Comments Add Comment

म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द

सांकेतिक तस्वीर

१ भदौ, म्याग्दी । बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना बन्द भएको हो ।

टुकुचे हिमालको फेदीमा रहेको थापाखोलाको बाँधमा बाढीले क्षति पुर्याएपछि मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित थापाखोला जलविद्युत् आयोजना बन्द हुँदा मुस्ताङमा विद्युत् आपूर्ति प्रभावित बनेको प्रजिअ शिशिर पौडेलले बताए ।

उनका अनुसार डोजर र मजदुर परिचालन गरेर मर्मतको काम शुरु गरिए पनि विद्युत् आपूर्ति सहज बनाउन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको सो आयोजनाले एक वर्ष अघिदेखि उत्पादन शुरु गरेको थियो ।

केन्द्रीय प्रसारण लाइनमा समस्या आएका बखत मुस्ताङमा थापाखोलाबाट उत्पादित विद्युत् आपूर्ति हुँदै आएको थियो । सो आयोजना बन्द हुँदा मुस्ताङका होटल, पर्यटन, उद्योग व्यवसायका साथै र सार्वजनिक सेवा प्रवाहमा असर परेको छ ।

यस्तै नारच्याङको मिस्त्री, घलेम्दी र निलगिरि खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाले फालेको मकिङ (सुरुङबाट निस्किएको गेगर र माटो) बाँधमा थुप्रिएपछि तातोपानी साना जलविद्युत् आयोजना बन्द भएको छ । गेगर, माटो, तार बगाएर ल्याई बाँधमा थुपारेपछि आयोजना बन्द भएको प्राविधिक खिम पुनले बताए ।

४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ५ मेगावाटको घलेम्दीखोलाको सुरुङको मकिङ र निलगिरि खोलाको पहुँचमार्ग निर्माणका क्रममा निस्किएको माटो बाँधमा आएर थुप्रिने गरेको छ । निर्माणाधीन आयोजना र विद्युत् प्राधिकरणका कर्मचारीलाई मकिङको व्यवस्थापन तथा आयोजना मर्मतका लागि स्थानीयवासीले सचेत बनाए पनि सुनुवाइ नभएको गुनासो छ ।

पहिरो पीडितलाई सारिने

अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइँठे र काभ्रेका पहिरो पीडितलाई सुरक्षित स्थानमा सारिने भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, वडाध्यक्ष नरसीङ पुर्जा, बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रतिनिधि र पीडितबीच भएको छलफलपछि उच्च जोखिममा रहेका १० घरपरिवारलाई अस्थायी रूपमा सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको हो ।

बेनी–जोमसोम सडक विस्तारको क्रममा पाखो भत्किएर पहिरो खस्न थालेपछि गुइठेका कृष्ण बस्याल, उदयबहादुर सार्की, गणेश कटुवाल, राजु बिक, देउमाया सार्की, कर्णबहादुर नेपाली, सोमबहादुर मिजार, गोविन्द केसी र दीर्घबहादुर थापाको परिवार विस्थापित भएका हुन् ।

यसैगरी काभ्रेका भक्तबहादुर पाइजा, भूमिराज पाइजा र होमबहादुर पाइजाको परिवारलाई पनि सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउने निर्णय भएको वडाध्यक्ष पुर्जाले बताए । पहिरो पीडितलाई बेनी–जोमसोम–कोरला सडक आयोजनाले जस्तापाता र खानेपानीको पाइप उपलब्ध गराउने भएको छ ।

गुइठेका पहिरो पीडितलाई आयोजनाले २५ एमएमको २५० मिटर पाइप उपलब्ध गराइसकेको स्थानीय सुरत केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment