Comments Add Comment

वीरको उपकुलपति र टिचिङको निर्देशक नियुक्तिको तयारी

उपकुलपति बन्ने योग्यता हेरफेर गरिएकोमा चलखेलको आशंका

३१ साउन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको उपकुलपतिको लागि आवश्यक योग्यताको मापदण्ड फेरेर पुनः विज्ञापन गरिएपछि बरिष्ठ चिकित्सक तथा प्राध्यापकहरुले चलखेलको आशंका गरेका छन् ।

छनोट समितिले पहिलो विज्ञापन रद्ध गरी मंगलबार दोस्रो विज्ञापन गोरखापत्रमा प्रकाशित गरेको छ । पहिलो विज्ञापनमा न्याम्सको उपकुलपति हुन प्राध्यापक, नेपाल सरकारको प्रथम श्रेणीको चिकित्सक हुनुपर्ने लगायतका बरिष्ठताका मापदण्ड राखेको थियो । तर दोस्रो विज्ञापन खुकुलो बनाइएको छ ।

उपकुलपतिको लागि न्युनतम योग्यतामा नेपाल चिकित्सक परिषदमा दर्ता भएको, नेपाल सरकारको एघारौं तहको चिकित्सक वा सो भन्दा माथिल्लो तहमा बहालवाला वा अवकाशप्राप्त चिकित्सक, स्वास्थ्य प्रतिष्ठानको बहालवाला वा अवकाशप्राप्त प्राध्यापक चिकित्सक वा स्वास्थ्य संस्था वा मेडिकल कलेजमा कार्यकारी तहको जिम्मेवारीमा रहेको वा जिम्मेवारी वहन गरिसकेको चिकित्सक भनिएको छ ।

आफू अनुकुलको व्यक्ति उपकुलपति बनाउन सजिलो हुने गरी योग्यता तोकिएको आशंका चिकित्सकहरुको छ । साउन २४ गते तत्कालिन उपकुलपति डा.गणेश गुरुङको कार्यकाल सकिएपछि प्रधानमन्त्री तथा न्याम्सका कुलपति केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री तथा सहकुलपति डा. उपेन्द्र यादवको संयोजकत्वमा छनोट समिति गठन गरेका थिए ।

समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा र विशेषज्ञ चिकित्सक सुशीलानाथ प्याकुरेल छन् । समितिले आवेदनका लागि २ साताको समय दिएको छ । अमेरिकामा रहेका डा. डिएन साहलाई मौका दिने गरी आवेदनका समय लामो राखिएको आरोपसमेत लागेको छ ।

स्रोतका अनुसार न्याम्सको उपकुलपतिका लागि प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री यादवबीच छलफल भइसकेको छैन । नेकपा निकट स्रोतका अनुसार ओलीको लिस्टमा डा.जागेश्वर गौतम र श्रीकृष्ण गिरी छन् । उनीहरु दुवैजना प्रधानमन्त्री र नेकपाको आधिकारिक लाइन पर्खेर बसेका छन् ।

प्रधानमन्त्रीको टिमको पहिलो रोजाइमा रहेका डा. जागेश्वर गौतम नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष हुन् । बरिष्ठ स्त्रीरोग विशेषज्ञ गौतम प्रसुती गृह अस्पतालको निर्देशक पनि हुन् ।

प्रधानमन्त्रीेबाट ग्रीन सिग्नल आएपछि मात्र आफूले न्याम्सको उपकुलपतिमा आवेदन दिने गौतमले आफू निकटहरुलाई बताएका छन् । अर्का दाबेदार गिरी भने शिक्षामन्त्री गिरिराजमणि पोखरेल निकट मानिन्छन् ।

नेकपा निकटकै निवर्तमान उपकुलपति डा. गणेश गुरुङ पनि दोस्रो कार्यकालका लागि लबिङमा छन् । तर उनीमाथि ट्रमा सेन्टर र प्रतिष्ठानमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्रालय र सतर्कता केन्द्रले छानबिन गरिरहेकाले प्रधानमन्त्रीनै उनीप्रति नकारात्मक छन् ।

स्वास्थ्यमन्त्री तथा न्याम्सका सहकुलपति उपेन्द्र यादवको रोजाइमा भने वीर अस्पतालकै चिकित्सक डा.सीताराम चौधरी र डा. डिएन शाह छन् । वीर अस्पतालका ग्यास्ट्रो विशेषज्ञ चिकित्सक चौधरी पूर्व डिन पनि हुन् । उनलाई न्याम्सका कर्मचारी युनियन र चिकित्सकको समर्थन छ ।

अर्का डा. डिएन शाह त्रिवि शिक्षण अस्पतालका चिकित्सक हुन् । उनी पनि उपेन्द्र यादव निकट मानिन्छन् । यादवको छनोटमा यी दुईमध्ये एक हुनेछन् । न्याम्सको आधिकारिक युनियनका पदाधिकारीले भने यादवलाई भेेेटेरै प्रतिष्ठानभित्रबाटै उपकुलपति नियुक्त हुनुपर्ने भन्दै चौधरीलाई सबै चिकित्सक र कर्मचारीको साथ रहेको बताएका छन् ।

न्याम्सको उपकुलपति, रजिष्टार, रेक्टर र वीर अस्पतालको निर्देशक चारवटै मुख्य पदमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीबीच छलफल भएर भागबण्डा हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

वीरका निर्देशक डा.भुपेन्द्र बस्नेतको कार्यकाल असोजसम्म छ । यादवले निर्देशकमा उनलाइनै निरन्तरता दिने आशय व्यक्त गरिसकेका छन् । त्यसैले अहिले तीन पदमा टुंगो लगाउनुपर्नेछ ।

उपकुलपति यादवको रोजाइका व्यक्ति भएमा रजिष्टार र रेक्टर प्रधानमन्त्री निकट व्यक्ति हुनेछन् । रजिष्टारमा प्रधानमन्त्रीका निजि चिकित्सक डा.दीलिप शर्माको सम्भावना छ । यद्यपी उपकुलपति नछाड्न प्रधानमन्त्रीमाथि नेकपा निकट चिकित्सकहरुको दबाब छ ।

टिचिङको निर्देशकमा को ?

यसैबीच त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को निर्देशकका लागि बरिष्ठ चिकित्सक खोजी भएको छ । अनसनकारी चिकित्सक डा.गोविन्द केसीले बरिष्ठ व्यक्तिलाई निर्देशक नबनाए अस्वीकार गर्ने चेतावनी दिएका छन् ।

यसअघिका निर्देशक डा.दीपक महराले गोविन्द केसीको अनसनकै बेला राजीनामा दिएपछि निर्देशक पद रिक्त छ । वरिष्ठताका आधारमा निर्देशकका लागि डा.वाइपी सिंह, डा.ईश्वर लोहनी र डा. दिनेश काफ्ले योग्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment