Comments Add Comment

सरकारकै कारण संघीयता खतरामा : रामचन्द्र पौडेल

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार संघीयताप्रति गम्भीर नभएको आरोप लगाएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले सरकारका कारण संघीयता खतरामा परेको भन्दै कांग्रेस आन्दोलनमा जानुपर्ने बेला आएको बताए ।

केन्द्र सरकारले ७० प्रतिशत बजेट आफैसँग राखेर संघीयताको मर्ममा प्रहार गरेको भन्दै नेता पौडेलले केन्द्रले बजेट नदिएकै कारण स्थानीय तहले धेरै कर उठाइरहेको धारणा राखे ।

कम्युनिस्ट पार्टीले हावादारी कुरा गरेर संसद कब्जा गरे पनि अहिलेसम्म उपलब्धीपूर्ण काम गर्न नसकेको उनले आरोप लगाए । जनवाद र संघीयता सँगसँगै जान नसक्ने भन्दै नेता पौडेलले सरकार संघीयताप्रति गम्भीर नभएको विषयलाई लिएर आन्दोलनमा जानुपर्ने बताए ।

संघीयताको उपलब्धी खतरामा परेको भन्दै उनले सरकारले कांग्रेसले काम गर्न दिएन भन्नु नाच्न नजान्ने आगन टेढो भनेजस्तो भएको बताए । सरकारले कांग्रेसले अर्थतन्त्र ध्वस्त बनाएको भनेर आरोप लगाइरहेको भन्दै कांग्रेसले यी भ्रमहरु चिर्न सक्नुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले ६ महिना नपुग्दै सरकार असफलसिद्ध भइसकेको दावी गरे । उनले सरकारले एउटा पनि उल्लेख्य काम नगरेको पनि बताए । वरिष्ठ नेता पौडेलले सरकारले न्यायपालिकामा समेत हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए ।

शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारीजस्ता जनताको आधारभूत विषयमा पनि सरकार गम्भीर नभएको उनको आरोप छ । नेता पौडेलले सरकारले सरुवा, बढुवामा समेत एकलौटी निर्णय लिएर सर्वसत्तावादी सोच देखाएको तर्क पनि गरे । उनले महंगी बढाउने, कर बढाउनेलगायतका जनताविरोधी कामबाहेक सरकारले अरु केही गर्न नसकेको पनि बताए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई अस्वीकृत गरेर स्वतन्त्र न्यायपालिकामाथि गम्भीर प्रहार गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment