Comments Add Comment

कोशीबाट ल्याएको अर्नाले चितवनमा पाडी जन्मायो

३१, साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा रहेको अर्नाले बिहीबार पाडी (पोथी बच्चा) जन्माएको छ ।

२०७३ सालमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट स्थानान्तरण गरी यहाँ ल्याइएको अर्नाले पाडी जन्माएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

अनुगमनमा जाँदा अर्नाले पाडी जन्माएको देखिएको अर्यालले बताए । अर्यालले भने ‘बुधबार अनुगमनमा जाँदा नौ वटा अर्ना देखिएका थिए, बिहीबार अनुगमनमा जाँदा आठ वटा मात्रै देखिए । एउटा हराएको हो कि भन्दै पुनः खोजी गर्दा एउटा अर्ना झाडीमा पाडीसँगै रहेको अवस्थामा भेटियो ।’

पाडी स्वस्थ रहेको र आमाको दूध खाइरहेको सूचना अधिकारी अर्यालले बताए । योसँगै निकुञ्जमा अर्नाको संख्या १० पुगेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले अर्नाले बच्चा जन्माउनुलाई स्थानान्तरणको सफलता भएको बताए । उनले चितवन राष्ट्रिय निकुञ्ज अर्नाका लागि अनुकूल रहेको पुष्टि गरेको बताए । उनले भने ‘यहाँ अर्नाका लागि उपयुक्त वातावरण छ, सजिलै वंश वृद्धि गर्न सक्दो रहेछ भन्ने प्रमाणित भयो ।’

चितवन राष्ट्रिय निकुञ्जमा २०७३ माघमा कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ एवं सदर चिडियाखाना काठमाण्डौंबाट एक भाले र दुई पोथी गरी तीन वटा अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । चिडियाखानाबाट ल्याइएका केही अर्ना मौसम र खानपान नमिलेपछि मरेका थिए ।

गतवर्षको बाढीले खुल्ला खोरको जाली भत्काएपछि उक्त ठाउँबाट पसेको बाघले एउटा अर्ना मारेको थियो । खोरभित्र बाढी पसेर घाँस प्रदुषित भएपछि बिरामी परेर दुई वटा अर्ना मरेका थिए ।

निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर (इन्क्लोजर) निर्माण गरी अर्ना राखिएको छ । बाघले अर्नाको शिकार गर्ने भएकाले खुुला खोरमा राख्ने व्यवस्था गरिएको हो । अर्ना बथानमा परिणत नभएसम्म खुुल्ला खोरमै राख्ने निकुञ्जले जनाएको छ । ३० हेक्टर क्षेत्रफलमा दुई हजार मिटर जाली लगाएर निर्माण गरिएको खोरमा अर्ना राखिएको छ । खोरभित्र घाँसे मैदान र पानीको स्रोत व्यवस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment