Comments Add Comment

नागीडाँडामा आन्तरिक विमानस्थलका लागि ईआईए हुँदै

२५ करोड मुआब्जा वितरण गरिँदै


३१ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन लागि काभ्रेको नागीडाँडामा आन्तरिक विमानस्थल बनाउने प्रक्रिया सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मनत्रालयले ५ वर्षभित्र यसको निर्माण सक्ने भन्दै काम अघि बढाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विमानस्थल निर्माणका जग्गा प्राप्ती गर्न मन्त्रालयले यो वर्ष २५ करोड रुपैयाँ उपलब्ध गराएको छ । प्राधिकरणका प्रवक्ता बिरेन्द्र श्रेष्ठकाअनुसार नागीडाँडामा हाल वातावरणीय प्रभाव मुल्यांकन (ईआईए)को प्रक्रिया अघि बढिसकेको छ ।

उनले केही समयभित्रै ईआईए प्रतिवेदन आउने र त्यसपछि जग्गा अधिग्रहणको काम सुरु हुने जानकारी दिए ।

‘ईआईए रिपोर्टले आवश्यक पर्ने जग्गाबारे स्पष्ट गर्छ । जग्गा अधिग्रहणमा कति खर्च लाग्छ भन्ने पनि टुंगिन्छ,’ श्रेष्ठले भने, ‘त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सुरु हुन्छ ।’

यसअघि काठमाडौंको नजिकै उपयुक्त स्थान छनोट गर्नको लागि गठन भएको एक प्राविधिक अध्ययन समूहले नागिडाँडा आन्तरिक विमानस्थलका लागि उपयुक्त भएको निष्कर्ष निकालेको थियो ।

यो निर्माण भएपछि त्रिभुवन विमानस्थलको एयर ट्राफिक चाप २० देखि ३० प्रतिशत कम हुने विश्वास गरिएको छ ।

यो एयरपोर्टमा ठूला विामन अवतरण गर्न भने समस्या हुनसक्ने बताइएको छ । कतिपय विज्ञले भने निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं जोड्ने फास्ट ट्रयाक बन्दै गर्दा नागीडाँडामा यस्तो विमानस्थल बनाउन आवश्यक नपर्ने बताउँदै आएका छन् । काठमाडौंबाट लामो दूरीमा रहेकाले पनि यो विमानस्थलको आवश्कतामाथि प्रश्न उठ्दै आएको छ ।

नागीडाँडामा विमानस्थल निर्माण गर्ने भनिए पनि आन्तरिक उडान गर्ने ठूला खालका विमान भने त्यहाँ ल्यान्ड गर्न सक्दैनन् । किनकी ठूला विमानका लागि १५ सय मिटरससम्मको रन-वे आवश्यक पर्छ । यहाँ त्यति लामो रन-वे बनाउन सकिनेमा प्राविधिकरुपमा समस्या छ ।

हाल सौर्य र श्री एयरलाइन्ससँग बम्बार्डियर, नेपाल एयरलाइन्ससँग एमए-६०, बुद्ध एयरसँग बिचक्राफ्ट र एटीआर तथा यती एयरलाइन्ससँग जेटस्टि्रम र एटीआर जस्ता ठूला जहाज छन् । यि विमानले साना विमानस्थलमा उडान/अवतरण गर्न नसक्ने बताइन्छ ।

अहिले त्रिभुवन विमानस्थलबाट आन्तरिक गन्तव्यमा हुने ३५ प्रतिशत उडान पहाडी विमानस्थलका लागि हुन्छन् । त्यसबाहेकको ६५ प्रतिशत उडान ट्रंक रुटमा हुन्छ ।

नागिडाँडा विमानस्थलका लागि उपयुक्त हुने साना जहाज भनेका टि्वनअटर, डोर्नियर, वाई-१२ ई र एलईटी मात्र हुन् ।

तर, सरकारले अब पर्यटकको आगमन तीव्र रुपमा बढ्ने भएकाले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनललाई नागीडाँडामा सार्नु अत्यावश्यक हुने बताउँदै आएको छ ।

त्रिभुवन विमानस्थलदेखि नागीडाँडा जमिनबाट २४.६ किमी पर छ भने नर्टिकल माइलका आधारमा ८.६२ टाढा छ ।

नागीडाँडामा विमानस्थल बनाउँदा ओगट्ने क्षेत्रको २० प्रतिशत मात्रै निजी जग्गा अधिग्रहण गरे पुग्ने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

काभ्रेमा विमानस्थल निर्माणको चर्चा चलेको १६ वर्ष नाघिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment