Comments Add Comment

५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री

'अब आयोजनाको जिम्मा प्रतिस्पर्धाबाट'


१ भदौ, काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले देशभरिका ५६ लाख घरधुरीले नै जलविद्युत आयोजनामा सेयर पाउने वातावरण सुनिश्चित गरिने बताएका छन् । उनले आयोजनाहरुको निर्माणमा सबै घरधुरीको सेयर लगानी गराउने गरी सरकारले काम गर्ने बताए ।

‘भविष्यमा वृद्धभत्ता लिएजस्तै सेयरबाट लाभ मिल्ने गरी सबै घरले जलविद्युतमा सेयर हाल्न पाउने वातावरण सरकारले बनाउँदैछ,’ नेपाल विद्युत प्राधिकरणको वाषिर्कउत्सव समारोहमा पुनले भने,’ऊर्जामा हुने लगानीमार्फत नै सबै नेपालीको घरमा समृद्धि ल्याउने सपना सकार पारिनेछ ।’

मन्त्री पुनले अब राजनीतिक दबाब र प्रभावका आधारमा आयोजना बनाउने र हत्याउने अवस्थाको अन्त्य गरिने समेत बताए । उनले अब जलविद्युत आयोजनाहरु प्रतिस्पर्धाका आधारमा नै निर्माण गरिने बताए ।

राजनीतिक भनसुनका आधारमा आयोजना अघि बढाउँदा समयमै निर्माण नहुने, लागत महंगो पर्ने लगायतका समस्या आउने गरेको भन्दै यस्तो हुन नदिन अब सरकारले प्रतिस्पर्धालाई नै मुख्य आधार बनाउने प्रष्ट्याए । उनले प्रतिस्पर्धालाई पन्छाउँदा कतिपय आयोजननामा तेब्बरसम्म खर्च भएको उल्लेख गरे ।

‘अहिले हामीले सहीसँग काम नगर्दा आउने पुस्तालाई बोझ नहोस् । त्यसैले आयोजनाहरुलाई प्रतिस्पर्धाको आधारमा जनताको लगानी सुनिश्चित गर्दै अघि बढाउने योजनामा हामी छौं,’ उनले दोहोर्‍याए ।

मन्त्री पुनले आफूले कुलेखानी-३ आयोजना अगस्ट महिनाभित्रै सम्पन्न हुनुपर्ने भनेर चिनियाँ दूतावासको पनि ध्यानाकर्षण गराएको बताए । यस्तै माथिल्लो त्रिशुली थ्री ए आयोजना पनि जनवरीभित्रै सम्पन्न नगर्ने गरी काम तीव्र पार्न उनले प्राधिकरणलाई निर्देशन दिए ।

मन्त्री पुनले विगतमा लोलसेडिङ अन्त्यका लागि मिहिनेत गरेजस्तै अब विश्वसनीय र भरपर्दो विद्युत सेवा दिने गरी काम गर्नुपर्ने बताए ।

‘प्रसारणलाइनको राइट अफ वेमा परेको जग्गामा परेका पीडितलाई आफ्नै घरघँडेरी परेकोजस्तो मानेर व्यवहार गर्नुस्,’ पुनले प्राधिकरणका कर्मचारीलाई निर्देशन दिँदै भने,’विद्युतीय दुर्घटनामा मान्छे मर्ने अवस्था नआओस् । मृत्यु बेहोर्नेहरु आफ्नै परिवारका सदस्य हुन् भन्ने मानेर अघि बढ्नुस् ।’

उनले कर्मचारीलाई आफ्नो कार्यशैलीमा पनि सुधार ल्याउन भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment