Comments Add Comment

फिल्म समीक्षाः बि ग्रेडका सिनेमा जस्तै ‘मिस्टर भर्जिन’

‘सेक्स कमेडी’ फिल्म भनेपछि त्यसमा धेरै अपेक्षा गर्ने कुरा भएन । र, ‘मिस्टर भर्जिन’बाट अरु धेरै आशा राख्नुभयो भने तपाई खिन्न हुनुहुनेछ । किनभने यसबाट हल्का एवं सतही मनोरञ्जनबाहेक अरु केही मिल्नेवाला छैन ।

आवश्य पनि, नेपाली दर्शकका लागि यो नौलो खुराक हुनसक्छ । वयस्क लक्षित फिल्मबाट दर्शकले केवल तीन कुरा पाउँछन्, मनोरञ्जन, मनोरञ्जन र मनोरञ्जन ।

निर्देशक विशारत बस्नेतले फिल्मलाई ‘भरपुर मनोरञ्जनात्मक’ बनाउने कसरत गरेका छन् । यौनजन्य संवाद ओकलेर हुन्छ कि, मुख बङ्याएर हुन्छ, बस् दर्शकले मस्ती गर्नुपर्‍यो । त्यो भन्दा पर यो फिल्मको अवयव मृत पाउनुहुनेछ ।

कस्तो छ कथा ?

ट्रेलरबाट पनि थाहा हुन्छ, फिल्म तीन ‘प्यासी’ युवाहरुको घनचक्कर हो । यी तीन युवासँग यौनको अनुभव छैन । त्यही अनुभवको खातिर उनीहरुको दौड सुरु हुन्छ ।

जक्सन हो, ठमेल । राजधानीको रात्रीजीवनसँग ठमेलको खास नाता छ । ठमेल, जहाँ रात्रीकालिन सेवाग्राहीको जमघट लाग्ने गर्छ । म्युजिक, मदिरा र मस्तीका लागि ठमेलको चक्कर लगाउनेको भिडमा मिसिएका छन्, ढालबहादुर (गौरव पहाडी), कुमार कान्छा (कमलमणी नेपाल) र अर्का युवा (बिजय बराल) ।

एक कम्प्युटर मेकानिक (भोलाराज सापकोटा)को उक्सहाटमा लागेर उनीहरु त्यस्ता युवतीको खोजीमा निस्किएका हुन्, जो निस्क्रिय आफ्नो देह सुम्पन तयार होस् । उनीहरु कहिले दोहोरी घरमा त कहिले डान्स बारमा पुग्छन्, कहिले मसाज सेन्टरमा पुग्छन् त, कहिले यौनकर्मीको सम्पर्कमा । तर, के उनीहरुले आफनो मनोकांक्षा पुरा गर्छ त ? यसका लागि भने तपाईंले सिनेमा घरमा २ घण्टा १० मिनेट गुजार्नुपर्नेछ ।

के छ राम्रो पक्ष ?

यौनको कुरा गर्दा हाम्रो समाज लज्जावती झार झै खुम्चन्छ । एकातिर यौनलाई ‘छाडा’ भन्ने र अर्कोतिर यौनकुण्ठा पालेर बस्ने द्वैध प्रवृत्तिले हामीलाई अठ्याइरहेको छ । अँध्यारो कोठामा मात्र यौनजन्य कर्म गर्न तम्सने हामी उज्यालोमा भने त्यही कुराको विरोध गर्दै हिँड्छौं । यसरी यौनका विषयमा समाजले लुकाइरहेको कुण्ठालाई पर्दामा खुलम-खुला पोख्नु पक्कै हिम्मतको कुरा हो ।

हिम्मत यसअर्थमा कि, यस्तो फिल्मको नाम सुन्न र उच्चाहरण गर्दा समेत धेरैजसोको गालो रातो हुन्छ । मुख सुक्छ । ‘भर्जिन’ भन्ने शब्द र त्यसको प्रयोगलाई पनि हामी ‘असभ्य’ मान्छौं । जबकी यही चरणबाट हामी सबै गुजि्रएका छौं ।

कमेडी, लभस्टोरी, एक्सन फिल्मको ताँती लागिरहेको अवस्थामा ‘मिस्टर भर्जिन’ले ट्र्याक चेन्ज गरेको छ । यौनलाई खुला समाजमा पेश गर्ने जुन अभ्यास गरिएको छ, त्यसले बद्लिदो समाजको मनोदशालाई संकेत गर्छ । अर्थात, अब यौनलाई खुम्च्याएर वा लुकाएर मात्र हुँदैन ।

फिल्मको अर्को राम्रो पक्ष भनेको अभिनय हो । कमलमणि नेपाल खासमा उति लाइमलाइटमा छैनन् । तर, उनको अभियनमा यस्तो दम छ, जसले मूख्य पात्रलाई पनि ओझेल पार्न सक्छ । जस्तो यसपाली गौरव पहारी ओझेल परेका छन् ।

टिका पहारी पुत्र गौरवको यसमा हिरोइज्म त देखाइएको छैन, यद्यपी उनी मुल पात्र हुन् । तर, दर्शकलाई उनको चरित्र र अभिनयले कतिपनि तान्दैन । बरु बिजय बराल, भोलाराज सापकोटा आदिले दर्शकलाई सक्दो मनोरञ्जन दिलाएको छ ।

यसकारण झुर

कमलमणि नेपाल, रविन्द्र झा, बिजय बराल, भोलाराज सापकोटा, सिर्जना सुब्बा जस्ता माझिएका कलाकार नहुँदो हो त यो फिल्म कुनैबेला युट्युबमा छ्यापछ्याप्ती पाइने ‘हट सर्ट मुभी’ भन्दा गतिलो हुने थिएन । भन्नुको अर्थ, फिल्म केवल यिनै कलाकारहरुले काँध थापेकाले फिल्म जस्तो छ । नभए, यो फिल्मको स्तरको फिल्म होइन ।

यसमा निर्देशकको उपस्थिती अनुभव हुनेगरी फिल्मको प्लट बाँधिएको छैन नै, अनियन्त्रित २ घण्टा बढी कथा बहकिएको छ । त्यसमाथि सिनेम्याटोग्राफीले फिल्मको स्तर घटाइदिएको छ ।

‘मिस्टर भर्जिन’को कमजोरी केलाउने हो भने, त्यो पहाड बन्छ ।

फिल्मले तीन युवालाई एक रात ठमेल घुमाएको छ । उनीहरु यौन प्यास मेटाउनका खातिर त्यहाँ भौतारिएका हुन् । तर, अति सामान्य कुरामा पनि निर्देशकले ध्यान दिन नसकेको देख्दा दर्शकलाई कुरीकुरी लाग्छ ।

तीन युवा को हुन्, कसरी उनीहरु एकै ठाउँमा आइपुगे भन्ने कुरा टुंगोमा नपुग्दै उनीहरु यौनप्यास मेटाउन ठमेलमा ओर्लिन्छन् । रातको समय छ । तर, फिल्ममा ठमेलको रात्रीजीवनलाई देखाउन सकिएको छैन । एउटै समय-सीमामा पनि कहिले झलमल्ल उज्यालो देखाइन्छ त कहिले सबै सटर बन्द देखाइन्छ । स्पष्ट के भने, फिल्मको छायांकन गर्ने क्रममा पृष्टभूमी जस्तो छ, त्यस्तै कैद गरिएको छ । आफ्नो स्क्रिप्ट अनुसार त्यसको व्यवस्थापन गर्न सकिएको छैन ।

मूल पात्रलाई कथा अनुसार दौडाइए पनि त्यहाँको परिवेश र परिस्थितीलाई दौडाउन सकिएको छैन । फ्रेमभित्र यस्ता दृश्यहरु कैद भएका छन्, जसले कथालाई प्राकृतिक एवं स्वभाविक बनाउनमा अवरोध पुर्‍याएको छ ।

हार्ड डिक्स, इन्स्टल, कुवाको पानी जस्ता द्विअर्थी संवादबाटै दर्शकलाई मनोरञ्जन दिलाउने प्रयास गरिएपनि त्यस अनुरुप प्रसंगहरु जोड्न सकिएको छैन । जोडिएका प्रसंगहरु एकदमै नाटकिय र हल्काफुल्का छ । फिल्मको कथा, दृश्य, संवाद, पात्र सबै ‘हाउडे’ लाग्न सक्छ ।

फिल्मले ठमेललाई यौनबजारको रुपमा पेश गरेको छ । त्यहाँको मसाज पार्लर, पान पसलदेखि ट्याक्सी चालकसम्म यौनधन्दामा लागेको देखाइन्छ । जबकी ठमेलको रात्रीजीवनलाई जति रोमाञ्चक ढंगले प्रस्तुत गर्न सकिन्थ्यो, त्यसमा एकरत्ति ध्यान दिइएको छैन । यो फिल्मले प्रचार प्रसारमा जति कसरत गर्‍यो, त्यो पि्र-प्रोडक्सनमा खर्चिएको भए यत्ति टिठलाग्दो हुने थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment