Comments Add Comment

राजनीतिको मैदानमा वाजपेयी त्यसै भएका थिएनन् ‘अटल’

काठमाडौं । सन् १९९६ को मे २८ को दिनलाई अझै पनि धेरैले भुलेका छैनन् होला । जब लोकसभामा सबै सदस्यको बीचमा भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीले भनेका थिए, ‘सरकारहरु आउँछन्-जान्छन्, पार्टीहरु बन्छन्-बिग्रन्छन् तर, देशको लोकतन्त्र सँधै जिँउदो हुनुपर्छ । भारतमा लोकतन्त्र अमर हुनुपर्छ ।’

अटलको सरकार जम्मा १३ दिन चलेको थियो । त्यतिखेर विपक्षीले उनको मजाक उडाए तर, त्यसपछि उनको क्षमता र इमान्दारितामा विपक्षीले पनि कहिल्यै प्रश्न उठाउन सकेनन् ।

राजनीतिको मैदानमा उनी नाम मात्रैको होइन, कामको कारण पनि ‘अटल’ नै रहे । यसैकारण करिब ६ दशकको राजनीतिक जीवनमा उनको छवि सँधै निष्कलंक रहृयो ।

अटल बिहारी वाजपेयी राजनीतिक इमान्दारिता, सदाचार, वाकपटुता र मानिसको मनमा स्थान बनाउने कलाको एक अनौठो उदाहरण हुन् ।

भारतलाई देखाए नयाँ बाटो

अटलले भारतको विकासमा नयाँ बाटो देखाए । भारतमा जाति, धर्म र क्षेत्रको राजनीति चरम रुपमा हुने समयमा उनले त्यतिखेर आफ्नो एजेण्डामा विकासको राजनीतिलाई समावेश गरेर एक नयाँ युगको आरम्भ गरेका थिए ।

१९९० को दशकको अन्तिम वर्ष र नयाँ शताब्दीको सुरुवाती वर्षहरुमा देशको नेतृत्व गरेका अटलले विकास र सुशासनलाई राजनीतिक एजेण्डा मात्रै बनाएनन् । यस्तो मानक स्थापित गरे, जसले उनी पछिका हरेक राजनेतालाई त्यसैअनुसार चल्न बाध्य बनायो ।

मानिसहरु आज अटलकै कारण अनुशासन र विकासलाई मुख्य मुद्दा मानेर भोट हालिरहेका छन् ।

यस्तो थियो अटल र आडवाडीको मित्रता

अटल र लालकृष्ण आडवाडीको मित्रता कहिल्यै कसैसँग लुकेन । आडवाडीले १९९५ मा पार्टीको मुम्बई अधिवेशनमा अटल बिहारी वाजपेयीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा गरेका थिए ।

आडवाडी आफैं अटलको प्रशंसा गरेर कहिल्यै थाक्थेनन् । १९९६ को लोकसभा निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा भाजपा उदायो र अटल देशको प्रधानमन्त्री बने । यो सरकार धेरै दिन टिक्न त पाएन किनभने भाजपासँग बहुमतको लागि आवश्यक सांसद थिएन । सरकारसँग विश्वासको मत मागिँदा अटलले जोडदार भाषण गरे, जसमा उनले भने, ‘म भ्रष्टाचारलाई चिम्टाले पनि छुन चाहँदिन ।’

अटलले एकपटक फेरि १९९८ देखि सन् २००४ सम्म सरकारको नेतृत्व गरे । २००२ मा गृहमन्त्री लालकृष्ण आडवाडीलाई देशको उपप्रधानमन्त्री बनाए । तत्कालीन भाजपा अध्यक्ष बेन्केया नायडुले एक कार्यक्रममा अटललाई विकास पुरुष र लालकृष्ण आडबाडीलाई लौहपुरुषको संज्ञा दिएका थिए ।

प्रतिबन्धको दबावमा आएनन्

अटलको छ वर्षको कार्यकालले भारतीय राजनीतिको दिशा नै बदल्यो । अटल बिहारी वाजपेयीले सबैभन्दा पहिले एक स्थिर सरकार दिए, जुन त्यस समयको पहिलो आवश्यकता थियो ।

भाजपाले चुनावमा यसै मुद्दा लिएर लडेको थियो । उनले एक स्थिर सरकार र योग्य नेतृत्व देशलाई दिने वाचा गरेका थिए ।मतदाताहरुले यस संकल्पलाई ठीक मान्दै अटलको नेतृत्वमा भाजपालाई देशको सबैभन्दा ठूलो पार्टी बनाइदिए । अटल सरकारले कैयौं यस्ता काम गरे जुन आफैँ उदाहरण बन्यो ।

अटल सरकारले सन् १९९८ मा परमाणु परिक्षण गर्‍यो । अमेरिकाको अगुवाईमा भारतलाई कैयौं देशहरुले प्रतिबन्ध लगाए तर, अटल सरकारको कारण प्रतिबन्धको असर जनतामा परेन ।

शक्तिराष्ट्रको रुपमा उदायो भारत

भारतको बढ्दो शक्तिलाई देख्दै पहिले अमेरिकी राष्ट्रपति क्लिन्टन र अन्य देशका राष्ट्राध्यक्ष भारत भ्रमणमा आए र विभिन्न सम्झौताहरुमा हस्ताक्षर गरे ।

अटलको कार्यकालमा गरिएका आर्थिक सुधारहरुले देशको आर्थिक स्थिति मजबुत भयो । धेरै ठूलो संख्यामा रोजगारी सिर्जना भयो । आर्थिक वृद्धिदर बढेर ६-७ प्रतिशत भयो, जसको लाभ तलैसम्म देखियो । भारतमा विदेशी लगानी बढ्यो र आधारभुत सुविधाहरु बढ्यो ।

भारत आर्इटीमा एक शक्तिराष्ट्रको रुपमा उदायो ।

देश विकासको लागि यस्ता थिए अटलका योजना

सरकारले कैयौं ट्याक्स सुधार गर्‍यो । ठूला सिचाई र आवासीय योजनाहरु सुरु गर्‍यो । देशमा विशेषगरी मध्यमवर्गको जीवनस्तरमा प्रष्टसँग परिवर्तन देखिन थाल्यो ।

मानिसहरुले विकास र सुशासन आफ्नै वरिपरि भइरहेको देखे । देशको हरेक भागलाई जोड्न एक धेरै ठूलो महत्वाकांक्षी परियोजना ‘स्वर्णिम चतुर्भज’को सुरुवात गरियो । यसले दिल्ली, कोलकाता, मुम्बई र चेन्नईलाई चार लेनको सडकबाट जोड्यो ।

प्रधानमन्त्री ग्रामिण सडक योजनामार्फत हरेक गाउँलाई सडकसँग जोडियो । सर्वशिक्षा अभियानको माध्यमबाट सबै बच्चाहरुलाई प्राथमिक शिक्षाको सुविधा उपलब्ध गयाइयो । किसान, महिला, कामदारहरुको लागि अलग अलग योजना सुरु गरियो ।

यसरी अटलले भारतमा सुशासनको राजनीतिको सुरुवात गरे । उनको भनाइ थियो, ‘सुशासनको राजनीति गर्दा जनताको सेवा र राष्ट्रहितलाई सर्वोपरि राख्नुपर्छ ।’

पाकिस्तानसँग मित्रताको हात बढाए

अटलले एकपटक भनेका थिए, ‘साथी परिवर्तन गर्न सकिन्छ तर छिमेकी परिवर्तन गर्न सकिँदैन ।’ यसै नीतिलाई पालना गर्दै उनले पाकिस्तानसँग मित्रताको हात अगाडि बढाए ।

भारत पाकिस्तानको बीचमा बस सेवा सुरु गरे । उनी पहिलो बस लिएर आफैँ लाहोर गए ।

सन् २००५ मा अटलले राजनीतिक जीवनसँग सन्यास लिए । सन् २०१४ मा भारत सरकारले उनलाई सर्वोच्च सम्मान ‘भारत रत्न’ दिने निर्णय गर्‍यो । राष्ट्रपति प्रणव मुखर्जी आफैँ उनको घर पुगेर ‘भारत रत्न’ दिएका थिए ।

एक राजनेता, सांसद, स्पष्टवक्ता, लेखक, विचारक, पत्रकार हुनुका अटलले देशको नेतृत्व गर्न पाएको अवसरमा विकास र सुशासनको एक नयाँ दस्तावेज लेखे । जसले आजपनि सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्ने लाखौंको लागि प्रेरणाको काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment