Comments Add Comment

न्युयोर्कमा नेपाली चेलीको साहसः प्राशाको जिजीविषा, दीपकको प्रेम !

३ भदौ, न्युयोर्क । ३० वर्षीया प्राशा तुलाधारलाई हप्ताको एक दिन आफूले खाने औषधि छुट्याएर राख्न भ्याइनभ्याइ हुन्छ । एक हप्ताभर खानुपर्ने औषधि छुट्टयाउन उनलाई उनका श्रीमान दीपक महर्जन र आमा शकुन्तला तुलाधरले सघाइरहेका हुन्छन् ।

केही हप्ताअघिको एक शनिबार न्युयोर्क शहरको क्विन्समा बसोबार गरिरहेकी प्राशा यही काममा व्यस्त थिइन् ।

माइनस २.७५ को पावरवाला चश्मा लगाएकी प्रशा ती औषधिहरु हरेक दिन सेवन गर्छिन् । दिनमा २८ देखि ३२ चक्की औषधिहरु उनले खानुपर्ने हुन्छ । कुनैबेला दिनमा ४२ चक्कीसम्म लिएकी प्राशालाई त्यही चक्कीकै कारण जीवन जीउन सहज भएको छ ।

ती औषधिकै कारण उनका दुबै फोक्सोले राम्ररी काम गरिरहेका छन् भने उनको शरीरले पनि तागत पाइरहेको छ ।

प्राशाको दुबै फोक्सो उनको शरीरका लागि नयाँ हो, किनभने उनले ती फोक्सोहरु उनले अरु कसैबाट पाएकी हुन् ।

नयाँ फोक्सोको साथ नयाँ जीवन पाएकी यी नेपाली चेलीले अहिले आफ्नो जीवन नै परोपकारी कार्यमा सुम्पिएकी छिन् । न्युयोर्क राज्यमा अंग प्रत्यारोपणसम्बन्धी कुनै समाचार आयो भने त्यहाँ प्राशाको नाम आजकल कहिल्यै छुट्दैन ।

प्राशाको फोक्सो प्रत्यारोपणको संघर्ष, जीवनमरणको दोसाँधका बीच छोरी पाउन गरेको अर्काे संघर्ष र अहिले आएर न्युयोर्क राज्यको संसदमा गएर त्यहाँका सांसदहरुलाई आफ्नो कथा सुनाएको प्रशंग सुन्दा सबै आश्चर्यचकित पर्छन् ।

यिनै नेपाली चेलीको कथा न्युयोर्क शहरबाट सुनौं-

न्युयोर्क र रोगसँग भेट

काठमाडौं भुरुङखेल निवासी पूर्वबक्सिङ खेलाडी प्रकाश तुलाधरका तीन छोरीमध्ये जेठी छोरी हुन् प्राशा । सिद्धार्थ वनस्थलीबाट १० कक्षा पास गरेकी प्राशा सन् २००६ जनवरीमा पढ्नका लागि न्युयोर्क आएकी हुन् ।

सन् २०११ तिरको कुरा हो, उनी त्यतिखेर न्युयोर्क युनिभर्सिटी टेन्डम स्कूल अफ इन्जिनियरिङमा अध्यनरत थिइन् । त्यतिखेर उनलाई स्क्लेरोडर्मा नामक बिमारी देखियो ।

सामान्य भाषामा भन्नुपर्दा यो एक अति दुर्लभ रोग हो जसले छाला, त्यस्तै हड्डी र अन्य अंङ्गलाई जोड्ने तन्तुलाई कडा बनाउँछ । ‘त्यतिखेर म दिनमै १० वटा औषधि खाइरहेको थिएँ,’ उनले भनिन्, ‘डाक्टरहरुले तिमी बिरामी छौं ‘भन्दा पनि म मान्न तयार थिइनँ, किनभने म स्वस्थ नै महसुश गरिरहेकी थिएँ ।’

बिस्तारै प्राशाले आफैं इन्टरनेटमार्फत यो रोगबारे जान्न थालिन् । यो रोगका कारण कति मानिसहरुको अङ्गले काम गर्न छाडेको थाहा पाएपछि उनी किनै डराइन् । ‘डाक्टरहरुले मलाई केमोथेरापी गर्न र ‘एग पि्रज’ गर्न सल्लाह दिए,’ उनले भनिन्, ‘तर मेरो स्वास्थ्य बिमाले त्यो सबै कभर गर्दैनथ्यो र म त्यो महंगो उपचार आफैं गर्न पनि सक्दिनथेँ ।’

एग फ्रिज भनेको महिलाको डिम्बलाई मेसिनको सहायताले सुरक्षित राख्नु हो, जसलाई भविश्यमा प्रयोग गरेर बच्चा जन्माइन्छ । डाक्टरले प्राशा कहिल्यै पनि आमा बन्न नसक्ने बताएपछि उनी झन् हतोत्साही भइन् ।

दीपकसँग भेट

नयाँ देश, नयाँ परिवेशमा आफूलाई ढाल्न खोज्दै गर्दा प्राशामाथि यति ठूलो बज्रपात परिरहँदा उनले सहारा पाइन्-दीपक महर्जनबाट । त्यतिखेर दुबै न्युयोर्ककै लग्वार्डिया कम्युनियटी कलेजमा पढिरेहका थिए । त्यहीँ उनीहरुबीच प्रेम बस्यो ।
प्राशाले दीपकलाई शुरुमै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराइन् । त्यतिखेर दीपकले प्रशालाई भने- ‘म तिमी खुशी भएको हेर्न चाहन्छु ।’

‘दीपकले मेरो जीवन परिवर्तन गरे,’ प्राशा भन्छिन्, ‘म फेरि खुशी हुन थालें ।’

सन् २०१३ अपि्रलमा उनीहरुले आफ्नो प्रेमलाई विवाहमा परिणत गरे । प्राशाको जीवनमा खुशी तब थपियो, जब उनी गर्भवती भइन् । ‘डक्टरहरुले म प्रिग्नेन्ट हुन सक्दिनँ भनेका थिए,’ प्राशा भन्छिन्- ‘तर भगवानले मेरो इच्छा पूरा गरे ।’

बच्चा पाउन संघर्ष

प्रशा गर्भवती हुँदा पनि आफ्नो रोगसँग लडिरहेकी थिइ्न् । डाक्टरहरुले प्राशाले बच्चा जन्माउन खोज्दा दुबैको ज्यान खतरामा हुने भएकाले गर्भपतन गर्न सुझाव दिइरहेका थिए । ‘मलाई खै किन हो, लागिरहेको थियो कि यो नै मेरो बच्चा पाउने पहिलो र अन्तिम अवसर हो,’ प्रशाले भनिन्, ‘म जसरी पनि बच्चा जन्माउन लागिपरेकी थिएँ ।’

सात महिनाकी गर्भवती भएपछि प्रशाको स्वास्थ्यमा थप समस्या देखियो र बच्चालाई ‘सी सेक्सन’ गरेर जन्माउनुपर्ने भनियो । तर, प्राशाले मानिनन् ।

त्यसपछि उनलाई रोगसँग लड्न थप कडा औषघि दिइयो र सास फेर्नका लागि अक्सिजन सिलिण्डर दिइयो । अन्ततः ३६ हप्ताको गर्भधारणपछि उनले छोरी जोलिनलाई जन्म दिइन्, त्यो पनि विना अप्रेशन । ‘साँच्चै भन्ने हो भने त्यतिखेर मलाई भगवानले् निकै माया गरेको महसुस भयो,’ उनले भनिन् ।

दुःखका दिन सकिएनन्

छोरी पाएको खुशी २४ घण्टा पनि भएको थिएन, प्राशाको दुबै फोक्सोले काम गर्न छाड्यो । डाक्टरहरुले उनले नयाँ फोक्सो प्रत्यारोपण नगरे उनी २ वर्षदेखि ५ वर्ष मात्र बाँच्न पाउने जानकारी गराए ।

प्राशा हिम्मत हार्नेखालकी महिला थिइनन् । अंग प्रत्यारोपण गर्न कसरी सकिन्छ र न्युयोर्क राज्यमा के गर्नुपर्छ ? उनी आफूले पनि रिसर्च गर्न थालिन् ।

अंग प्रत्यारोपणसम्बन्धी काम गर्ने एक गैरसरकारी संस्था, लिभ अन न्युयोर्कका अनुसार न्युयोर्क राज्य, अङ्ग प्रत्यारोपणका लागि नाम दर्ता गराउने लिस्टमा अमेरिकी राज्यहरुमा अन्तिम स्थानमा रहेछ । त्यसैले यहाँ प्रत्यारोपणका लागि अंग पाउनै समस्या थियो ।

प्रशाको नाम अङ्ग प्रत्यारोपणका लागि लिस्टमा राख्न पनि समस्या भएको थियो । किनभने, डोनर पाइहाले पनि त्यो प्रत्यारोपण सफल हुने सम्भावना निकै कम थियो ।

त्यसैले, उनको नाम तत्कालै लिस्टमा चढेन । ‘एक दिन डाक्टरसँग भेट्ने क्रममा मेरी छोरी जोलिनले तोतेबोलीमै डाक्टरसँग भनिन्, ‘मेरो मम्मीलाई नयाँ फोक्सो चाहिएको छ, पिल्ज हेल्प गर्नुस् ।’

मैले पनि डाक्टरलाई विश्वास दिलाउन नयाँ फोक्सोका लागि आफ्नो शरीरलाई एक्सरसाइज गरेर राम्रो हेरविचार गर्ने बताएँ ।
‘अन्ततः मेरो नाम पनि लिस्टमा चढ्यो,’ प्राशाले भनिन्, ‘त्यो दिन सन् २०१४ डिसेम्बर २२ तारिख थियो, जुन मेरा लागि क्रिसमस गिफ्ट बनेर आयो ।’

समुदायको साथ

फोक्सो प्रत्यारोपणका लागि लिस्टमा नाम त चढ्यो, तर उनलाई मिल्ने फोक्सो पाउन गाह्रो थियो । त्यसमाथि दिनका दिन उनको स्वास्थ्य अवस्था बिग्रँदो थियो । उनका हातले राम्ररी काम गरिरहेका थिएनन् । सदैव अक्सिजन सिलिन्डरको माध्यमबाट मात्र उनले सास फेरिरहेकी थिइन् ।

पुरै परिवार प्राशाको उपचारका लागि दौडधुप गरिरहेको थियो । न्युयोर्क जस्तो महंगो शहरमा उनको परिवारलाई आर्थिकरुपमा निकै गाह्रो भइरहेको थियो ।

त्यहीबेला नेपाली समुदाय पनि उनलाई मद्दत गर्न अगाडि बढे । उनलाई आर्थिक सहयोग गर्न अनलाइन अकाउन्टहरु खोलिए । यसबीचमा न्युयोर्कमा रहेका पत्रकार विजय पौडेलले प्रशाका लागि एक अभियान चलाए । ‘म प्राशालाई चिन्दिनथेँ तर उनले फेसबुकमा लेखेका कुराहरु निरन्तर फलो गरिरहेको थिएँ,’ पौडेल भन्छन्- ‘प्राशाको साहस देखेरै मैले उनको सहयोगका लागि आहृवान गरेँ ।’

विदेशमा बस्दा आफ्नै समुदायका मानिसहरु एकआपसमा नमिलिरहेको समयमा प्राशाका लागि पत्रकार पौडेलको अभियामा धेरैले सहयोगीे हात अघि बढाए । उनको अभियानबाट मात्रै २४ लाखभन्दा बढी रुपैयाँ सहयोग संकलन भयो ।

अन्ततः त्यो दिन आयो

अरु राज्यमा १ देखि २ वर्षको समयभित्र अङ्ग प्रत्यारोपणका लागि अङ्ग पाउन सकिन्छ भने न्युयोर्कमा ३ देखि ५ वर्ष लाग्छ । प्रशाको दृढ इच्छाशक्तिकै कारणले होला, सायद उनले लिस्टमा चढेको डेढ वर्ष नपुग्दै उनलाई मिल्ने फोक्सोको डोनर पाइन् ।

सन् २०१६ फेब्रुअरी ९ तारिखका दिन म्यानहृयाटनको कोलम्बिया युनिभर्सिटी अरभि मेडिकल सेन्टरमा उनको फोक्सो प्रत्यारोपण भयो ।

फेब्रुअरी १४ तारिखका दिन उनका आँखा खुले । र, उनले नयाँ जीवन पाइन् । ‘त्यो दिनको खुशी शब्दमा पनि वयान गर्न सक्दिनँ’ प्राशाले भन्छिन्, ‘शायद चमत्कार यसैलाई भन्छन् होला ।’

अबको बाटो

नयाँ जीवन पाएकी प्राशाको बाँकी जीवन अहिले समाज सेवामा बितिरहेको छ । एक गैरसरकारी संस्थामा इन्टर्नशीप गरिरहेकी उनी हरेक हप्ता सेमिनारहरु र अस्पतालमा गएर धेरै मानिसहरुलाई आफ्नो कथा सुनाइरहेकी हुन्छिन् ।

गत मे महिनामा उनी न्युयोर्क राज्यका सांसदरुलाई प्रत्यक्ष भेटेर अङ्ग प्रत्यारोपणसम्बन्धी केही कानुन बनाउनका लागि दबाव दिन गएकी थिइन् । ‘मेरो कथाले यदि केही परिवर्तन आउंँछ भने म सधैं आफ्नो कथा सुनाउन तयार छु,’ उनले भनिन् ।

आफूले नयाँ फोक्सो पाएको एक वर्षपछि आफूलाई फोक्सो प्रदान गर्ने परिवारलाई प्राशाले चिठी लेखेकी थिइन् । उनको फोक्सो एक ३३ वर्षीया महिलाको थियो, तर त्यसभन्दा बढी उनलाई कुनै जानकारी छैन । यहाँको कानुनअनुसार यस्तो जानकारी अस्पतालले उनलाई दिन मिल्दैन ।

आफ्नी छोरी जोलिनलाई काखमा लिँदै प्राशाले भनिन्, ‘म उनको परिवारप्रति कृतज्ञ छु, नत्र म शायदै यसरी जोलिनसँग खेल्न पाउँथे होला । ‘

प्राशाले जिन्दगीभर औषधि भने सेवन गरिरहनुपर्नेछ । सधैं आफ्नो कथा सुनाएपछि प्राशा सबैलाई एउटा कुरा भन्न छुटाउँदिनन्-

‘कृपया आफ्ना अंङ्गहरु दान गर्नुहोस्, यसले धेरैको जीवन बचाउँछ ।’

र, प्राशाको संघर्षबारे कुरा गरिरहँदा उनका पति दीपक महर्जनलाई पनि बिर्सन मिल्दैन, जसले निश्वार्थ एवं महान प्रेमीको पहिचान बनाएका छन्, बिरामी प्राशालाई दरिलो साथ र भरोसा दिएर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment