नलाग्ने ? खुद्रा तरिकाले कहीँ पुगिनेछैन ।

(पोखरेल अखिल छैठौंका केन्द्रीय अध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment