Comments Add Comment

बागागाड खोलामा पुल नहुँदा समस्या

१ भदौ, बैतडी । बागागाड खोलामा पुल नहुँदा पुर्चौडी नगरपालिकाका बासिन्दालाई खोला तर्न समस्या भएको छ । नगरपालिकाको केन्द्र हाट जोड्ने खोलामा पुल नहुँदा भूमिराज, कोटिलालगायत ठाउँका बासिन्दालाई दैनिक उपभोग्य सामान खरिदका लागि बसन्तपुर बजारसम्म पुग्न उक्त खोलामा पुल नहुँदा समस्या भएको हो ।

पुर्चौडीको बजारहाट बसन्तपुर नजिक पुल नहुँदा वर्षात्मा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको पुर्चाैडी नगरपालिका–१ का बीरबहादुर गडालले बताए । उनले भने , “पुल भएको ठाउँमा समेत पहिरोले जान नसकिने अवस्था भएपछि अहिले नगरपालिका तथा बसन्तपुर बजार पुग्नेहरू खडीखेत पुल हुँदै आउनुपरेको छ ।”

बसन्तपुर हाट बजार नजिक पुल नहँुदा आवतजावत गर्न समेत जोखिमपूर्ण रूपमा बागागाड खोला तर्नुपर्ने बाध्यता रहेको पुर्चौडी–७ कोटिलाका जयबहादुर विष्टले बताए । उनले भने, “वर्षात्को समयमा त कतिबेला खोलाले बगाउँछ भन्ने डर हुन्छ ।”

दैनिक उपभोग्य सामान किन्नसमेत हाट बसन्तपुर बजार पुग्नुपर्ने भएकोले बजार नजिकै पुल नहुँदा जोखिम हुने पुर्चौडी–७ कोटिलाका अर्जुन जोशीले बताए ।

उक्त खोलामा पुल नहुँदा वर्षात्मा विद्यार्थी पनि जोखिम मोलेर खोला तर्ने हुँदा स–साना बालबालिकालाई भने निकै किठन भएको पुर्चौडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगीको भनाइ थियो ।

पुल निर्माणका लागि त्रिवेणीधाम नजिक सर्वेक्षण गरिए पनि प्राविधिक दृष्टिकोणले पुल निर्माण गर्न नसकिने प्राविधिकले जनाएको वडाध्यक्ष गडालले बताउनुयो । “झोलुङ्गु पुल निर्माणका लागि समस्या भए पनि आरसीसी पिलर भएको पुल निर्माणका लागि पहल गर्न नगरपालिकामार्फत आग्रह गरिरहेका छौं ।” उनले भने ।

बागागाड नदीको ५०० मिटरमाथि झोलुङ्गे पुल भए पनि पहिरोका कारण पुलसम्म पुग्ने बाटो अवरुद्ध भएको छ । बसन्तपुर बजार पुर्चौडी क्षेत्रको मुख्य बजार हो । पुर्चौडी क्षेत्रका साविकका १० गाविस दैनिक उपभोग्य समान किन्न बसन्तपुर बजार जाने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment