Comments Add Comment

काठमाडौंको फोहोरमा भेटिएकाहरू भन्छन्- ५० वर्ष पनि नबाँचिने भइयो !

ल्याण्डफिलमा सरकारको लापरवाही, जनताको स्वास्थ्यमा खेलवाड

३१ साउन, काठमाडौं । बिहीबार दिउँसो काठमाडौं महानगरपालिकाको एक टोली केही पत्रकारलाई लिएर नुवाकोटको सिसडोलमा पुग्यो । यो त्यहीँ ठाउँ हो, जहाँ विगत १३ वर्षदेखि काठमाडौं महानगरपालिकाले फोहोर फाल्दै आइरहेको छ ।

महानगरपालिकाका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिबहादुर कुँवर, वातावरण महाशाखा प्रमुख युवराज खनाल, वडा नं १२ का वडाध्यक्ष विकास डंगोल, वडा नं २६ का वडाध्यक्ष ख्याम तिवारी र वडा नं ४ का वडाध्यक्ष मोहन विष्टसहितको टोली फोहोर व्यवस्थापनको अनुगमनका लागि विहीबार सिसडोल पुगेको हो । टोलीमा महानगरका इञ्जिनियर रवीन्द्र राई, नगर प्रहरी महाशाखा प्रमुख विष्णु जोशीका साथै करिब २ दर्जन पत्रकारसमेत सहभागी थिए ।

सिसडोललाई केही वर्षका लागि मात्रै फोहोर व्यवस्थापन गर्ने अस्थायी ठाउँ भनिएको थियो । तर, अस्थायी डम्पिङ साइडमा फोहोर थुपार्न थालेको १३ वर्ष पुगिसकेपछि बल्ल काठमाडौं महानगरले त्यसको विकल्प खोज्ने तर्खर गरेको हो । अब सिसडोलमा बढीमा ६ महिना मात्रै फोहोर व्यवस्थापन गर्न सकिने महानगरको विश्लेषण छ ।

यस क्षेत्रमा काठमाडौं उपत्यका, काभ्रे तथा नुवाकोट समेतको गरी दैनिक एक हजार मेटि्रक टन फोहोर व्यवस्थापन हुँदै आएको छ ।

यो १३ वर्षको अवधिमा उपत्यकाको फोहोरका विषयमा धेरै कथाहरु बने । दैनिक टनका टन निस्कने काठमाडौंको फोहोरबाट खाना पकाउने ग्यासदेखि लिएर विद्युत् उत्पादन गरेर शहरै झलमल बनाउन सकिने सपनाहरु पनि देखाइए । यसका लागि महानगरले कोशिस नगरेको पनि होइन । तर, महानगरको कोशिसले सार्थकता भने पाउन सकेन । फोहोरबाट बिजुली निकाल्ने मेसिन आफैं फोहोरमा परिणत भएको छ अहिले ।

विगत ०६२ सालदेखि अहिलेसम्म काठमाडौं महानगरपालिकासहित उपत्यकाका सबै नगरपालिकाको फोहोर नुवाकोट जिल्लाको ककनी गाउँपालिका-२ स्थित सिसडोलमै व्यवस्थापन गरिँदै आएको छ । अव्यवस्थित फोहोर व्यवस्थापनका कारण यस क्षेत्रका बासिन्दाहरु उच्च जोखिममा परेको गुनासो गरिरहेका छन् ।

सिसडोलका स्थानीयबासीको यही गुनासो सुन्न बिहीबार महानगरपालिकाको टोली सिसडोल ल्याडफिल साइडमा पुगेको हो ।

साइँली भन्छिन्- ट्रकका सिसा फुटाइयो, तैपनि केही लागेन !

सिसडोल ल्याण्डफिल साइडमा काठमाडौं, ललितपुरसहित उपत्यकाका तिनै जिल्लाका र काभ्रेको समेत केही फोहोर व्यवस्थापन हुने गरेको रहेछ । दैनिकरुपमा सैयौंको संख्यामा फोहोर बिसर्जनका लागि पुग्ने ट्रकबाट स्थानीयहरु आक्रान्त बनेका रहेछन् । जुन दृश्य अनुगमनको टोली पुग्नेवित्तिकै स्थानीयले पोखेको आक्रोशपूर्ण व्यवहारबाटै प्रष्ट भयो ।

तीनवटा गाडी चढेर पुगेको अनुगमन टोली र सञ्चारकर्मीहरुको हातमा क्यामरा देख्नेवित्तिकै स्थानीयहरुले आक्रोश पोख्न शुरु गरिहाले । सडकमा गुडिरहेको महानगरका कर्मचारीको गाडीलाई लक्षित गर्दै बाटामा भेटिएका स्थानीयहरुले भन्दै थिए, ‘हाम्रो आयु घटिसक्यो दिनरातै फोहोरको थुप्रो अगाडि कसरी भात खानु ?’

गाडी केही अघि बढ्यो र अलि पर पुगेर रोकियो । फोहोर बोकेका ट्रकहरु सडकभरि लामवद्ध थिए । कर्मचारी र पत्रकार चढेको गाडीभित्रै दुर्घन्ध आइसकेको थियो । गाडी रोकिनेवित्तिकै टोलीमा रहेका सदस्यहरु नाक मुख थुन्दै गाडीबाट ओर्लिए र हतार हतार माक्स लगाए । तर, माक्सले नै थेग्न नसक्ने गरी दुर्घन्ध फैलिरहेको थियो । टोलीका केही सदस्यहरुले त माक्स पनि डबल लगाएका थिए ।

टोलीमा रहेका मानिसहरुले ‘छि कस्तो गन्हाएको ? लास्टै गाह्रो हुने भयो’ भन्दै मुख थुने । यो सुन्नेवित्तिकै फोहोरको गाडीनजिकै उभिएका एक स्थानीय युवाले भने, ‘आएको एक मिनेट भएको छैन, गाह्रो भयो है तपाईहरुलाई ? हामी दिनैपच्छिे बस्नेलाई के हुन्छ ? सोच्नुस त ।’

अलि रिसाहा पारामा उनले बोलेको सुनेर महानगरका एक कर्मचारीले सञ्चारकर्मीलाई इशारा गर्दै भने, ‘यहाँका स्थानीयसँग नबोलेकै बेश, आक्रोशमा आएर हातपात पनि गर्न सक्छन् ।’

वास्तवमा आफ्नो गाउँमा आएका पाहुनालाई हातसम्मै हाल्नु पर्ने के थियो त्यस्तो कुरा ? विषय अरु केही नभएर फोहोरकै हो । फोहोर आफ्नो गाउँ नजिकै फाल्ने भन्दा पनि फोहोर फाल्न जाने गाडी जाम भएर घर अगाडि रोकिदिएका कारणले पनि रीसले मुर्मुरिएका रहेछन् स्थानीय ।

अघि रिसाएको पारामा बोल्ने व्यक्तिको नाम गणेश बलामी रहेछन् । उनी रिसाउनुको कारणबारे अनलाइनखबरले जिज्ञासा राख्दा आफू स्थानीय वासिन्दा भएको उनले सुनाए । कुरा गर्न खोज्दा शुरुमा त उनी अझै रिसाए । ‘तिमीहरु सबै हामीलाई मरोस् भनेर आएको हो, तिमीहरु हाम्रा लागि होइन, आफ्ना लागि मात्रै सोच्छौ’ उनले रिसाउँदै भने, ‘पत्रकारले त झन केही गर्दैनन्, हामी ५० वर्ष पनि बाच्न नसक्ने भइसक्यौं । हाम्रो पीडा कसैले सुन्दैनन् ।’

सञ्चारकर्मीहरु तपाईहरको वास्तविक पीडा सुन्नकै लागि लागि आएका हुन् भनेपछि बलामी केही नरम भए । यो सबै दोष सरकार र महानगरपालिकाको भएको र सरकारकै कारण आफूहरुले निरोगी भएर बाँच्ने अधिकार नपाएको उनले गुनासो पोखे ।

‘तपाईहरु साच्चिकै हाम्रो पीडा लेख्नुहुन्छ भने तपाईहरु विचार गरेर भन्नुस् यही तरिकाले हामी कति वर्ष बाच्छौं ?’ बलामीले प्रश्न तेर्साए, ‘तपाईहरुलाई यसबारे थाहा छैन, अहिले म ३५ वर्षको भएँ यही तरिका हो भने ५० वर्ष पनि बाचिँदैन ।’

बलामीले व्यक्तिले यति भनिसक्दा छेवैमा उभिएको भीडले हो हो भन्ने भाव प्रकट गरिरहेको थियो ।

यो कुराकानी नजिकैको घरमाथि रहेको एउटा परिवारले पनि सुनिरहेको थियो । हामीले नजिकै रहेको घरमा गएर एक वद्धालाई सोध्यौं । उनले यसो भनिन्- ‘मेरो घर अलि माथि हो, योचाहिँ मेरो छोरीको घर हो । म बेला बेलामा छोरीको घरमा आउँछु । मेरो नाम साइँली बलामी हो । म अहिले ५८ वर्षकी भएँ । यो फोहोरका कारण बस्नै नसकिने भइसकियो । तर, हाम्रो भनाइ कसैले सुन्दैन ।’

फोहोरको गाडी घरकै अगाडि ल्याएर राखिदिने गरेका कारण साह्रै समस्या हुने गरेको उनले सुनाइन् । ‘घर अगाडि नै फोहोरको गाडी राखिदिन्छ, त्यो देखीदेखी कसरी खाना खानु ?’ उनले भनिन्, ‘कति पटक त गाडीको सिसा नै फुटाइदियौं, तर पनि समस्या समाधान भएन ।’

साइँली आफैं भन्छिन्, ‘त्यो गाडीवालाको सिसा फुटाएर पनि के गर्नु ? त्यसलाई फोहोर फाल्न अर्कैले पठाएको हो, त्यसैले अहिले त चुपचाप बसेका छौं ।’

फोहोरको गन्धमा धेरै बसे आयु घट्ने साथै रोगी भएर मृत्यु हुन सक्ने कुरा आफूले सुनेको उनले बताइन् । ‘म त ५० र ८ वर्ष पगिसकेकी छु, केही छैन’ नातितिर हेर्दै उनले भनिन्, ‘साना नानी पो रोगी भएर आयु घट्ला कि भन्ने पीर छ ।’

साइली र गणेश जस्तै अन्य स्थानीयको पीडा पनि उस्तै रहेछ । स्थानीयहरु सबै फोहोरका कारण आक्रान्त र आक्रोशित बनेका रहेछन् ।

चालकको पीडा- गाडीमै खान्छौं, गाडीमै सुत्छौं 

स्थानीय मात्रै होइन, फोहोर फाल्नकै लागि सिसडोल गएका ट्रकका चालकहरुको पनि समस्या उस्तै रहेछ ।

स्थानीयको कुरा सुनेपछि महानगरको टोली अगाडि बढ्यो । सडककभरि फोहोर बोकेका ट्रकहरु लहरै थिए । केही चालकहरु नजिकै अढेस लागेर बसेका थिए ।

फोहोर खन्याउनका लागि लामो समयसम्म पालो कुनुपर्ने र पालो नआउनञ्जेल गाडीमै सुत्नुपर्ने र त्यहीँ खानुपर्ने बाध्यता चालकहरुले सुनाए ।

‘तपाईका बारेमा बताइदिनोस न, कति समय भयो पालो कुरेर बस्नुभएको ?’ गाडीहरुका नजिकै बसेका एक व्यक्तिलाई हामीले सोध्यौं । जवाफमा उनले यसो भने- ‘मेरो नाम नवराज खड्का हा । ना ४ ख १७३३ नम्बरको ट्रक चलाउँछु । म हिजो १२ बजे काठमाडौंको फोहोर लिएर यहाँ आइपुगेको थिएँ’ हिजो केहीबेर पानी परेका कारण खन्याउने पालो अझै आएको छैन । अझै कतिबेला पालो आउने हो, ठेगान छैन ।’

पालो नआउनञ्जेलसम्म कुरेर बस्नुपर्ने र त्यतिबेलासम्म गाडीमै सुत्नुपर्ने अनि गाडीमै खानुपर्ने बाध्यता छ । पालो आउन समय लाग्छ । त्यतिबेलासम्मका लागि खान केही कुरा बोकेर ल्याएको छु, त्यही खाएर बस्छु । सबैभन्दा पीडाको कुरा त राति पनि यही गाडीमै सुत्नुपर्छ, साह्रै अप्ठेरो हुन्छ ।’

चालक खड्काले स्थानीयहरुले अभद्र व्यवहार गर्ने गरेको गुनासोसमेत सुनाए । उनले भने ‘अगाडि जाने ठाउँ हुँदैन, पालो नआउञ्जेलसम्म बस्नैपर्छ ।तर, आफ्नो घरनजिकै फोहोरको गाडी रोकेको भन्दै कहिले गाली गर्छन् त कहिलेकाहिँ सवारी साधन नै तोडफोड गरिदिन्छन् ।’

यो पनि पढ्नुस्ः काठमाडौंको फोहोरः धनकुटा, हेटौडा र वालिङबाट सिकौं

खड्काको छेवैमा रहेका अर्का चालकले आफूहरुमाथि प्रहरीलेसमेत अभद्र व्यवहार गर्ने गरेको बताए । गाडीबाट थोरै फोहोरको तरल पदार्थ चुहिएका कारण आफूलाई प्रहरीबाट हातपातको प्रयास समेत भएको उनले बताए । ती चालकले भने- ‘आज गाडीबाट फोहोरको पानी थोरै चुहिएछ, एकजना स्थानीयले धेरै गाली गरे’ उनले भने, ‘त्यतिकैमा काँधमा तारा लगाएका एकजना प्रहरी आएर ‘सिसा फुटाइदे न’ भन्दै स्थानीयलाई नै उक्साए ।’

प्रहरीले नै असहयोग गरेको र स्थानीयलाई उक्साएको दुःख बिसाउँदै उनले आफ्नो नाम भने बताउन चाहेनन् । उनले भने, ‘म मेरो नाम भन्न त सक्छु, तर भोलि फेरि म यही ठाउँमा आउनुपर्छ, प्रहरीले जे पनि गर्न सक्छ ।’

फोहोरको थुप्रोमा भेटिएका महिलाको कथा

स्थानीय सर्वसाधारण र सवारी चालकको जस्तै सिसडोलमा व्यवस्थापन हुने फोहोर छान्नेको पीडा पनि कम छैन, बरु बढी नै छ । सिसडोलमा ट्रकले खन्याएको फोहोर छानेर त्यसमा रहेका प्लाष्टिकजन्य बोतल र डब्बाहरु बोरामा भर्नु उनीहरुको दैनिकी रहेछ ।

दैनिकरुपमा फोहोरको डंगुरमा प्लाटिकजन्य वस्तु खोज्नेमध्ये अधिकांश महिला थिए । बिहानै फोहोरको थुप्रोमा पुग्ने उनीहरुको दैनिकी फोहोरमै बित्दोरहेछ ।

दिनभरि फोहोरमा दैनिकी बिताउने उनीहरुको कमाई चाहिँ कति हुन्छ त ? फोहोकै थुप्रोमा भेटिएकी अञ्जु सेढाइँले भनिन्, ‘एउटा बोरा भर्‍यो भने ३ सय रुपैयाँ आउँछ, बोरा भर्न दिनभरि नै लाग्छ ।’

यद्यपि, कहिलेकाहीँ बढीमा २ वटासम्म बोरा भर्न सकिने र दिनमा ६ सय रुपैयाँसम्म कमाई हुने उनले बताइन् । तर, दिनभरि फोहोर उठाउँदा हातखुट्टामा चोटपटक लाग्ने गरेको उनले सुनाइन् ।

‘पहिले-पहिले त चोटपटक लाग्दा वास्तै गरिँदैनथ्यो, पछि त्यो घाउ ठूलो भएर एकजना दिदी थलै पर्नु भयो’ उनले भनिन्, ‘अहिलेचाहिँ हामीलाई सार्प नेपाल भन्ने संस्थाले सुई लगाइदिन्छ, अनि फोहोरबाट सुरक्षित हुन तालिम पनि दिने गरेको छ ।’

अञ्जुको पनि गुनासो सरकारी पक्षबाट आफूहरुका लागि केही नै सहयोग नभएको भन्ने नै थियो । उनले दिनको ३ सय रुपैयाँ कम भएको बताइन् ।

त्यहीँ भीडमा अर्की ५० वर्ष पुगिसकेकी परि घले पनि प्लाटिकजन्य फोहोर बोरामा भेला पारिरहेकी थिइन् । करिब २० वर्षदेखि यस्तो काम गर्ने बताएकी उनले दिनमा ३ सय रुपैयाँ कमाउने र कहिले काहीँ ६ सयसम्म कमाइ हुने बताइन् ।

तर, फोहोर दैनिकरुपमा नखन्याउने कारणले गर्दा भने नियमित कमाइ नहुने र दैनिक गुजारामा समस्यामा पर्ने गरेको उनले सुनाइन् ।

महानगर भन्छ- सिसडोलको विकल्प तत्काल खोजिनुपर्छ

१३ वर्षसम्म विकल्प खोज्न नसकेको काठमाडौं महानगरपालिकाले अब सिसडोल ल्याण्डफिलको विकल्प तत्काल खोज्नुपर्ने बताएको छ । ०६२ साल भदौ २२ गते २-३ वर्षका लागि मात्रै भनेर फोहोर फाल्न शुरु भएको यस क्षेत्रमा अब फोहोर फाल्दा विभिन्न समस्या हुने भन्दै यसको विकल्प संघीय एवं प्रादेशिक सरकारले खोज्नुपर्ने महानगरको वातावरण विभागका प्रमुख हरिबहादुर कुँवरले बताए ।

सिसडोलमा काठमाडौं महानगरको मात्रै नभएर उपत्यका र काभ्रे जिल्लाका केही स्थानीय तहको समेत फोहोर व्यवस्थापन गरिने भएकाले यसमा संघीय सरकार र प्रदेश ३ को सरकारले विशेष ध्यान दिनुपर्ने कुँवरले बताए । केन्द्र र प्रदेश सरकारले निर्णय गरी समन्वयको जिम्मा दिए काठमाडौं महानगरले समन्वयकारी भूमिका खेल्ने उनले बताए ।

सरकारले अघि सारेको बञ्चरेडाडाँमा पनि तत्कालका लागि फोहोर व्यवस्थापन हुन नसक्ने कुँवर बताउँछन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलमा पूर्वाधार बनिनसकेका कारण तत्काल सम्भव छैन’ उनले भने अब करिब ४-५ वर्षका लागि सिसडोलको विकल्प खोज्नु आवश्यक छ ।’

कुँवरले अब सिसडोलमा बढीमा ६ महिनासम्म मात्रै फोहोर व्यवस्थापन गर्न सकिने बताए ।

तस्वीरः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment