Comments Add Comment

५ बुँदे घोषणापत्र जारी गर्दै सकियो जनकपुरको बालिका सम्मेलन

१ भदौ, जनकपुरधाम । बालविवाह र दाइजोप्रथा अन्त्य गर्न पाँच बुँदे घोषणापत्र जारी गर्दै जनकपुरमा दुई दिने दोस्रो बालिका सम्मेलन सम्पन्न भएको छ ।

प्रदेश २ का ८ वटै जिल्लाका बालबालिकाका प्रतिनीधि, स्थानीय तहका जनप्रतिनिधि सहभागी सम्मेलनले ५ बुँदे जनकपुर घोषणा पत्र जारी गरेको हो ।

प्रदेश २ मा बालविवाह अन्त्य गर्ने कार्यलाई योजनाबद्ध र सुदृढ तवरले अगाडि बढाउन बालविवाह अन्त्य गर्न प्रदेश स्तरीय रणनीति तयार गर्नुको साथै प्रभावकारी र सफल कार्यान्वयन गर्न कार्यान्वयन निर्देशिका तयार पारी बालविवाह अन्त्यको कार्य द्रुत गतिमा अगाडि बढाउने, प्रदेश २ का मुख्यमन्त्री अभियान बेटी पढाउ, बेटी बचाउको कार्यविधि तयार गरी पालिका र समुदायस्तरमा कार्यान्वन गर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तै, प्रदेश २ मा बालविवाहको प्रमुख जड कारणको रुपमा रहेको दाइजो जस्तो कुप्रथालाई नियन्त्रण गर्न कानूनको प्रभावकारी कार्यान्वन गर्ने र समाजस्तरमा पुस्तौदेखिको सामाजिक मान्यता परिवर्तन गर्ने योजना ल्याउने, बालिका र महिलाको जीवन समृद्धिबिना प्रदेश र देशको समृद्धि सम्भव नभएकोले बालिकाको जीवन रक्षा, सशक्तिकरण र सम्मान रक्षा गर्न प्रदेश २ मा विषेश योजनाहरु ल्याउने र यसको ठोस कार्यान्वन गर्ने, प्रदेश २ स्तरीय नेपाल बालिका सम्मेलन २०१८ जस्तो पहललाई पालिका स्तरमा आयोजना गर्न पहल गर्ने उल्लेख छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले महिलालाई रोजगारीमा ५० प्रतिशत आरक्षणको प्रावधान ल्याउने बताएका छन् । उनले महिला सशक्तिकरणका लागि महिलाहरुलाई रोजगारीमा अनिवार्य ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागिएको बताए ।

सक्षम बालिकाः समृद्ध नेपाल भन्ने नाराका साथ जनकपुरमा सम्पन्न बालिका सम्मेलन प्रदेश स्तरीय समारोहको उद्घाटन समारोहमा उनले प्रदेश सरकारले ल्याउने प्रहरी ऐनमा समेत ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको बताए ।

‘महिलाको अधिकार सुनिश्चित नगरेसम्म प्रदेश विकसित र समृद्ध हुन्न,समाज रुपान्तरणका लागि दुई चार वटा सडक, विल्डिङ बनाएर मात्रै पुग्दैन । छोरा पढाउन घर खेत बेच्ने र छोरीलाई पढाउने कुरा गर्दा अर्काको घरमा जाने जात भनेर भन्ने हाम्रो समाज छ,’ उनले भने, ‘छोरी शिक्षित बनाएर मात्रै समृद्ध समाज बन्छ, प्रहरी ऐन ल्याउँदैछौैं त्यसमा आधा महिला अनिवार्य हुनेछन् । पढाइसँगै रोजगारीको ग्यारेन्टी गर्ने र छोरीलाई सक्षम बनाउने लक्ष्य प्रदेश सरकारको छ ।’

छोरीलाई सक्षम बनाउन कै लागि मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान सञ्चालन गरिएको मुख्यमन्त्री गद्दीको भनाइ छ ।

कार्यक्रममा प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सरकार विभेदरहित समाज निर्माणमा जुटेको बताएका छन् । उनले कसैले विभेद गरेको खण्डमा कानून बमोजिम कारबाही गर्ने चेतावनी दिए ।

सभासद रामाशिष यादवले समाजमा छोरा जन्मदा भोज गर्ने र छोरी जन्मदा उदास हुने प्रचलनको अन्त्य हुनुपर्नेमा जोड दिए ।

सम्मेलनमा बालबालिकाले सोधेका विविध जिज्ञासाको समाधान प्रदेश सांसदलगायत जनप्रतिनीधिहरु तथा सरोकारवालाहरुले गरेका थिए ।

बालबालिकाहरुले नेताहरुले भाषण मात्रै गर्ने गरेको, बालबालिकाको काम कागजमा मात्रै हुने गरेको, बालबालिका माथि हिंसा, विभेदको अझै अन्त्य हुन नसकेको लगायतका बारेमा जिज्ञासा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment