Comments Add Comment

पाइलटको अभाव टार्न नेपाल के गर्दैछ ?

संसारमै घट्दैछ पाइलटको संख्या

१ भदौ, काठमाडौं । नेपालले एक महिनाको छोटो अवधिमै पाँच नयाँ विमान भित्र्याएको अनि सरकारले आन्तरिक वायु सेवा कम्पनीहरूलाई अन्तर्राष्ट्रिय उडानको इजाजत दिने प्रक्रिया सहज बनाएको केही हप्ता पछाडि काठमाडौंमा जम्मा भएका करिब ४ सय विद्यार्थीलाई नेपाल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले प्रश्न गरे ‘आजसम्म तपाईँहरू कति जना प्लेन चढ्नुभएको छ ?’

जवाफमा करिब २० जनाले हात उठाए ।

त्यसपछिको अर्को प्रश्न थियो- कति जनालाई प्लेन चढ्न मन छ ? अब त हात उठाउनेको सङ्ख्या हृवात्तै बढ्यो । झन्डै आधाभन्दा बढीले आफूमा जहाज चढ्ने रहर भएको बताए । उनीहरूको उत्साह देखेर प्राधिकरणका अधिकारी पनि हौसिए र सोधिहाले, ‘के तपाईँहरूलाई आफैँ पाइलट भएर पनि विमान चलाउन मन छ ?’

यतिबेला भने हात उठाउने विद्यार्थीको सङ्ख्या हृवात्तै घटेर २० जतिमा झर्‍यो । सायद ती अधिकारीका लागि यो सङ्ख्या अपेक्षित नै थियो र त उनले भर्खरै १२ कक्षाको परीक्षा पास गरी पाइलटको तालिमका लागि योग्य भइसकेका विद्यार्थीसँग थप कुराकानी गर्ने जमर्को गरे ।

उनले विद्यार्थीहरूलाई किन पाइलट बन्न नचाहेको हो भनेर प्रश्न गरे । अनि तिनले राखेका चासोलाई पालैपालो जवाफ फर्काए । अहिले नै पाइलटको अभाव झेल्न थालिसकेको नागरिक उड्डयनको नियामक निकायले नेपालमा निकट भविश्यमा हुन सक्ने उडानसम्बन्धी जनशक्तिको अभावलाई कम गर्ने उद्देश्यले सुरु गरेको एक अभियानअन्तर्गत भएको कार्यक्रमको दृश्य थियो यो । विभिन्न कम्पनीमा कार्यरत पाइलट तथा शैक्षिक संस्थाहरूसँगको सहकार्यमा प्राधिकरणले यस्ता कार्यक्रम नियमित गर्दै आइरहेको छ ।

‘अचेल धेरै मानिसले आफ्नो यात्राका लागि झञ्झटिलो सडक मार्गभन्दा सजिलो विकल्पका रूपमा उडानलाई नै रोज्ने गरेका छन् । फलतः उडानहरूको सङ्ख्या निरन्तर बढ्दो छ’, प्राधिकरणको उडान सुरक्षा मापदण्ड महाशाखाका राजु श्रेष्ठ भन्छन्, ‘तर यस क्षेत्रमा लाग्नका लागि हाम्रा विद्यार्थीहरूमा खासै उत्साह देखिएको छैन ।’

यदि विद्यालय शिक्षा पूरा गरी उच्च शिक्षाका लागि कुन बाटो रोज्ने भन्ने विषयमा विमर्श गरिरहेका विद्यार्थीलाई यस क्षेत्रतर्फ आकर्षित गर्न सकिएन भने हाल विभिन्न देशले भोगिरहेको जनशक्ति अभाव नेपाली उड्डयन क्षेत्रले पनि भोग्नुपर्ने उनको चेतावनी छ ।

विश्वव्यापी सङकट र नेपाली सन्दर्भ

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ), विमान उत्पादक कम्पनी बोइङ् र एयरबस तथा अन्य सरोकारवाला निकायले समयसमयमा गरेका विभिन्न अध्ययनहरूका अनुसार विश्वभर नै हाल पाइलट, इन्जिनियर र एयर ट्राफिक कन्ट्रोलर लगायतका पेसाकर्मीको अभाव छ । समयमा नै यसको सम्बोधन हुन सकेन भने यो सङ्कट थप गहिरिने निश्चित छ ।

यस क्षेत्रमा आबद्ध हुन चाहने व्यक्तिको सङ्ख्या सोचेभन्दा कम रहेको देखिएको छ । अर्कातर्फ हाल कार्यरतमध्ये एउटा ठुलो हिस्साको अवकाशको समय नजिक आइसकेको छ ।

गत वर्ष भएको एक कार्यक्रममा आइकाओकी महासचिव फाङ् लिऊले व्यक्त गरेको एक भनाइलाई उद्धृत गर्दै प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, ‘सन् २०३६ सम्ममा संसारका सबै सञ्जालका लागि करिब छ लाख २० हजार पाइलटको खाँचो पर्नेछ । यसमध्ये ८० प्रतिशत आजसम्म उडान सुरु नगरेका नयाँ पाइलटहरू हुनेछन् । भविष्यका एयर ट्राफिक कन्ट्रोलर, क्याबिन क्रु, मर्मतकर्मी र अन्य दक्ष प्राविधिकका हकमा पनि यही कुरा लागू हुन्छ ।’

यसै तथ्यलाई मनन गर्दै आइकाओले सन् २००९ मा ‘भावी पुस्ताका उड्डयन पेसाकर्मी’ -नेक्स्ट जेनेरेसन एभिएसन प्रोफेसनल्स (एन्ग्याप) नामको विश्वव्यापी कार्यक्रम सुरु गरेको छ । जनशक्ति अभावबाट हुन सक्ने सम्भाव्य सङ्कट छल्नका लागि यो कार्यक्रम सफल हुने आइकाओको विश्वास छ ।

यद्यपि कार्यक्रमले देखिने गरी काम गर्न थालेको भने केही वर्ष मात्र भएको छ । नेपालमा यसको सुरुवात दुई वर्ष अगाडि मात्र भएको हो ।

राजुका अनुसार संसारका अन्य देशका तुलनामा नेपालमा यस कार्यक्रमको प्रभावकारिता अझ उच्च हुुनु आवश्यक छ किनकि संसारका अन्य क्षेत्रभन्दा दक्षिणपूर्वी एसियामा जनशक्ति अभावको समस्या बढी छ । फेरि सबभन्दा धेरै मानिस यसै क्षेत्रमा बस्दछन् ।

‘हाल नेपाली कम्पनीसँग ५६ विमान र २९ हेलिकप्टर छन् । तिनका लागि जम्मा ४०२ जना पाइलट मात्र हामीसँग उपलब्ध छन् । मेन्टिनेन्स इन्जिनियरको सङ्ख्या त झनै कम, २०१ मात्र छ ।’

अर्कातर्फ पाइलट पढ्नका लागि विदेश जाने नेपाली विद्यार्थीको सङ्ख्या वार्षिक ५०को हाराहारीमा रहेको यस क्षेत्रमा कार्यरत शैक्षिक कन्सल्ट्यान्सीका सञ्चालकहरूबताउँछन् । यो सङ्ख्या कुनै पनि हिसाबले पर्याप्त होइन ।

भनिरहनु नपर्ला, नेपालमा हालसम्म कुनै पनि पाइलट स्कुल सञ्चालनमा छैन । यसले गर्दा नेपालीले भोलि अझ धेरै दुःख पाउने सम्भावना छ । प्रायः नेपाली विद्यार्थीहरू अध्ययनका लागि फिलिपिन्स, अमेरिका तथा दक्षिण अफ्रिका जाने गरेका छन् ।

चेतना अभिवृद्धिको आवश्यकता

सम्भावित दुःख टार्ने सबभन्दा उत्तम विकल्प भनेको नयाँ पुस्ताका विद्यार्थीबीच चेतना जगाउनु नै भएको कुरामा वीरेन्द्र र राजु दुबै सहमत छन् ।

त्यसैले प्राधिकरणका अधिकारीहरूले विभिन्न कम्पनीका पाइलटलाई परिचालन गर्दै विद्यार्थीहरू, विशेषतः हालै कक्षा १२ उत्तीर्ण भएकाहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनीहरूको उद्देश्य छ कि यी विद्यार्थीले उड्डयनको क्षेत्रमा पनि करिअर बनाउन सकिन्छ भन्ने कुरा बुझून् ता कि भोलिको सङ्कट आन्तरिक जनशक्तिबाटै टरोस् ।

प्राधिकरणको यस अभियानलाई साथ दिनेमध्ये पाइलट सुरज भण्डारी पनि एक हुन् । हाल हिमालय एअरलाइन्सको अन्तर्राष्ट्रिय उडानका लागि काम गर्ने सुरज एन्ग्यापका लागि स्वयंसेवा गरिरहेका छन् । उडान क्षेत्रमा जनशक्ति अभाव हुँदा आफूले धेरै काम गर्नुपर्ने र त्यसले आफ्नो व्यक्तिगत जीवनमा समेत असर गर्ने भएकाले आफूले स्वैच्छिक रूपमा यस कार्यक्रमलाई योगदान दिइरहेको उनी बताउँछन् ।

प्राधिकरणले आफूलाई यस अभियानमा लाग्न आग्रह गर्नु अगाडि नै आफूले यसका लागि इच्छा व्यक्त गरेको सुरजको दाबी छ । यस्ता कार्यक्रममा उनको रुचिका पछाडि पनि एउटा कथा रहेछ ।

‘करिब डेढ दुई वर्ष अगाडिको कुरा हो । दक्षिण अफ्रिकामा पाइलट पढिरहेकी एक नेपाली विद्यार्थीले मलाई सम्पर्क गरेर नेपालमा पाइलट बन्ने योग्यता केके हुन् भनेर सोधिन् । मैले उनलाई बताएँ कि पाइलट कोर्समा भर्ना हुनकै लागि पनि विज्ञान सङ्कायमा १२ कक्षा उत्तीर्ण भएको हुनुपर्छ ।

भौतिक विज्ञान र गणित पनि पढेकै हुनुपर्छ’, उनी सुनाउँछन्, ‘तर पछि मैले थाहा पाएँ कि उनले त न विज्ञान पढेकी रहिछिन् न गणित । तैपनि केकसरी हो पाइलट पढ्नकै लागि भनेर दक्षिण अफ्रिकासम्म पुगिछिन् ।’ सुरजसँग कुरा गरेर ती विद्यार्थीले आफूलाई कसले कहाँ कसरी ठग्यो जान्न खोजेकी रहिछिन् ।

ती विद्यार्थीले पछि कसरी आफ्नो पढाइलाई निरन्तरता दिइन्, सुरजलाई खासै जानकारी छैन । तर यस घटनाले उनलाई के पाठ सिकायो भने नेपाली विद्यार्थीलाई यस्ता ठगीबाट बचाउनका लागि केही न केही त गर्नैपर्छ । एन्ग्यापजस्ता कार्यक्रम भए पनि, नभए पनि एक पाइलटकै हैसियतमा आफूले सम्भाव्य विद्यार्थीहरूलाई पाइलटिङ् शिक्षाबारे जानकारी दिनुपर्छ भन्ने कुरा उनलाई महसुस भयो ।

यस क्रममा विद्यार्थी र तिनका अभिभावकहरूमा पाइलट पेसाबारे केही भ्रम रहेको सुरजले बुझेका छन् । नेपालमा पाइलटको सङ्ख्या बढाउनका लागि यी भ्रम चिर्नु जरुरी रहेको उनको निष्कर्ष छ ।

पहिलो भ्रम : पाइलटको काम अत्यन्तै जोखिमपूर्ण हुन्छ । दोस्रो : पाइलट पढ्नका लागि एकदमै धेरै पैसा लाग्छ । यी भ्रमलाई गलत साबित गर्नका लागि सुरज लगायतका पाइलट भन्ने गर्छन् कि उडान भनेको सडक यातायातभन्दा धेरै गुणा सहज छ । यस विषयमा राजु ठट्टा गर्छन्, ‘सबभन्दा जोखिमपूर्ण त मानिसको ओछ्यान हुन्छ किनकि सबभन्दा धेरै मानिसको मृत्यु आजसम्म ओछ्यानमै भएको छ ।’

त्यसैगरी पाइलट बन्नका लागि डाक्टर बन्न लाग्ने पैसाभन्दा खासै धेरै पैसा नलाग्ने हुनाले यसलाई महँगो छ भनेर टार्नु नहुने उनीहरू बताउँछन् ।

पढाइपछिको कमाइ भने गज्जब नै रहेको सुरजको दाबी छ । एउटा पाइलटले सामान्यतया महिनामा ५० घण्टा काम काम गर्छ र तलब नेपाली रुपैयाँ ७० हजारदेखि एक लाख ६० हजारसम्म हुन्छ । पढाइको अवधि एक वर्ष मात्र हुनु पनि विद्यार्थीका लागि फाइदाकै कुरा हुन सक्छ ।

उडान सङ्ग्रहालय

वीरेन्द्रका अनुसार नेपालमा एन्ग्याप कार्यक्रमका दुई मुख्य अवयव छन् । विद्यालय र अन्य शैक्षिक संस्थामा सञ्चान हुने चेतनामूलक कार्यक्रम पहिलो अवयव हो भने क्याप्टेन वेद उप्रेती तथा उनको वेद उप्रेती ट्रस्टले काठमाडौँको सिनामङ्गलमा सञ्चालन गरेको उडान सङ्ग्रहालय (एभिएसन म्युजियम) दोस्रो ।

सङ्ग्रहालयमा जाने जोसुकैलाई उप्रेती तथा उनका कर्मचारीले पाइलट तथा उडानसँग सम्बन्धित अन्य पेसाकर्मीले कसरी काम गर्छन् भन्ने कुरा बुझाउँछन् । साथै उनीहरूले हाल रहेको जनशक्ति अभावको अवस्था र त्यसलाई सामना गर्न अपनाउनुपर्ने उपायबारे पनि बताउँछन् । सङ्ग्रहालय भ्रमण गर्नेमा प्रायः स्कुले विद्यार्थी र तिनका अभिभावक नै हुने भएकाले विद्यार्थी र तिनका परिवारलाई उडानसँग सम्बन्धित काममा आकषिर्त गर्न यो सङ्ग्रहालय प्रभावकारी हुने वीरेन्द्रको दाबी छ ।

‘बारम्बार सङ्ग्रहालय आएर हेरेका विद्यार्थीले आफूलाई भोलि पाइलट तथा यसै क्षेत्रका अन्य काममा संलग्न गराउने सम्भावना बढी हुन्छ ।’

‘धेरै विद्यार्थीहरूले एक पटकभन्दा धेरै सङ्ग्रहालय भ्रमण गरेको हामीले पाएका छौं । हाम्रो कार्यक्रम प्रभावकारी भइरहेको छ भन्ने पुष्टि गर्ने आधार यो पनि हो’, उनी भन्छन्, ‘बारम्बार सङ्ग्रहालय आएर हेरेका विद्यार्थीले आफूलाई भोलि पाइलट तथा यसै क्षेत्रका अन्य काममा संलग्न गराउने सम्भावना बढी हुन्छ ।’

सन् २०१५को मार्चमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट घाँसे मैदानमा पुगी बिग्रिएको टर्किस एयरलाइन्सको एयरबस ३३०-३००लाई प्रयोग गरेर यो सङ्ग्रहालयको स्थापना सन् २०१७मा मात्र भएको हो ।
त्यसयता एक लाखभन्दा बढी मानिसले यो सङ्ग्रहालय घुमिसकेका छन् ।

आगामी कार्यक्रम

चेतना अभिवृद्धिका लागि आफू अझ धेरै विद्यार्थीहरूमाझ पुग्न चाहेको सुरजको भनाइ छ । उनले हालै मात्र चिकित्सा शिक्षाको तयारीका लागि काठमाडौँका सम्भवतः सबैभन्दा धेरै विद्यार्थीको भिड लाग्ने संस्था नेममा एक कार्यक्रम गरेका छन् ।

अब उनको योजनामा पिइए छ, जुन इन्जिनियरिङ् अध्ययनको तयारीका लागि विद्यार्थीहरूबीच उत्तिकै लोकप्रिय छ । त्यसपछि आफू काठमाडौँ बाहिरका मुख्य सहरहरूमा जाने उनको भनाइ छ । पहिलो चरणका लागि सुरजले पोखरा, विराटनगर र धनगढीको छनोट गरेका छन् ।

उता प्राधिकरण भने उडान सङग्रहालयलाई विस्तार गर्ने तयारीमा छ । वीरेन्द्रका अनुसार विमान तथा हेलिकप्टरको उडानमा प्रयोग भएका नयाँ तथा पुराना यन्त्रउपकरण र प्रविधिलाई पनि सङ्ग्रहालयमा प्रदर्शनीमा राखिनेछ ।

एन्ग्याप कार्यक्रमका सबभन्दा बलिया पक्ष के हुन् भने यसको निश्चित समय सीमा छैन र खासै खर्च पनि लाग्दैन । त्यसैले कार्यक्रमलाई सकेसम्म धेरै समयसम्म निरन्तरता दिने प्राधिकरणको योजना छ । वीरेन्द्रका अनुसार करिब पाँच लाख रुपैयाँजत्तिको सानो वाषिर्क बजेटमै यो कार्यक्रम सञ्चालन भएकाले यसलाई तत्काल बन्द गर्नु कुनै पनि हिसाबले आवश्यक हुनेछैन ।

सुरजको आशा छ कि आगामी दिनमा उनीजस्तै अन्य विमान चालकले पनि यस कार्यक्रममा योगदान गर्नेछन् ता कि थप विद्यार्थीबीच पुग्न थप सहज हुनेछ । सम्भाव्य सङ्कटका असर कम गर्नका लागि उनीहरू धेरैभन्दा धेरै विद्यार्थीमाझ पुग्नु आवश्यक छ ।

एन्ग्याप कार्यक्रमका फोटाहरू : काठमाडौं एजुकेसन एलायन्स

यो सामग्री अंग्रेजीमा पढ्नुहोस्

What is Nepal doing to avert possible human resource crisis in aviation sector?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment