Comments Add Comment

मुलुकी संहितामा कमजोरी भए संशोधन गर्न सकिन्छ : प्रधानमन्त्री

१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी संहितामा केही कमी कमजोरी भएमा संशोधन गर्न सकिने बताएका छन् ।

शुक्रबार नयाँ मुलुकी ऐन लागू गरेको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ मुलुकी ऐनको कार्यान्वयन सहज ढंगले अघि बढ्ने र त्यसमा व्यवहारको क्रममा कमी कमजोरी भेटिए परिमार्जन गर्दै लगिने स्पष्ट पारे ।

उनले नेपाललाई अझै व्यवस्थित, अनुशासित, सुसंगत र सुसम्बन्धका साथ अघि बढाउन नयाँ मुलुकी ऐन लागू गरिएको पनि स्मरण गराए । परिवर्तित सन्दर्भ र सोही परिवेश अनुसार नयाँ मुलुकी ऐन व्यापक छलफलका लागि लागू गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले कतिपयले यो संहिता वर्तमान सरकारले बनाएर अहिले जारी गरेको जस्तो प्रचार गर्नु आश्चर्यपूर्ण भएको बताए । ‘संहिता निर्माणका क्रममा छलफलमा बसेकै साथीहरु अहिले विरोधमा उत्रिएको देख्छु’ प्रधानमन्त्री ओलीले भने ‘यसबाट त्रसित हुनुपर्ने केही छैन । यसले समाजलाई मर्यादित बनाउन खाजेको छ । गल्ती नगर्नेहरुले डराउनु पर्दैन ।’

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालका केही मान्यताहरु बदलिएकाले त्यसै बेलादेखि मुलुकी ऐनलाई संशोधन गर्ने काम सुरु भएको बताए ।

कायममुकायम प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले इमान्दारिताका साथ नयाँ मुलुकी ऐन कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए । उनले मुलुकी ऐनलाई समय सापेक्ष सुधार गरेर नयाँ मुलुकी ऐन लागू गरिएको पनि स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment