Comments Add Comment

यूएईमा ३ सय ९१ नेपाली अवैध, आममाफीका लागि दूतावासले सुरू गर्‍यो घुम्ती सेवा

१ भदौ, यूएर्इ । वैदेशिक रोजगारीका लागि यूएई आएर विभिन्न कारणले आफू कार्यरत कम्पनी वा घरबाट भागेका ३९१ जनाको तथ्यांक नेपाली दूतावास अबुधावीले सार्वजनिक गरेको छ ।

यूएईमा अवैध कामदारलाई यहाँको सरकारले वैध बन्न या विना जरिवाना आफ्नो देश फर्कन आममाफीको सुविधा दिएको करिब २ सातापछि  यो तथ्यांक यूएई सरकारले दूतावासलाई उपलब्ध गराएपछि सार्वजनिक गरिएको हो ।

साउन ३१ गते बिहीवार एक सूचना जारी गर्दै दूतावासले विभिन्न कारणले यूएईमा अबैधानिक बन्न पुगेका नेपालीहरुको पासपोर्ट अध्यागमनमार्फत दूतावासको कार्यलयमा प्राप्त भएको जनाएको हो ।

नेपाली दूतावासले यूएईमा बिना भिसा लुकिछिपी बसेका सबैको नाम, पासपोर्ट नम्बर र जिल्लाको नाम सहित सूचना जारी गरी आफ्नो पासपोर्ट लिएर वैध बन्न या स्वदेश फर्किन अनुरोध गरेको छ ।

यूएई सरकारले गत अगस्ट १ देखि अक्टोबर ३१ सम्म लागू हुने गरी सुरु गरेको ३ महिने आममाफीको सुविधा लिन र यसको प्रक्रियामा सहभागी बन्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

यसका लागि नेपाली दूतावासले घुम्ती शिविर संचालन गरी सुविधा दिइरहेको नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले बताएका छन् ।

हिजोआज विभिन्न इमिरेट्सबाट  दैनिक ४० देखि ५० जनासम्म दूतावासको सम्पर्कमा आएर वैध बन्ने या घर फर्किने गरेको दूतावासका श्रम सहचरी मोतीराम भुसालले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

अबैधानिक बनेका नेपाली कामदारको पासपोर्ट खोजी ,एकतर्फी यात्रा अनुमति पत्र वितरण तथा वैधानिक बनी बस्न चाहानेलाई नेपाली दूतावासले आवश्यक सहयोग गर्दै आएको छ ।

नेपाली दूतावास अबुधाबीले आफ्नो कार्यालयमा प्राप्त सूचना र पासपोर्ट नियमित क्रमश अध्यावधिक गराइने सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment