Comments Add Comment

खप्तड यात्राः गाई भेटियो, दही भेटिएन !

‘दिदी, त्यता हिलो छ, त्यहाँबाट नजानुहोला, यताबाट आउनुस् ।’

यसो भन्दाभन्दै खुट्टा थोरै भास्सिइ पो हाल्यो । भित्र मोजा पनि भिजेछ । चिसो अनुभव खुट्टाले गर्न थाल्यो । यहाँ पानी र असिना दिनकै पर्नै भएकोले होला भिरालो जमिन घाँसैघास जस्तो देखिए पनि कहाँनेर हिलो छ कहाँ ओभानो नटेकी अन्दाजै गर्न नसकिने । ठाउँ–ठाउँमा भने दबदबे हिलोमा खुट्टा गाडिँदै थियो । बाटोबाहेकको ठाउँलाई बाटो बनाएर हिँड्नुको मस्ती र सास्ती दुवै थियो यो ।

आर्मी क्याम्पको मुनि दायाँतिर बाटोमाथि रावल थरका व्यक्तिको होटल रहेछ । त्यही होटल साहुका छोरी विपना रावल रहिछिन् । भन्दै थिइन् हामीलाई त्यो हिलो बाटोको व्यथा । खप्तड बाबाको आश्रम जाने बाटो नदेखेर अलमल्ल परिरहेका बेलामा भेटिएका थिए दुई बहिनीहरू बाटोमा डोकोसँगै ।

‘समय छ भने पुर्‍याइदिनु न ।’ युवराज नयाँघरे दाइले आग्रह गर्नुभयो यी किशोरीहरूसँग । ठिकै छ, अहिले त्यति काम छैन चार बजेपछि मात्र काम छ । हामी पुर्‍याइदिउँला भनेर दिदीबहिनी खसाकखुसुक गर्न थाले । क्याम्पदेखि दाँयातिरको डाँडोतिर उकाल्दै रावल नानी हामीलाई दबदबे हिलोमा नटेक्न अनि काँडाहरूमा नछुन आग्रह गर्दै पछिपछि आउँदैछिन् । त्रिभुवन चन्द्र वाग्ले पाटनको घाँसमा बस्नुभयो र अरू पनि बसेपछि फोटो खिचाइ माग्नुभयो ।

घाँसे चौर नसकिँदै केही माथि काँडाका ससाना बुट्यानहरू देखा परे । विनिता रावल पनि डोको घरमा राखेर आइपुगिन् हामीसँगै खप्तडबाबाको आश्रममा पुर्‍याउन । बाह्र कक्षाको पढाइ सकेर बसेका रहेछन् यी दिदीबहिनी । मोतीराज बम यी नानीहरूलाई पढाइ नछोड है भन्दैछन् । आफ्नो विरादरीका भएर होला बम अलि बढी नै चाख दिँदैछन् यी छोरीहरूको भविष्यलाई लिएर । हामी पनि फेसबुकमा साथी बनौं है भन्दै छु म विपना र विनितालाई पनि ।

त्यसदेखि माथि पुगेपछि बाटो तेर्साे लाग्यो जंगलभित्र–भित्र भएर । धन्न यी नानीहरू नभेटीएका भए त अलमल्निे पो रहेछौं भन्दै हुनुहुन्छ युवराज नयाँघरे । घना वन, त्यसमा पनि बाटो छरिएको रहेछ ।

बाहिर टाढाबाट धुपीको जंगलजस्तो देखिए पनि भित्र त अन्य जातका रूखले पो भरिएको रहेछ खप्तडका जंगल । हामी तेर्साे बाटो हिँडिरहेछौं । अब केही उकालो आएछ । फोन नेटवर्क टिपेछ क्यारे । हिजोदेखि सम्पर्क भएको थिएन घरमा । फोन आयो यही बेला घरबाट– ‘कता पुगिँदै छ ?’ ‘खप्तडबाबाको आश्रम जाँदै छौं’ म यताबाट जवाफ फर्काउँछु ।

जंगलको बीचमा थोरै उकालो चढ्दै थियौं, उज्यालो देखा पर्‍याे । वरिपरि अलिसम्म परेको ठाउँमा चटक्क परेको कुटी रहेछ । रूखहरू कुटीदेखि अलि परपर भिरालोमा उभिएका थिए । अगाडि ठूलो आँगन, वरिपरि घना जंगले घेरिएको यही रहेछ खप्तडबाबाको साधना स्थल खप्तड आश्रम । साधनाबाट ओतप्रोत भएको यो ठाउँ शान्तिको एउटा उपवन झैं लागिरहयो ।

हामी पुग्दा हरिद्वारस्थित पतञ्जलीबाट आस्था च्यानलको लागि भिडियो तयार गरिदै थियो यस पुण्यभूमिको । हामी आएको भन्दा विपरीत दिशाबाट बाँकी साथीहरू पनि आइपुग्नुभयो । सामूहिक तथा एक्लाएक्लै पनि बाबाको मूर्ति अनि कुटीसँगै आफूलाई कैद गर्‍याैं क्यामेरामा । सेनाले संरक्षण गरेको यस पवित्र तीर्थको दर्शन र परिक्रमा गर्‍याैं ।  केहीबेर सुस्तायौं अनि फर्कियौं खप्तडबाबाको यस कुटीबाट । यहाँबाट फर्किएपछि सहभागी भएका थियौंँ त्रिवेणी धामको माथिपट्टि पाटनको भिरालो चौरमा राखेको पतञ्जलीको योग साधना शिविरमा ।

आजका दिनका घुमन्ते हामीहरू खप्तडकै अरू पाटनहरू र खप्तडका दहहरू घुम्न निस्किएका छौं बिहानको खाना खाएर । अहिले तिनै विनिता र विपनाको होटल छेउको बाटोमा आइपुगेका छौं । सखारै खप्तडलाई आँखामा कैद गर्न हिँडेका प्रोल्लास सिन्धुलीयको ग्रुप भोकले लखतरान हुँदै फर्कदै छन् । जम्काभेट भयो यहीँनेर ।

गाई चराउँदै गरेका एक स्थानीय भेटिए बाटोमा । यो बाटो हुँदै खप्तड दह, खप्तडका पाटनहरू तर्फ जाने दिशातर्फ देखाएर एरो सोझ्याइएको रहेछ । उनलाई सोध्यौँ ‘कति समयमा दह पुग्न सकिन्छ ?’ ‘त्यस्तै आधा घण्टा बीस मिनेटमा दह पुगिन्छ’ उनले जवाफ फर्काए । त्यसपछि नअल्मलिकन हाम्रा पाइलाहरू सोझिए अगाडितिरको बाटोमा ।

अहिलेसम्म त बाटो सम्म नै छ । सजिलोसँग हिँडिरहेका छौं । अब भने पाटन सकिएर जंगलहरू देखिन थाले बाटोको दाँयाबाँया । भेटिए बाटोमै दुई स्थानीय व्यक्तिहरू । उनीहरूबाट जानकारी मिल्यो हामी बाजुरा जिल्लामा हिँडिरहेका रहेछौं ।

बाटोदेखि बायाँ माथितिर केही टहराहरू देखिए । गोठहरू रहेछन् यी । लेकको दही मिठो हुन्छ रे भनेर तल बझाङको चैनपुरमै सुनेका थियौं । ‘मिल्यो भने खानुहोला है दिदी खप्तडमा दही’ । हिजो चैनपुर बजारमा भेटिएका बहिनीहरूले पनि भनेका थिए खप्तडको दहीका बारेमा ।

मैले दहीको मिठासको कुरा हाम्रा यात्रीहरूलाई सुनाएपछि अश्विनी कोइरालाले सोधिहाले अछामीहरूलार्ई । यता बाजुरामा ‘यहाँ दही खान पाइदैन हजुर’ । ‘हाम्रो घरमा त थियो तर उता अछामपट्टि अलि टाढा छ घर । ‘पख्नुस् है म सोधिदिन्छु ?’ एकजना बाटोमाथितिर उक्लिए र गोठघरहरू भएतिर गए । ‘सबै ढोकाहरू बन्द रहेछन् । मानिसहरू कोही भेटिएनन्’ भन्दै फर्किए उनी । उनीहरू त्यतै कतै अलमलिँदै थिए । हामी उनीहरूलाई छोडेर बाटो लाग्यौं ।

खनाल गुरुले निहुरिएर बाटोमा भाँचिएर खसेको हाँगा टिप्नुभयो । केहीबेर हेरेर दायाँबाँया रुखहरूतिर हेर्नुभयो र त्यो हाँगालाई हेर्दै भन्नुभयो, यो लोठ सल्लाको हाँगा हो । यो क्यान्सरको औषधि हो । यहाँ यसको बोट रहेछ जस्तो छ ।

सीधा बाटो सकिएर अब हामी ओरालो झर्दै छौं । कतै ढुङ्गाको सिँढी छ कतै ढुङ्गा छैन । केही व्यवस्थित गरिएको रहेछ बाटो । हामी ओर्लिरहेछौं । हामी हिँडेको दायाँतर्फ भिर र खोँच देखिएको छ । सँगै डाँडामा धुपीहरू उसैैगरी शान्त भएर हामीलाई हेरिरहेका छन् । निकै तलसम्म देखिँदै छन् जंगलहरू । यसले हामी निक्कै माथि रहेछौं भन्ने आभाष हुँदैछ ।

खोँच सकिएर सानो चरन देखियो । गाईहरू चरिरहेका रहेछन् । गाईसँगै फोटो खिचायौँ । लोकराज गुरु भन्दै हुनुहुन्छ ‘विचरा यहाँका गाईहरूको फोटो कसले पो खिच्छ र । अब भने यी अमर हुने भए फोटोमा भए पनि सधैंका लागि । अनि फेसबुकका माध्यमले संसारभरि पुग्ने भए । यी खप्तडका जंगलमा चरिरहेका गाईहरू !’

‘कति तल छ दह ? आइ नै पुग्दैन त ।’ म फुसफुसाउँछु । गुरु बाटो छोडेर जंगलतिर पस्नु भयो । हामी बाटैबाटो जाँदै थियौं । यता आउनु यता भनेर बोलाउनुभयो । के देख्नु भयो भनेर आत्तियौं ? हामी त दह नजिकै पो पुगिसकेका रहेछौंं । योग गुरु रीता र बलदेव मिश्र पनि बाटोबाट बाँयातर्फ दहमा झर्नुभयो आहा भन्दै । फोटो खिच्न थाल्यौं दहलाई सँगै राखेर । खप्तडमा यस्ता दह बाइसवटा छन् रे । तर बाजुरा जिल्लामा रहेको यो एउटा खप्तड दहमा भने हामी पुग्यौं । सेचन गरेँ शिरमा खप्तड दहको पवित्र जल ।

धेरैबेर यहाँ रोकिन हामीसँग समय थिएन । थोरै समयमा धेरै देख्नु थियो हामीलाई । र त फेरि खुट्टा अगाडि पछाडि पार्दै हिँडिरह्यौं । हामी दहको छेउमा लगाएको ढुङ्गाको पर्खालको छेवैछेउ हुँदै पल्लो छेउमा पुग्यौं । त्यहाँ छेउमा पनि पाटन रहेछ । आँखाले पाटनलाई संगालेर बाँयातर्फ उकालो लाग्यौं । थोरै उकालो र थोरै बन कटेपछि हामी विशाल र लामो खप्तडको पाटनहरूमा आइपुगेछौं ।

माथि उक्लेर पाटनलाई टेक्ने वित्तिकै ‘रारा’ लेखेको एरो देखाइएको रहेछ दायाँतर्फ । त्यता जाने गोरेटो बाटोमा ढुङ्गा पनि छापिएको रहेछ । माथि बाक्लै बनहरू पनि देखिदै थियो । तर खप्तडमा रारा के थियो त ? बुझ्न र देख्न भने पाएनौं हामीले । किनकी हामी दायाँतर्फ रहेको रारा नगई सीधै सामुन्ने देखिएको पाटनतिर नै खुट्टा अगाडि बढाइरह्याैं ।

यहाँका पाटनहरूको संख्या थुप्रै हुन् कि ? एउटै ठूलो पाटन हो ? थाहा त पाएनौं । धुपीका त्रिकोण आकारका रूखहरूलाई शिरहरूमा सिँगारेर अलि टाढैसम्म पाटनहरू फैलिएका थियो । कतै पानी जमेका कुवाजस्तो पनि देखिदै थिए ठाउँ–ठाउँमा तलतिर । हामी हिँडिरहेको पाटनहरूदेखि तलतिरको खोंच काटेर दायाँतर्फ देखिएका पाटनमा माथितिर झुरुप्पै गोठ र घरहरू रहेछन् काठका । पाटनको तल–तल गहिरोमा ठाउँठाउँमा गाइगोरुहरू झुरुप्प–झुरुप्प भएर चरिरहेका थिए ।

यहाँ चरिरहेका गाईवस्तुका बथान र गोठहरूको संख्या देखेर हामी एक अर्कालाई भन्दै छौं ‘यहाँ त पक्कै दही खान पाइन्छ ।’ अश्विनीजी र खनाल गुरुले चिच्याएर पारि गोठघर अगाडि आँगनमा देखिएका मानिसहरूले सुन्ने गरेर सोध्नुभयो– ‘यहाँ दही पाइन्छ ?’ पाइँदैन’ उताबाट उत्तर फर्कियो उस्तै गरेर ।

हामी दायाँतिर देखिएको खोँच तर्नु परेन दही खानका लागि । त्यसैले आएकै बायाँतिरको पाटनलाई नछोडी हिँडिरह्यौ ठाउँठाउँमा दबदबे हिलोमा खुट्टा पसाउँदै ।

माथि डाँडामा लस्करै गिद्धहरू हार मिलेर बसेका र केही उड्दै गरेका देखिए । पक्कै यता सिनो हुनुपर्छ, गुरुको आँखाले खोज्दै थिए । मरेका गाईगोरुहरू त्यसै खुल्ला छोडिएका हुँदा रहेछन् पाटनमा र तिनैलाई खान गिद्धको जन्ती लाग्दोरहेछ यहाँ । सिनो अलि तल देखा पर्‍याे । केही गिद्धहरू लुछ्दै रहेछन् ।

नजिकै पुगे हाम्रा पाइतालाहरू र त देखिए पाटनका हरिया घाँसमा चर्दै गरेका वस्तुहरू । ‘गोरुहरू मात्र धेरै रहेछन्, अनि कहाँ खान पाइन्छ त दही’ ती चौपायाहरूका बथानतिर हेर्दै मैले भनेँ ।

‘गाई पनि छ, ऊ हेर्नु न’ अश्विनीजी देखाउँदैछन् वस्तुभाउतिर हात फर्काएर । हामी हिँडिरहेको पाटनदेखि अलि परै पुगेपछि थोरै देव्रेतर्फ मोडिएर उक्लन थाल्यौँ । माथि पुगेपछि यहाँ पनि केही गोठहरू देखिए ।

संस्कृति भूगोलको कारणले पनि बन्छ । सायद यहाँ जाडोले गर्दा होला । लुगा नफुकाली टाउकोमा साबुन लगाएर घर अगाडि बृद्धा नुहाउँदै रहिछन् । टाउको मिच्दै थिइन् । ‘तर पानी कति थोरै लिएर बसेकी छिन् । नुहाउन यति पानीले त पक्कै नपुग्नु पर्ने ।’ मनमा खुलदुली भइरह्यो । ‘पानी दुःख भएर हो कि बृद्धा महिलाले कसरी खेपुन्’ भन्ने लाग्दै थियो । तर, यिनको घरदेखि मुनि खोल्सामा कुलोजस्तो भएर पानी बगिरहेको भने थियो । सायद तातो पानीको जोहो होला नुहाउन यति थोरै । आफ्नै मनभित्रका गुम्फन थिए यी तर सोध्ने धृष्टता भने गरिनँ ।

यहाँ भने पक्कै दही खान पाइन्छ । गोठहरू पनि टन्नै रहेछन् । मानिस पनि भेटिए भन्ने लाग्दै छ ।

‘आमा यहाँ दही खान पाइन्छ ?’ अघिसम्म केवल अश्विनीजीको चासो थियो, जडिबुटी चरेका भंैसीको दहीमा । उनले दहीको यति धेरै वर्णन गरे कि हामीलाई पनि त्यसको भोक बढ्न थाल्यो । तर जुनसुकै पाटन पुगे पनि दही खाने हाम्रो आशा निराशामा परिणत हुन थाल्यो ।

‘गाई त सबै थारा छन् बाबु । दही छैन ।’ अन्तिम पाटनमा पुगेर सोधिसकेपछि एकजना बूढी आमैको जवाफ आयो । दही खान नपाए नि गोठको दर्शन गरौं जस्तो लाग्यो । गोवरहरू लत्पतिएका, खाली टाट्नामा किलाहरू गाडेका आमैको गोठ रित्तै थियो । त्यहाँदेखि माथि पनि गोठघरहरू थिए ।

यतिका वस्तुहरू, गोठहरू अनि मानिस घरमै भेटिँदा पनि दही खान नपाएकोले लेकको दहीको स्वाद चाख्न हिँडेका हामीहरूको रहर तुहिएको थियो । अब भने दहीको मोहभंग गरेर हामी अगाडि बढिरह्यौंं बायाँ मोडिएको बाटोतिर ओर्लँदै । उक्लेनौं अब हामी ती गोठघरहरूमा ।

ती गोठहरूलाई छोडेर ओर्लिएपछि अर्कै पाटन हो कि त्यहीे पाटनको फैलिएको भाग हो टेक्दैछौं । यहाँबाट पनि पाटन निकै ठूलो भागमा फैलिएको देखिँदैछ सबै दिशातिर । हामी यहाँबाट देखिएको पाटनको पुछारलाई केन्द्र बनाएर लम्कँदै छौं आफैँं बाटो कोर्दै ।

‘जति हिँडे पनि हाम्रो बाटो आइपुग्दैन त । अघि दह जाँदाको बाटोभन्दा निकै धेरै हिँडिसक्यौं जस्तो लाग्छ’ म भन्दै छु । यो पाटनको पुछारमा पुगेपछि आर्मी क्याम्प नजिकै पुगिन्छ होला भन्ने लाग्दै छ ।

‘तर हामी कतै गलत बाटोबाट त आएका छैनौं ? हामी हिजो बजाङबाट छिरेको खप्तडको मुख नजिकै पुग्न लाग्यौं कि के हो ?’ गुरु बराल अलमलिन्छन् र भन्दै छन् यी कुराहरू । हामीहरू मुखामुख गर्छांै । हराउँदै छौं कि के हो भन्ने लाग्न थालिसक्यो हामीलाई पनि । हामी कता पुग्यौं ? अब भने डर लाग्दै छ ।

‘पचासवटा पाटन भएको खप्तडमा अहिलेसम्म पनि यहाँका मानिसले खप्तडका सबै पाटन र सबै दहको भ्रमण गर्न सकेका छैनन् रे !’ ‘जहाँ हेर्‍याे उस्तै वन उस्तै पाटन गाइड विना हिँड्यो भने हराइन्छ रे ।’ हिजो हामी बसेको धर्मशालामा कसैले भनेको कुराको सम्झना आयो यतिखेर मलाई ।

अब त गोठहरू पनि नजिक छैनन् वनको मुनिमुनि छौं हामी । पारि फिँजारिएको छ पाटन दायाँबाँया र तलैसम्म फराकिलो भएर । पाटनको दायाँतिर अलि परै गाईगोरुहरू चेरेका हुन् कि जस्तो देखिँदै छ । हामी अलमलमै छौं अझै ।

धन्न वनबाट एक जना वृद्ध काँधमा काठको लामो मुढो बोकेर टुप्लुक्क झुल्के झै ओर्लँदै गरेका देख्यौं । हामी रोकियौं उनलाई कुरेर बस्यौं । सोध्यौं ? ‘आर्मी क्याम्प पुग्न कताबाट जानुपर्छ ?’

‘ल तपाइँहरू कता यता आउनुभएको उतै पो छ त । हाम्रो डर सही रहेछ । हामी सोझिएको पाटनको पुछारमा पुगेर जंगलको बाटो छिरेको भए त हामी कहाँ पुग्थ्यौँ पुग्थ्यौँ ? एक त पाटन उस्तै देखिने अनि जंगल घना उस्तै । कसो हामीलाई खोज्न आयोजकलाई आर्मी नै लगाउनु परेन । मन ढक्क फुल्यो । यी वृद्ध नभेटिएका भए हामी हराउने पो रहेछौं खप्तडको जंगल अनि पाटनहरूमा । भगवानलाई धन्यवाद दियौं । यी दूत पठाइदिएकामा ।

दहीको मोहमा फसेका हामीलाई थाहा भएन, हामी नराम्रोसँग यता हराएका छौँ भन्ने कुरा । यी सिंह थरका बुढा बालाई पनि दही पाइँदैन भनेर साथीहरुले सोधी छाडे । यी बृद्धले खान त होइन चाख्नसम्म दिन सक्ने बताए । तर, अब फेरि फर्केर यिनको घरसम्म पुगेर दही चाख्न समय थिएन हामीसँग । यी बाका छोराछोरी कोही सदरमुकाम कोही राजधानीतिर बसेका रहेछन्, भलाकुसारीबाट थाहा लाग्यो ।

हामीले देखाएको वनतिर हेर्दै उनले बताए । ‘यताबाट पनि पुग्न त पुगिन्छ वनको बाटो तपार्इँहरू झन हराउनुहुन्छ, सक्नुहुन्न । आउनुहोस् म सही बाटो देखाइदिन्छु’ । हामी आएकै बाटोतिर लिएर गए । केही पर पुगेपछि वनमा हिँडिरहने गरेको बाटो रहेछ । त्यो बाटोतिर देखाएर यहीँबाट नछोडी जानु पुग्नुहुन्छ भनेर बताए । धन्यवाद दिएर यिनले देखाएको बाटोबाट हिँड्न थाल्यौं । तर, पनि दुईतर्फी बाटो आयो कि अन्दाजको भरमा हिँड्न बाध्य थियौं । अझै डर र अन्योलमै थियो हाम्रो यात्रा ।

वनको बाटो जति उक्ले पनि आउँदैन त । बाटोको दाँयातिर ठूलो खोँच देखिँदै छ । वनका रूखविरूवा र प्रकृतिसँग रमाउनुभन्दा पनि आफू हराउने हो कि भन्ने पीर अनि पानी पर्ला र असिना आउला भन्ने पीरले पो सताउन थाल्यो अब त । खप्तड दहतिरबाट झन्–झन् माथि उकालो चढ्दै छ कुइरो । पूरै पाटन र जंंगललाई ढाकुँला झैं गर्दै ।

तर, बाटो अझै फेला परेको छैन । अझै अन्योलमै छौं हामी, बाटो सही हो कि होइन भनेर । हामी आएको आर्मी क्याम्प भन्दा त यो पाटन धैरै तल पो रहेछ । हामी निकै उक्लिएर दहतिर नै मुख फर्काएर तेर्साे हिँडेपछि बल्ल पो आइपुग्यौं अघि छुटेको बाटो ।

पाटनहरू एउटै सतहमा छ भन्ने भ्रममा पो रहेछौं हामी । यो नै हामी हराउनुको मूल कारण रहेछ । हामी दह पुग्न निकै ओर्लिएका थियौं र केही उक्लनेबित्तिकै यो पाटन छिरेका थियौं । हामी पुग्नु पर्ने पाटन धेरै माथि रहेछ । खप्तडका पाटनहरू एउटै उचाइमा होइन विविध उचाइमा पो रहेछन् ।

अघि छुटेका टावर र अघि अछामीले ताल्चा लागेका भनेका गोठघरहरू देखिए । टावर चढ्ने मन भए पनि ढिला हुने भएकाले टावर उक्लिएनौँ हामी ।

‘टावर नचढ्ने भए दही खान जाने कि ? मानिसहरू आए होलान् यी गोठघरहरूमा ।’ अझै दहीको चस्काले छोडेको छैन हाम्रा मित्रलाई । अझै प्रस्ताव राख्दै छन् दहीको ।

‘भक्तपुरको जुजु धौ भए नि खुवाउँला है फर्केपछि ।’ जिस्कायौं हामीले । यतिका गोठहरूसँग साक्षात्कार गर्दा पनि दही खान नपाएकोमा अब भने पूर्ण रूपले आशा मरिसकेको छ लेकको दहीप्रति मेरो पनि ।

अत्यासको पलबाट बल्ल विश्राम लियो हाम्रो मनले । सहज महसुस भएछन् साथीहरू । गुन्जन थाल्यो खप्तडको वनमा भाकाहरू हाम्रा मुखहरूबाट ।

पतञ्जलीका हिन्दीभाषी क्यामेराम्यान नेपाली नबुझे पनि गीतको ताल मिलाउन थाले हामीसँगै रमाउँदै । उकालीमा पछि भएको म यहाँ अघि लागेको देखेर होला ‘उकालीमा अघि–अघि ओरालीमा पछि–पछि’ भन्दै मेरो चाललाई लक्षित गर्दै पनि गीत गुनगनाइए ।

जीवनका यस्ता यात्राहरूमा कठिन र अप्ठेरो पर्दा आत्तिन्छ र डराउन थाल्छन् मनहरू । अनि थाहा पाउँदैन मनले मनका भाकाहरू । तर जब यात्रा सहज हुन्छ तब मात्र मन… मन भइदिँदो रहेछ । र त भाका निकालेर गुन्जन थाल्दा रहेछन् मनहरू खप्तडका वनहरू र पाटनहरूलाई समेत लैवरीमा नचाउँदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment