Comments Add Comment

जलवायु परिवर्तनको असरको नेपालले क्षतिपूर्ति माग्ने

३१ साउन, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वव्यापी जलवायु परिवर्तनको असरबाट अतिप्रभावित मुलुकका नाताले नेपालले क्षतिपूर्ति दाबी गर्ने बताएका छन् ।

नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिससँग बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री बस्नेतले जलवायु परिवर्तनमा नेपालको कुल योगदान ०.०२७ प्रतिशत भए पनि प्रभावित मुलुकको अग्रपंक्तिमा नाम आउनु बिडम्बनापूर्ण रहेको भन्दै त्यसबारे विश्व समुदायले गम्भीर भएर सोच्नुपर्ने बताए ।

‘ग्लोबल वार्मिङमा हाम्रो योगदान ज्यादै नगण्य छ’, उनले भने, ‘तर, त्यसबाट प्रभावित मुलुकको सूचीमा नेपालको नाम अग्रस्थानमा छ ।’ जलवायु परिवर्तनका कारण हरेक वर्ष नेपालका हिमालयमा हिउँको तह पातलिँदै जानुका साथै वर्षायाममा पहाडमा पहिरो तथा भूक्षय र तराई क्षेत्रमा बाढीको प्रकोप बढ्दै गएको मन्त्री बस्नेतले उल्लेख गरे ।

यस्तै वन्जयन्तुको बासस्थान लोप हुँदा मानव वन्यजन्तु द्वन्द्व बढेको उनले बताए । ‘यस्ता विषयमा हामी अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन चाहन्छौं’, मन्त्री बस्नेतले भने, ‘बेलायतले नेपालको विषयमा अन्तर्राष्ट्रिय फोरममा कुरा उठाइदेओस् ।’

जलवायु परिवर्तनका कारण संसारभर मानिस, जनावर तथा वन्यजन्तुको जीवनशैली तथा आनिबानीमा आमूल परिवर्तन आइरहेको तथ्यलाई ध्यान दिँदै असर न्यूनीकरणका लागि योजनावद्ध प्रयास गर्नपर्नेमा उनले जोड दिए । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले बृहत्तर वृक्षारोपण तथा वातावरण संरक्षणको दीर्घकालिन योजना निर्माण गरेर काम थालेको पनि सो अवसरमा मन्त्री बस्नेतले बताए ।

राजदूत मोरिसले नेपालले वन्यजन्तु संरक्षणका क्षेत्रमा हात पारेको उपलब्धी विश्वकै लागि उदाहरणीय भएको चर्चा गरे । उनले वन्यजन्तु संरक्षणका क्षेत्रमा आफ्ना दुई छिमेकी भारत तथा चीनसँग सहकार्य गर्न नेपाललाई बेलायत सरकारले सुझाव रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment