Comments Add Comment

कांग्रेसमा एजेण्डाको खोजीः सरकारलाई गाली गर्ने कि विकल्प दिने ?

आत्मसमीक्षा गर्न विज्ञको सुझाव

३१ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा आगामी राजनीतिक र रणनीतिक एजेण्डाको खोजी सुरु भएको छ ।

कांग्रेसले बिहीबार सामसामयिक अर्थ राजनीतिबारे समिक्षात्मक कार्यक्रम गर्‍यो, जहाँ आर्थिक समृद्धिको लक्ष्य र स्थानीय तहले लिन थालेको सेवा शुल्क तथा कर, संघीयताको मर्म, क्षेत्राधिकार र मौलिक हकको कार्यान्वयनलाई छलफलको मुख्य मुद्धा बनाइएको थियो ।

महासमिति बैठक अगाडि सम्बन्धित क्षेत्रका विज्ञ, शुभेच्छुक र नेता/कार्यक्रतासँग आगामी एजेण्डाहरु के हुन सक्छन् भनेर राय/सुझाव लिन थालिएको कार्यवाहक सभापति विमलेन्द्र नीधिले बताएका छन् ।

निधीको नेतृत्वमा रहेको केन्दीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गरेको छलफलमा पार्टीका शीर्ष नेताहरुसँगै अर्थ, प्रशासन र राजनीतिक विश्लेषकहरु सहभागी थिए । उनीहरुले चुनावी हारपछि आरोप प्रत्यारोपमा रमाइरहेको कांग्रेसलाई आन्तरिक रुपमा एक भएर आत्मसमिक्षा गर्न सुझाए ।

सात वटै प्रदेश र केन्द्र सरकारमा प्रतिपक्षमा रहेको कांग्रेस नेतृत्वलाई केन्दीय सदस्य ता सांसदहरुले अर्को चुनावमा अहिलेको जस्तो हविगत नहुने एजेण्डासहित अगाडि आउन सुझाव दिए । कांग्रेसले मतदाता र शुभेच्छुक, कार्यकर्ता र नेतृत्वपंक्ति छुट्टयाउन नसकेको टिप्पणीहरु सुनिए ।

‘कम्युनिस्ट नेतृत्वको सरकार असफल होला र हामी सफल हौंला भन्ने सोच राख्न हुँदैन’, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘हामी कांग्रेसीहरु सच्चिनैपर्छ ।’ कांग्रेस माथि उठ्न नयाँ ढङ्गले केही पहल गर्नै पर्ने र त्यसका लागि समिक्षात्मक छलफल गर्नुपरेको पौडेलले बताए ।

सरकारको ५ महिने कार्यकाल

राजनीतिक विश्लेषक, अर्थ र प्रशासन विज्ञहरुहरुले पाँच महिनाको कामकारबाहीलाई आधार बनाएर सरकारको समिक्षा गर्न र जनतामा जान कांग्रेस नेतृत्वलाई सुझाएका छन् ।

योजना आयोगका पूर्वउपाध्यक्ष स्वणिर्म वाग्लेले सरकार आफैँले सार्वजनिक गरेको ५ महिने उपलब्धीको दस्तावेज खोक्रो रहेको टिप्पणी गरे । ओली सरकारले उपलब्धी भनेर सार्वजनिक गरेको कतिपय विषयहरु अधिकृत लेभलबाट हुने कामस्म्म रहेको भन्दै उनले कांग्रेसले त्यसलाई चिर्न सक्नुपर्ने बताए । ‘नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सुन तस्कारलाई समातेकोे, डुवान समस्याको समाधान खोजिएको जस्ता कुरालाई उपलब्धिका रुपमा राखेको छ’ उनले भने, यो त सामान्य विषय हैनन र !’

कांग्रेस नेतृत्वको सरकारले गरेका कामलाई पनि वर्तमान सरकारले आफ्नो उपलब्धी भनेको उनले सुनाए । जलमार्गको स्थलगत अध्ययन, रङ्िगन पेपरमा चुच्चे रेलको फोटो राखेर सरकारले सार्वजनिक गरेको विषयका सन्दर्भमा कांग्रेसले आफ्नो धारणा/दृष्टिकोण के हो भन्ने औपचारिक रुपमा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । सडक कालोपत्रे, पशुमा कृतिम गर्भाधान जस्ता विषयलाई सरकारले उपलब्धी भन्यो भनेर जनतामा गए सरकारको समिक्षा जनताले नै गर्ने उनको सुझाव छ ।

अर्का अर्थविद. अच्युत वाग्लेले पनि सरकारले सार्वजनिक गरको ५ महिने उपलब्धी नै जनतामा जाने कांग्रेसको एजेण्डा हुनसक्ने सुझाए । कम्युनिस्ट सरकारको रेल सपना, स्थानीय तहले लिन थालेको कर, मंहङ्गी, केन्द्र सरकारले अर्थसँग सम्बन्धित भएर प्रदेश सरकार र स्थानीय तहलाई दिएको निर्देशनको औचित्यबारे जनतालाई जानकारी गराउनु पर्ने उनले बताए ।

‘कर उठाउने सन्दर्भमा अर्थमन्त्रीले प्रदेश र स्थानीय तहलाई निर्देशन जारी गरेका छन् । स्थानीय विकास मन्त्रालयले त्यसमा असन्तुष्टि जनाएको पनि सुनिएका छन्’ वाग्लेले भने, ‘वित्त आयोग पनि बनेको छैन । आर्थिक समृद्धिको सपना कसरी पुरा हुन्छ ? प्रमुख प्रतिपक्षीले बहस चलाउनुपर्ने हुन्छ ।’

कार्यक्रममा राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्र गौत्तमले भने केही फरक मत राखे । सरकारकोे समिक्षा गर्ने समय भइनसकको तर, सुरुवती कस्तो रहृयो भनेर जनतामा जान भने सकिने बताए ।

सरकारले देखाएको रेल सपना पुरै गलत हो भनेर जनतामा जाँदा कांग्रेसले सरकारलाई काम गर्न दिएन भनेर लगाइएको आरोप थप पुष्टि हुने उनको तर्क छ । सरकार बाहिर हुँदा वेठीक तर, सरकारमा गएपछि सबै ठीक भन्ने नक्कली राष्ट्रवाद, सगरमाथामा अक्सिजन पुर्‍याउने प्रधानमन्त्रीको भाषण जस्ता विषयलाई लिएर सरकारको स्वस्थ आलोचना गर्दा कांग्रेसलाई फाइदा पुग्ने उनको सुझाव छ ।

कांग्रेस केन्दीय सदस्य तथा पूर्वअर्थमन्त्री रामशरण महतले पनि सरकारले हावादारी कुरा गरेर आर्थिक समृद्धिको सपना देखाइरहँदा कांग्रेसले खास विरोध गर्न नसकेको धारणा राखे । सरकारले नै उपलब्धी सार्वजनिक गरेर बहस सुरु गरेको उनको भनाइ छ ।

सरकारले सार्वजनिक गरेको उपलब्धीको बुँदा र कर बृद्धि लगायतका विषयमा जनतालाई सुसुचित गर्नुपर्ने उनले बताए । चुनावमा आर्थिक समृद्धिको सपना देखाएर भोट पाएको सरकारले स्थानीय तहबाटै अत्यासलाग्दो कर लगाएर निजी क्षेत्रलाई लगानी गर्न निरुत्साहित गरेको उनले बताए । ‘वर्तमान सरकारले आर्थिक समृद्धिको सपना त देखायो तर, वातावरण बनाउन सकेन’ नेता महतले भने, सरकारमा जुन किसिमको सिरियसनेस हुनुपर्छ, त्यो देखिएको छैन ।’

पूर्वअर्थमन्त्री महतले नेपालको आर्थिक समृद्धिको यात्रा सहि ट्रयाकमा गएको आफूले नदेखेको भन्दै जनतामा जानुको विकल्प नरहेको बताए । कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता पौडेल, प्रमुख सचेतक वालकृष्ण खांड, सचेतक पुष्पा भुसाल, नेता नारायण खड्का, अमरेशकुमार सिंह, पूर्वसचिव कृष्ण ज्ञवाली लगायतले सरकारको ५ महिने उपलब्धीबारे कांग्रेसले आफ्नो स्पष्ट धारणा बनाएर जनतामा जान सुझाए ।

कांग्रेस प्रतिक्षारत सरकार !

कांग्रेस केन्दीय सदस्य नारायण खड्काले आफ्नो पार्टी प्रतिक्षारत सरकार भएको टिप्पणी गरे । ‘नेकपाले ५ वर्षे सरकारको सपना देखेको छ । ३५ वर्षे सरकारको योजना बनाएको छ’ नेता खड्काले भने, त्यसलाई चिरेर अर्को चुनावपछि सरकार बनाउने रणनीतिमा कांग्रेस छ । प्रतिपक्ष भनेकै पनि प्रतिक्षारत सरकार त हो ।’

नेकपाले गएको चुनावमा गरेका लोकपि्रय घोषणालाई आगामी पाँच वर्षभित्र पुरा गर्ने रणनीति बनाएको र पहिलो वर्ष त्यहि अनुसार बजेट ल्याएको र चार वर्षपछि फेरि त्यस्तै योजना ल्याएर अर्को चुनावमा पनि शक्तिशाली हुने रणनीति बनाएको उनको दाबी छ । त्यसरी कम्तीमा ३५ वर्ष सत्तामा रहने नेकपाको योजना रहेको खड्काले बताए ।

त्यहीअनुसार वर्तमान सरकारले सबै क्षेत्रलाई राजनीतिकरण गर्न खाजेको खड्काको आरोप छ । ‘स्वतन्त्र न्यायलयमाथि हस्तक्षेप भएको छ, प्रेसलाई नियन्त्रण गर्न खोजिँदैछ । कर्मचारी सरुवा, बढुवा आफू अनुकुल भइरहका छन् । विगतमा कांग्रेस सरकारले गरेका निर्णयहरु उल्याइएको छ’ नेता खड्काले थपे, ‘सुरक्षा संयन्त्रमा राजनीतिक आस्थामा आधारमा जिम्मेवारी दिने र राजनीतिकरणको अभ्यास गर्न खोजिँदैछ ।’ कांग्रेसले सरकारका यस्ता गलत गतिविधिलाई जनतामा लैजानु पर्ने उनले बताए ।

अधिनायकवाद र संसदीय अभ्यास

कांग्रेस नेताहरुका अनुसार सरकार अधिनायकतातर्फ उन्मुख भएको भएपनि जनताले पत्याइहाल्ने अवस्था नरहेको बताएका छन् । त्यसैले सरकारका साना साना गल्तीलाई नियालेर जनतामा जानुपर्ने कतिपय नेताहरुले कांग्रेस नेतृत्वलाई सुझाव दिएका छन् ।

प्रमुख सचेतक वालकृष्ण खाँडले सरकार अधिनायकतातर्फ उन्मुख भयो भनेर संसदमा कुर्लँदैमा जनतामा राम्रो सन्देश नगएको बताए । ‘हामी संसदमा संख्यात्मक रुपमा कमजोर छौं । सत्तारुढ दलले संसदीय समितिको सभापतिहरुमा समेत हामीलाई उपस्थितिका आधारमा दिएन भनेर भन्दा कांग्रेसले पद खोज्यो भन्ने खालको सन्देश जाने भयो’ उनले भने, ‘त्यसकारण हामी यसबारे कम बोलेका छौं ।’

सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थामा समेत नेकपाले अनेक तर्क गरिरहेकोतर्फ भने आफुहरु सचेत रहेको र त्यो विषय उठीरहेको बताए । मुद्धाका आधारमा संसदमा कांग्रेस कमजोर नभएको सचेतक पुष्पा भुसालले पनि दावी गरिन् । ‘हामी संख्याका हिसावले कमजोर छौं तर गुणात्मक उपस्थितिका आधारमा कमजोर छैनौं’ उनले भनिन्, ‘हामी सबै विषयमा असफल नै भएका छैनौं ।’ त्यसअघि प्रमुख सचेतक खांडले डा. गोविन्द केसीको मुद्धाका सन्र्दभमा कांग्रेसले संसदमा आवाज उठाएर सफलता हात पारेको दृष्टान्त सुनाएका थिए ।

सरकारले सुरक्षा निकाय, न्यायलय, प्रेसलाई नियन्त्रणमा लिएर अधिनायकवाद लाद्न खोजेको भन्दै उनले पनि सरकारको आलोचना गरे । प्रस्तावित प्रधानन्यायधीश दिपकराज जोशीको नाम संसदीय सुनुवाई समितिबाट अस्वीकृत हुनु त्यसैको उदाहरण भएको नेता खांडको भनाइ छ । ‘१५ सदस्यीय संसदीय सुनुवाइ समितिमा हामी ४ जना मात्र छौं । सबै एकातिर र कांग्रेस एकातिर हुदा प्रध्यानन्याधीशमा नियोजित निर्णय भयो’ उनले भने, ‘संसदमा हाम्रा प्रभावशाली नेताहरु नहुँदा समस्या भएको छ ।’

संसदमा सबै मुद्दाहरु उठाउन सक्ने भएपनि दुई तिहाईले पेलिनुपर्ने नेता खांडले दुखेको गरे । ‘नेकपाले नेपालमा अधिनायकवाद ल्याउन खोजेकै हो’ उनले ठोकुवा गर्दै भनेका छन् ।

नेतृत्वलाई प्रश्नः एजेण्डा दिने को ?

अर्थ, प्रशासन र राजनीतिक विश्लेषकहरुले कांग्रेसले प्रमुख प्रतिपक्षीय भूमिका निभाउन नसकेको बताएका छन् । सरकारको विरोध मात्र नगरेर स्वस्थ आलोचनासहित विकल्प दिन पार्टी चुकेको स्वयंम कांग्रेस नेताहरुले पनि स्वीकार गरेका छन् ।

छलफलमा बोल्ने अधिकांशले सुझाव मात्रै दिइरहेको कांग्रेसका शुभेच्छुक प्रध्यापक शान्ति्कृष्ण अधिकारीलाई मन परेको रहेनछ । कार्यक्रमको अन्त्यतिर उनले नेताहरुले कसलाई सुझाव दिएको भन्दै प्रश्न गरे । ‘वरिष्ठ नेता पौडेल बोल्नुहुन्छ, सुझाव नै दिनुहुन्छ । कार्यवाहक सभापति बोल्नुहुन्छ, सुझाव नै दिनुहुन्छ । पूर्वअर्थमन्त्रीहरु बोल्नुहुन्छ, सुझावै दिनुहुन्छ’, उनले प्रश्न भने, ‘सुझाव कसलाई दिएको ? नेतृत्वसँग एजेण्डा छैन ? सबैभन्दा पहिले एजेण्डा लिएर आउन आग्रह गर्दछु ।’

योजना आयोगका पूर्वउपाध्यक्ष वाग्लेले समेत कांग्रेसले चुनावी हारपछि स्पष्ट एजेण्डा तय गर्न नसकेको बताए । साथै आगामी एजेण्डाका लागि भन्दै ५ वटा बुँदा टिपाए ।

१.शास्त्रीय ढङ्गको अधिनायकवाद

वाग्लेले कम्युनिस्ट नेतृत्वको सरकारले शास्त्रीय ढङ्गको अधिनायकवादको अभ्यास गर्न खाजेको टिप्पणी गरे । त्यसबारे कांग्रेसले जनतालाई सुसुचित गराउन सक्नुपर्ने उनको सुझाव छ ।

२. बजेटमा क्रमभङ्गता भएन

जुद्धशमशेरपछि सबैभन्दा ठूलो अवसर प्राप्त गरेको वर्तमान सरकारले बजेटमा क्रमभंगता गर्न नसकेको अर्थविद वाग्लेले बताए । राजनीतिक अस्थिरतामा जस्तै कर्मकाण्डी बजेट सरकारले ल्याएको तर, कांग्रेसले पूर्ण मुल्याङ्कन गर्न नसकको भन्दै जनतामा जान सुझाए ।

३. हुकुमी शैली

राजनीति पद्धतीका आधारमा चल्ने भए पनि वर्तमान सरकार हुकुुमी शैलीमा अगाडि बढिरहेको भन्दै कांग्रेसका लागि जनतामा जाने यो महत्वपूर्ण हुन सक्ने उनले बताए ।

४.लगानीमा संशय

आर्थिक समृद्धिको सपना देखाएको सरकारले निजी क्षेत्रलाई संशयमा पार्नेगरि कर बृद्धि गरेको विषय पनि कांग्रेसलाई जनतामा जाने मुद्धा हुने उनले सुझाए ।

५.सन्तुलित पराराष्ट्र सम्बन्ध

वर्तमान सरकारले चीन र भारतलाई मात्रै प्राथमिकता दिएर अन्य देशसँग समेत सन्तुलित सम्बन्ध राख्नुपर्ने परम्परागत अभ्यास भुलेको आरोप लगाए ।

अविभावकबिहीन संघीयता !

पुर्व सचिव कृष्ण ज्ञवालीले कांग्रेसलाई प्रतिपक्षमा रहँदाको सदुपयोग गर्न सुझाव दिएका छन् । ‘कांग्रेससँग सरकार नभएपनि संसद छ । जनता छन्’ पूर्वसचिव ज्ञवालीले भने, ‘पछिल्लो समय संघीयतामाथि नै प्रश्न गरेर संघीयतालाई अनाथ जस्तो बनाउन खोजीएको छ । कांग्रेसकै नेताहरुले पनि संघीयता हामीले नचाहेको व्यवस्था जस्तो गर्न भएन ।’

सरकारले संघीयताको मर्म विपरित गरेका कामहरु उजागर गर्दै संघीयताको अविभावकत्व ग्रहण गर्न कांग्रेसलाई सुझाव दिए ।

नेकपाको आन्तरिक कमजोरी खोज्ने र ठोक्ने

कतिपय नेताहरुले भने ‘नेकपा’ भित्र आन्तरिक द्धन्द्ध बढ्न सक्ने भन्दै त्यो समयमा कांग्रेस बलियो भएर जनतामा जानुपर्ने बताएका छन् ।

कांग्रेसका एक नेताले हाम्रो आन्तरिक कुरा हो भन्दै नेकपा अध्यक्ष प्रचण्ड र अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका बीचमा अविश्वास कायमै रहेको र त्यो कुनैपनि बेला पोखिन सक्ने बताए । ‘त्यो बेला हामीले अट्याक गर्न सक्नुपर्छ’ उनले भने, ‘यो चुनाव जित्ने महत्वपूर्ण उपाय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment