Comments Add Comment

सहकारीलाई कृषिमा केन्द्रित हुन प्रधानमन्त्री ओलीको आग्रह

३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुलाई आफ्ना गतिविधि कृषिमा केन्द्रित गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय सहकारी महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार सिंहदरबारमा अन्तर्क्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कृषिमा देशको करिब दुई तिहाइ जनसंख्या निर्भर भएकोले यो क्षेत्रलाई आधुनिकीकरण नगरी देशमा समृद्धि हासिल नहुने बताए ।

‘सहकारीले कृषिमा आधुनिकीकरणका लागि खेती प्रणालीलाई ठूला-ठूला प्लटमा लैजानुपर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोगबाट उत्पादन र उत्पादकत्व दुवै बढाउन सकिन्छ । यो कुरा सहकारीको प्राथमिकतामा हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले सहकारीहरु ऋण तथा बचतमा मात्र केन्द्रित हुुन नहुने बताए । ‘सहकारीहरुले उपभोग्य वस्तु, निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिनुपर्छ’ प्रधानमन्त्री ओलीले भने ।

किसानलाई आधुनिक खेतीतर्फ प्रोत्साहन गर्नका लागि सहकरीले सस्तो व्याजमा ऋण उपलब्ध गराउनुपर्ने र त्यसका लागि सरकारले सहकारीहरुलाई सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment