Comments Add Comment

सरकारले संघीयताप्रति बितृष्णा जगायोः महत


१ भदौ, पोखरा । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारको काम संघीयताप्रति बितृष्णा जगाउने खालको भएको टिप्पणी गरेका छन् ।

पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महतले सरकारकै कारण संघीयता असफलतातिर उन्मुख भएको दाबी गरे । संघीयता बाँदरको हातमा नरिवल जस्तो भएको बताउँदै उनले भने, ‘जनताले बोक्नै नसक्ने गरी करको भारी लगाइएको छ । सरकारको चालचलनले संघीयता असफलतातिर जाँदैछ । यसले संघीयताप्रति बितृष्णा जगाउने काम भयो, यसमा सरकार सच्चिनुपर्छ ।’

सरकार सुनको अण्डा दिने कुखुरा नै काटेर खाने आहान चरितार्थ गर्न उद्यत रहेको आरोप लगाउँदै यसले समृद्धि हासिल नहुने बताए । उनले कांग्रेसले जितेका स्थानिय तहमा भारी कर लगाउन नदिने र लगाएको भए फिर्ता गर्न निर्देशन दिइने बताए ।

कांग्रेस सहमहामन्त्री महतले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए । राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा नियन्त्रण गरेर सरकार अघि बढ्न खोजेको बताउँदै उनले भने, ‘सरकार राजनीतिक, आर्थिक र सामाजिक अर्थात सबैतिर कमाण्ड एण्ड कन्ट्रोलतर्फ अग्रसर छ, यसले देशलाई ठीक बाटो लैजाँदैन ।’

सरकारले बाटो बिराएको भन्दै उनले सुध्रन आग्रह गरे । सरकार नसुध्रिए आन्दोलन गर्ने चेतावनी दिँदै महतले भने, ‘सरकार सुध्रिनुपर्छ, कमाण्ड एण्ड कन्ट्रोल नीति अन्त्य गर्नुपर्छ, अन्यथा सरकार सुध्रिएन भने कांग्रेस आन्दोलनमा जान्छ ।’

डा.महतले प्रेस स्वतन्त्रतालाई कुण्ठत गर्ने कुरा कांग्रेसलाई मान्य नहुने बताए । सरकारको नियत ठीक नभएको बताउँदै उनले सरकारले सीमा नाघेकाले आउँदो भदौ १५ गते कांग्रेसले बिरोध प्रदर्शन गर्न लागेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment