Comments Add Comment

भरतपुर महानगरमा उपमेयरसँग रेणु दाहालको ‘शीतयुद्ध’

१ भदौ, चितवन । गतबर्ष वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको प्रचारप्रसार अघि र पछि पनि खुवै मिलेका जोडी जस्ता थिए, मेयर उम्मेदवार रेणु दाहाल र उपमेयर उम्मेदवार पार्वती शाह ठकुरी । निर्वाचनको प्रचारप्रसारका क्रममा रेणु दाहाल लालसलाम जय नेपाल भन्थिन् भने ठकुरीले जय नेपाल लाल सलाम भन्थिन् ।

तत्कालिन माओवादी र कांग्रेसका झण्डा एउटै कपडाभित्र अटाए । मतपत्र च्यातिएपछि भएको भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदान भयो । रेनुलाई जिताउन माओवादीले भन्दा बढी मेहनत कांग्रेसले गर्‍यो र २०३ मतले देवी ज्ञवालीलाई हराउँदै रेणु दाहाल मेयर बनिन् । तर, यो गठवन्धन दिगो भएन ।

१७ असोजमा तत्कालिन एमाले र माओवादीवीच चुनावी तालमेलको सहमति भएपछि समस्या सुरु भयो । कांग्रेसको समर्थनमा जितेकी मेयर रेणु दाहालले जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले उम्मेदवार कृष्ण डल्लाकोटीलाई मत दिइन् । दिदीबहिनीजस्तै गरी हिँड्ने मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहलाई यतिबेला टाढा बनाउन एकातिर परिस्थिति तयार छ भने अर्को तर्फ नियती ।

केही महिनादेखि मेयर र उपमेयरवीच चलेका ‘शीतयुद्ध’ महानगरको समिक्षा गोष्ठीमा आउँदा छताछुल्ल भएएको छ । मेयर रेणु दाहालले अति गरेकोले सहनुको सीमा पार गरेको उपमेयर पार्वती शाहले अनलाइनखबरसँग गुनासो गरिन् ।

‘सकभर घरभित्रको विषय घरभित्रै मिलाउनुपर्छ भनेर लागियो तर पेलाई र हेपाईले सीमा पार गरेपछि हामीले विरोध जनायौं’ उपमेयर शाहले अगाडि भनिन्, ‘धैर्यताको वाँध टुट्यो ।’

समीक्षा गोष्ठी बहिष्कार

महानगरले बिहीबार समीक्षा गोष्ठी आयोजना गरेको थियो । भरतपुरकै एक होटलमा आयोजना गरिएको समीक्षा गोष्ठी १ बजेका लागि बोलाइएको थियो । तर, समीक्षा गोष्ठीमा सहभागी हुनुपर्ने उपमेयरसहित कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरु पार्टी कार्यालय पुगे । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, सचिव उत्तम जोशीसहितका नेतासँग महानगरकी उपमेयर पार्वती शाह र वडाध्यक्षहरुले गुनासो पोखे ।

वडाध्यक्षहरु महानगरको गोष्ठी बहिष्कार गर्ने पक्षमा थिएनन् । उनीहरुले विरोध पनि गरे । महानगरको समीक्षा गोष्ठीमै गएर आफ्ना कुरा राख्ने धारणा राख्नेमा वडा नं २१ का वडाध्यक्ष चित्रसेन अधिकारी, वडा नं ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित र वडा नं १ का वडाध्यक्ष जयराम श्रेष्ठ, वडा नं १९ का वडाध्यक्ष कर्णबहादुर गुरूङ भए । तर, उपमेयर पार्वती शाहसहित पार्टी सभापति जीतनारायण श्रेष्ठ ‘जानै हुँदैन, बहिष्कार गर्नुपर्छ’ भन्ने लाइनमा उभिए ।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छलफलमै हुँदा महानगरको समीक्षा गोष्ठी सुरु भयो । उपमेयर नआएपछि वडा नः १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले स्वागत गरे । स्वागतकै क्रममा भण्डारीले केही साथीहरु नआउनु भएको भनेपछि वहिष्कारको कुरा खुल्यो । यद्यपि कांग्रेसका प्रदेश सभाका सदस्य मिलनबाबु श्रेष्ठ भने कार्यक्रममा पुगेर भाषण ठोके । उनी एकैछिनमा निस्किए ।

उपमेयर पार्वती शाहले आफुहरुका विचार र कुराहरूलाई महानगरकी मेयरले वेवास्ता गरेकोले वहिष्कार गरेको बताइन् । शाहले अनलाइनखबरसँग आगामी दिनमा कसरी जाने भनेर पार्टी नेतृत्वसँग छलफलमा बसेकोले गोष्ठीमा नगएको प्रतिक्रिया दिइन् ।

मेयर रेणु दाहालको भने फरक धारणा छ । आफैंले निर्धारण गरेको कार्यक्रममा आफैं अनुपस्थित भएर उपप्रमुखले राजनीतिक संस्कार विपरीतको काम गरेको मेयरको भनाइ छ । कार्यपालिका बैठकको निर्णय र उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेर समीक्षा बैठकको मिति तय गरिएको उनले बताइन् ।

विवादको भित्री चुरो : निमित्तदेखि अप्ठ्यारा कामसम्म !

तत्कालिन एमालेसँग गठवन्धन भएदेखि नै मेयर रेणु दाहालमा परिवर्तन देखिन थालेको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको भनाइ छ । शुरुका दुई महिना हरेक कुरामा छलफल र परामर्शमा अघि बढ्ने मेयर दाहाल पछिल्ला समय बदलिएको अनुभूति भएको उनीहरु बताउँछन् तर,, मेयरप्रतिको असन्तुष्टि वडाध्यक्षहरुको भन्दा पनि बढि उपमेयर शाहको हो । मेयर रेणु दाहाल जिल्ला बाहिर जाँदा उपमेयरलाई कार्यवाहकको जिम्मेवारीसमेत नदिएकोमा उपमेयर शाह रुष्ट बनेकी छिन् ।

आफ्नो सुरले हिड्ने, कुनै सरसल्लाह नलिने, नसुन्ने काम मेयरबाट भएको उनको गुनासो छ । महानगरभित्रका विवादित र अप्ठ्यारा कामहरु विना जानकारी उपमेयरको टाउकोमा थुपार्ने र जस लिने जति काम आफूले गर्ने गरेको बुझाई उपमेयर शाहको छ । राजमार्ग क्षेत्रमा अटो सञ्चालन गर्न नदिने महानगरको निर्णयपछि उत्पन्न असहज अवस्थाको हल गर्न उपमेयर शाहलाई नै समितिको संयोजक बनाएकी थिइन् मेयर दाहालले । त्यसमा पनि शाहको आपत्ति छ । न्यायिक समितिलाई पनि पंगु बनाउने काम नियोजित रुपमा गरिएको आरोप उपमेयरको छ ।

मेयरको आडमा प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले समेत वाइपास गरेर कामहरु गर्ने गरेको, फोन नउठाउने र वेवास्ता गर्ने गरेको चर्चा छ । केही समय अघि भएको कार्यपालिकाको नवौं बैठकमा उपमेयर शाहले बैंठक नै बहिष्कार गरेकी थिइन् । गत साउन ७ गते बसेको महानगरको नियमित कार्यपालिकाको बैठकमा मेयरले दम्भ देखाएको भन्दै कांग्रेसबाट निर्वाचिन जनप्रतिनिधिले आपत्ति जनाएका छन् ।

मेयर दाहालले बैठक समापनका क्रममा ‘महानगर मैले चलाउने हो, कसैको चित्त बुझोस् या नबुझोस्, म अगाडि बढ्छु, निर्णय कार्यान्वयन गराउँछु’ भनेर दम्भ देखाएको आरोप उपमेयरसहितका वडाध्यक्षहरुले लगाएका छन् । यसले पनि कांग्रेसबाट निर्वाचिन जनप्रतिनिधि समीक्षा बैठक बहिष्कार गर्ने निर्णयमा पुगेका थिए ।

मेयर दाहालले भने बितेको एक बर्ष महानगरका सम्पूर्ण जनप्रतिनिधिहरू एउटै परिवारजस्तो भएर काम गरिरहेको र पक्षपात नगरेको दावी गर्छिन् । उनले सबै काम सामूहिक छलफल र निर्णयबाट नै गरेको बताइन् । अनावश्यक हल्ला नगर्ने आग्रह गर्दै मेयर दाहालले भनिन् ‘यस्तो तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन, उहाँहरुको यस्तो क्रियाकलापलेे मलाई दुःख लागेको छ ।’

वेवास्ता गरे सडकमा उत्रिन्छौं : कांग्रेस

कांग्रेसकै मतबाट विजयी भएकी मेयर रेणु दाहालविरुद्ध उत्रिन कांग्रेसमाथि नैतिक संकट छ । आफैंले मत दिएर जिताएको मेयरविरुद्ध लाग्दा जनताका बीचमा के भनेर जाने भन्ने समस्या कांग्रेस चितवनमाथि नभएको हैन । तर, पेलेरै अघि बढे सडकमा उत्रिन समेत तयार हुने कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बताए ।

महानगरको प्रगति र समृद्धिमा कांग्रेसको विमति नहुने र सहयोग गर्ने नीति पार्टीको रहेको बताए । ‘आजसम्म हामीले सहयोग नै गरेका छौं, कहि कतै विरोध गरेका छनौं’ कांग्रेस सभापति श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अब कांग्रेसको सहयोग लिने वा नलिने महानगरको कुरा हो, मेयरले जान्ने कुरा हो ।’

मेयर दाहालले भने भरतपुर महानगरमा कुनै पनि दलगत राजनीति प्रवेश नगराउन आग्रह गरेकी छिन् । उनले भनिन् ‘केही विषय छन् भने बसेर कुरा गरौं, चार वर्ष एकढिक्का भएर विकास र समृद्धिको बाटोमा अगाडि बढ्न आग्रह गर्दछु ।’

कांग्रेसबाट निर्वाचित भरतपुर महानगरपालिका वडा नः ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले उठेका गम्भीर विषयमा मेयर र उपमेयर बसेर एकअर्कामा विश्वासको वातावरण बनाउन सके, अझैं पनि मिलेर जाने ठाउँ रहेको बताउँछन् । उनी भन्छन् ‘विश्वासको संकट देखियो, आपसी सहमतिमा टुंग्गाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment