Comments Add Comment

पुस्तक अंशः समृद्धिका लागि योग्यता

हामी हरेकसँग आफूले चाहेका कुराहरू प्राप्त गर्नका लागि केही न केही योग्यताहरू निर्माण गर्नु आवश्यक छ । त्यही योग्यताको सम्पदा खर्चेर नै हामीले चाहेका कुराहरू प्राप्त गर्न सक्छौँ । सबै मानिसहरू आ–आफ्नो कर्म क्षेत्रमा, इच्छाएको क्षेत्रमा सफल हुन चाहन्छन् । जुनसुकै कुरा प्राप्त गर्न पनि त्यसका लागि केही न केही मूल्य त चुक्ता गर्नैपर्छ ।

सफलता पनि व्यक्तिले मूल्यका बदलामा प्राप्तगर्ने वस्तुजस्तै हो । पहिले मूल्य भुक्तानी अनि वस्तुको प्राप्ति । पसलबाट कुनै वस्तु प्राप्त गर्न त्यसको मूल्य चुक्ता गर्नुपर्छ । कुनै सामान पसलबाट सित्तैंमा प्राप्त हुन्छ र ?अवश्य हुँदैन ।

त्यसको निर्धारित मूल्य भुक्तान गरेपछि मात्र त्यो वस्तु हात पर्छ । जति मूल्यवान् वस्तु खरिद गर्न चाहन्छौँ त्यसको मूल्य पनि त्यत्तिकै बढी पर्छ । सफलता पनि जीवनको त्यस्तै बहुमूल्य वस्तु हो । त्यसैले यसलाई पनि त्यत्तिकै चर्को मूल्य भुक्तानी नगरी प्राप्त हुँदैन । तर यसको मूल्य भने रुपैयाँ पैसामा नभएर हामीले प्राप्त गरेका आन्तरिक सम्पदाका आधारमा सुनिश्चित हुन्छ ।

मैले हालसालै काठमाडौँको एउटा कलेजमा विद्यार्थीहरूमाझ आफूले चाहेको कुरा कसरी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा प्रवचन दिने क्रममा विद्यार्थीहरूलाई सोधेको थिएँ– “तपाईंंहरू जीवनमा के बन्न चाहनुहुन्छ ?” निकै जनाले उत्तर दिए आ–आफ्नै किसिमले । कसैले के भने त कसैले के । तर सारमा एउटै कुरा थियो आफूले चाहेको क्षेत्रमा सफल बन्ने र समृद्ध जीवन बाँच्ने ।

मैले हालसालै काठमाडौंको एउटा कलेजमा विद्यार्थीहरूमाझ आफूले चाहेको कुरा कसरी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा प्रवचन दिने क्रममा विद्यार्थीहरूलाई सोधेको थिएँ– ‘तपाईंंहरू जीवनमा के बन्न चाहनुहुन्छ ?” सारमा एउटै कुरा थियो आफूले चाहेको क्षेत्रमा सफल बन्ने र समृद्ध जीवन बाँच्ने

उनीहरूको उत्तरपछि मैले उनीहरूलाई फेरि सोधेँ –“तपाईंंले चाहेको कुरा अहिले नै प्राप्त हुन्छ भन्ने कुराको ग्यारेन्टी भयो भने तपाईंं कति मूल्य तिर्न तयार हुनुहुन्छ ?”

मेरो प्रश्न सुनेपछि सबैले मुखामुख गरे तर यति मूल्य तिर्न तयार छु भनेर कसैले भनेनन् । हामी सफलता, समृद्धि, वैभव, स्वतन्त्रताजस्ता जीवनका लागि मूल्यवान् कुराहरू प्राप्त गर्नका लागि आतुर त हुन्छौँ तर न हामी त्यसको महत्वलाई आत्मसात् गर्न तयार हुन्छौँ न त त्यसको मूल्य भुक्तान गर्न तयार हुन्छौँ ।

प्रसिद्ध प्रेरक वक्ता ब्रायन टे«सी भन्छन्– “सफलताको मूल्यका बारेमा म दुई कुरा जान्दछु, प्रथम हो, तपाईंंले आफूले चाहेको कुरा पाउनका लागि त्यसको पूरा मूल्य भुक्तान गर्नुपर्नेछ । बाली भित्र्याउनका लागि त्यसलाई रोप्नुपर्छ, लामो समयसम्म स्याहार, हेरविचार गर्नुपर्छ ।

दोस्रो, सफलताका लागि आवश्यक पर्ने मूल्य पहिले नै पूर्ण रूपमा चुक्ता गरेको हुनुपर्छ । सफलता रेस्टुराँमा बसेर डिनरको आनन्द लिइसकेपछि बिल चुक्ता गरेजस्तो होइन । तपाईंं सफलता चाहनुहुन्छ भने हरबखत त्यसको मूल्य पहिले नै चुक्ता गर्न तयार हुनुपर्छ । मूल्य भुक्तान भइसकेका दिन सफलता तपाईंको अगाडि खडा हुनेछ ।” (ब्रायन ट्रेसी, अधिकतम सफलता, पृ. १६०–१६१)

हामी सफलता चाहन्छौँ भने जे कुरामा सफल हुन चाहेको हो त्यसका लागि आवश्यक पर्ने मूल्य पहिले नै भुक्तान गर्नुपर्छ । चुक्ता गर्नका लागि तपाईंंसँग त्यो प्राप्त गर्ने वा खरिद गर्न सक्ने सामथ्र्य आवश्यक पर्छ । होटलमा भाँडा माझिरहेको मजदूरले काठमाडौँको मुटुमा रहेको सपिङ मल किन्छु भनेर मात्र हुँदैन । त्यसको मूल्य आँकलन गरेर भुक्तान गर्ने सामथ्र्य पनि तयार पार्दै जानुपर्छ ।

हामी सफल हुन त चाहन्छौँ तर के त्यसका लागि आवश्यक मूल्य भुक्तानी गर्ने सामथ्र्य बनाएका छौँ ? सित्तैंमा त चाहेको कुरा प्राप्त गर्न सकिँदैन । होटल वा रेस्टुराँमा गएर खाना अर्डर गर्‍याे, खायो अनि मात्र त्यसको मूल्य भुक्तान गरेजस्तो होइन सफलता । सफलताले अग्रिम भुक्तानीको माग गर्दछ । हामीले सफल भएको ठानेका मानिसहरूत् यहाँसम्म कसरी पुगेका रहेछन् भनेर उनीहरूको जीवनी अध्ययन गर्‍याे भने यो रहस्य बुझ्न सकिन्छ । निकै धैरै दुःख, कष्ट, हन्डर र असफलता एवं धैर्यको मूल्य चुक्ता गरेर नै उनीहरू सफलताको शिखरमा पुगेका देखिन्छन् । तिनै दुःख, कष्ट, असफलता र हन्डर नै हुन् सफलताको भुक्तानी ।

एउटा खेलाडीले ओलम्पिकको स्वर्ण पदक जित्न दशकौँ मिहिनेत गर्छ, हजारौँ खेलमा भाग लिन्छ, एउटा व्यापारी हजारौँ पटक हन्डर खाएर सिक्छ अनि पैसा कमाउने कला जान्दछ र धनी बन्छ, एउटा पेशाकर्मी वर्षौं अनवरत मिहिनेत गर्छ, आफूलाई तिखार्छ अनि मात्र पेशामा चर्चित बन्छ र राम्रो कमाइ गर्न सफल हुन्छ । सफलताका भुक्तानीहरू यस्तै कडा मिहिनेत, धैर्य र निरन्तरता हुन् । यी मूल्य भुक्तानी नगरी कसैले पनि सफलताको शिखर चुमेको हुँदैन ।

(समृद्धिका लागि योग्यता पुस्तकको अंश । अनुसन्धानमूलक यो पुस्तक दियालो प्रकाशनले बजारमा ल्याएको हो । पुस्तकको मूल्य तीन सय रुपैयाँ छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment