Comments Add Comment

मुख्य सचिवसँग नेकपा बेखुस, हटाउने चलखेल

३ भदौ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा फरक फरक विषयका समाचारले प्रमुख स्थान पाएका छन् । नेपाल सप्ताहिकमा कर्मचारीतन्त्रको र हिमाल साप्ताहिकमा बलात्कारको विषयलाई चिरफारको प्रयास गरिएको छ ।

नेपाल साप्ताहिकमा छापिएको समाचारअनुसार मुख्य सचिव हटाउन चलखेल सुरु भएको छ । प्रधानमन्त्रीको निर्देशन र मन्त्रिपरिषदका निर्णयसमेत कार्यान्वयन नभएको भन्दै मुख्य सचिव लोकदर्शन रेग्मीलाई हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाव बढेको समाचारमा उल्लेख छ ।

नेपाल साप्ताहिक लेख्छ-मुख्य सचिव रेग्मीसँग बेखुस नेकपा नेताहरुले मन्त्रिपरिषद बैठकका एजेण्डासमेत विपक्षी दलका नेता देउवाकहाँ पुर्‍याएको गम्भीर आरोप समेत लगाएका छन् । निर्णय नहुँदै विपक्षी विरोधका लागि तयार हुने स्थिति बनेको एक मन्त्री दाबी गर्छन् । अर्थ र गृहसचिव सम्हालिसकेको अनुभवका आधारमा उनले ती मन्त्रालय सम्बन्धी प्रस्ताव र निर्णय प्रभावित पार्न खोजेको अर्को आरोप छ ।

कान्तिपुर दैनिकले तीन तहका सरकार विवादको समाचारलाई पहिलो प्राथमिकताका साथ प्रकाशित गरेको छ । ‘खोइ खिचातानी मिलाउने निकाय ?’ शीर्षकको समाचारमा केन्द्र, प्रदेश र स्थानीय तहबीच राजस्व लगायतका विषयमा विवाद सुरु भइसके पनि समाधानका लागि संविधानले तोकेका संरचनालाई सरकारले बेवास्ता गर्दै संविधानले परिकल्पना गरेका संरचनाबाहिर गएर सचिवस्तरीय कार्यदल वा समिति बनाउन थालेको उल्लेख छ ।

नागरिक दैनिकमा ‘अब्बल स्थानीय सरकार’ शीर्षकको प्रमुख समाचार छ । प्रदेश व्यूरो बाईलाइनमा छापिएको यो समाचारमा केही नगरपालिकाले शिक्षा, सामाजिक सुरक्षा, खानेपानी, सडक, विद्युत, कृषिलगायत क्षेत्रमा गरेको सुधारका कामबाट नागरिक आशावादी देखिएको उल्लेख छ ।

अन्नपूर्ण दैनिकले प्रदेश ५ का कतिपय जनप्रतिनिधिहरु डोजरको समेत मालिक रहेको र उनीहरुले आफ्नो क्षेत्रमा त्यही डोजरले सडक खन्दै मुनाफा कमाइरहेको विषयलाई प्रमुख समाचारको रुपमा छापेको छ ।

गोरखापत्र दैनिकले प्रदेश २ मा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनलाई प्रमुख प्राथमिकताका साथ छापेको छ । प्रधानमन्त्री ओलीले आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने लगायतका भनाइ राखेका थिए ।

गोरखापत्रमै बहुप्रतिक्षित काठमाडौं-केरुङ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन अर्थात प्रि फिजिबिलिटी स्टडी तथा रक्सौल-काठमाडौं रेलमार्गको फिल्ड वर्क कार्य सम्पन्न भएको एङ्कर समाचार छ ।

नेपाल समाचारपत्र दैनिकले राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारलाई समर्थन गरे पनि उसको भूमिका न सत्तापक्ष न प्रतिपक्षको अवस्थामा देखिएको समाचारलाई प्रमुख बनाएर छापेको छ ।

हेर्नुहोस् आजका पत्रिकाका फ्रन्ट पेज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment