Comments Add Comment

क्रिकेट प्रशिक्षक भन्छन् : एसिया कप छनोटमा नेपाल छ भन्ने डर अरुलाई पनि हुनेछ

३ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटको तयारीका लागि श्रीलंका जानुअघि नेपाली राष्ट्रिय टोलीले आइतबार कीर्तिपुर मैदानमा अन्तिम अभ्यास गरेको छ ।

मलेसियामा २९ अगस्टदेखि ६ सेप्टेम्बरसम्म हुने छनोट प्रतियोगिताका१५ सदस्यीय टोली छानिएको छ ।

टोलीमा अलराउण्डर सागर पुनसँगै मध्यक्रमका ब्याट्सम्यान बिनोद भण्डारी पनि फर्किएका छन् । सोमबार अभ्यास खेलका लागि टोली श्रीलंका जाँदै छ । जहाँ नेपालले अगस्ट २२ मा श्रीलंकाको आर्मी क्रिकेट टिम, अगस्ट २४ मा ब्लुमफिल्ड टिम र अगस्ट २६ मा कोल्ट्स टिमसँग अभ्यास खेल खेल्नेछ ।

नेपाली टोली श्रीलंकाबाटै २७ अगस्टमा मलेसिया जाने छ । छनोट प्रतियोगितामा नेपालसँगै हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया रहेका छन् । जसबाट शीर्ष स्थानमा रहने एक देश एसिया कपका लागि छानिने छ ।

नेपालमा अभ्यासको अन्तिम दिन खेलाडीहरुसँगै व्यस्त रहेका प्रशिक्षक जगत टमाटासँग छनोट प्रतियोगिताको तयारी र योजनामा केन्द्रित रहेर गरेको कुराकानीः

सागर पुन टिममा फर्किएका छन् । यसले ओपनिङमा केही परिवर्तन हुन सक्छ ?

त्यहीँ सुवास खेलिरहेका छन् । अनिल पनि छन् । ज्ञानेन्द्रले राम्रै गरेका छन् । हेरौं कन्डिसन कस्तो हुन्छ ।

सबैभन्दा ठूलो टिमको सन्तुलन हो । को विपक्षीसँग कसरी खेल्ने भन्ने रणनीति त बनाउनै पर्छ । सागर ओपनिङमै आउँछन् भन्ने छैन । अवस्था हेरेर अघि बढ्ने छौं ।

नेदरल्याण्डससँगको एकदिवसीयमा शरद भेषावकर घाइते भएर टिममा छैनन् । उनमा भर गर्न मिल्ने ठाउँ धेरै पाइन्थ्यो । अब उनको रित्तता कसले पुरा गर्ला ?

शरद घाइते भएर टिममा असर त गर्छ नै । तर, उनी नभएको अवस्थामा अरु खेलाडीमा विश्वास गर्नुपर्छ । भएका खेलाडीमा राम्रो छानेर नै अघि बढ्ने् त हो ।

अहिले टिममा राखेका खेलाडी पनि उत्कृष्ट नै हुन् । हामीले उनीहरुमाथि विश्वास राखेका छौं । उनीहरुले पनि त्यो विश्वासलाई मर्न दिन भएन । यही कुराले नै टिम अगाडि बढ्ने हो । उनीहरु राम्रो गर्न सक्छन् भन्नेमा म विश्वस्त छु ।

नेपालको बलिङ डिपार्टमेन्ट बलियो नै छ तर, ब्याटिङमा राम्रो स्कोर बन्न सकिरहेको हुँदैन

अँ कस्तो भने … यसलाई म कमजोर भएको, संघर्ष नै गरिरहेको त मान्दिन । केटाहरुले जस्तो खेल्नुपर्ने हो, बेला बेला त्यस्तो खेलेका चाहीँ छैनन् । हामीले नेदरल्याण्ड्समा एकदिवसीय खेलेर आयौं । त्यहाँ राम्रै भएको हो । त्यहाँको अवस्था भिन्न थियो ।

मलेसियामा त्यो भन्दा भिन्न अवस्था नै हुन्छ । पिच बुझेर अवस्थाअनुसार खेल्नुपर्छ । स्पीन पिचमा हामीलाई २ सय २० रन नै पर्याप्त हुन्छ तर, फास्ट पिच छ भने त्यतिले पुग्दैन । २ सय ७० जति बनाउनुपर्छ । यसका लागि माथिल्लो क्रमका ब्याट्सम्यानले जिम्मेवारी लिएर खेल्नुपर्छ भन्ने लाग्छ ।

प्रतियोगिता सुरु हुन अझै केही समय बाँकी छ । यो कुरामा सुधार गर्न पाए भन्ने केही लागिरहेको छ ?

हामी तयारीका लागि श्रीलंका जाँदैछौं । त्यहाँ तीन खेल खेल्छौं । कहाँ कस्तो सेटअप गर्ने भन्ने त्यही खेलको आधारमा तय गछौं । ब्याटिङको ब्यालेन्स के हो ? कसको ठाउँमा कसलाई राख्ने भन्ने सबै कुरा त्यहाँ विचार गर्छौं ।

अहिलेसम्मको अभ्यास हेर्दा सागर पुन र विनोद भण्डारीको अवस्था कस्तो पाउनुभएको छ ? उनीहरुको स्थान ब्याटिङ अर्डरमा कहाँ होला ?

भनि हालेेँ अवस्था हेरेर निर्णय लिन्छौं । तर, मध्यक्रममा नै हुन्छ जस्तो लाग्छ । त्यही हिसाबले सोचिरहेका छौँ । सागर र बिनोद दुबैले मेहनत गरिरहेका छन् । उनीहरु क्षमता भएका खेलाडी हुन् । मध्यक्रममै खेलाउने भए पनि अवस्था हेरेर निर्णय लिने हो । हामी खेल्ने त ११ जना नै हो । १५ जना नै खेलाउन त मिल्दैन यसैले भनेको कि अवस्था अनुसार अघि बढ्ने छौँ ।

अन्य ब्याटिङ अर्डरमा केही परिवर्तन सोच्नुभएको छ ?

धेरै परिवर्तन राम्रो हुँदैन । हामीले ब्याटिङमा त्यस्तो परिवर्तन गर्ने सोचेका छैनौं । धेरै तलमाथि गर्दा खेलमा असर पर्छ । टिमलाई जरुरत के हो, त्यही बुझेर अघि बढ्ने हो ।

शक्ति गौचनको स्थान कसले पूरा गर्ला त ?

पिचअनुसार निर्णय लिन्छौं । दुई स्पिनर खेलाउने कि तीन खेलाउने कि, फास्ट बलर कति खेलाउने, मिडियम पेस कति खेलाउने सबै कुराको निर्णय खेलको अवस्था र पिच हेरेपछि थाहा हुन्छ । मलेसियाको पिच बुझेको छु तर, केही नयाँ पिच पनि छ । हेरौं, सम्मानजनक स्कोर बनाउन सक्छौं होला ।

भारतीय प्रशिक्षक अपूर्व सुबोधभाई देसाई आएपछि ब्याटिङमा केही परिवर्तन भएको छ ?

उहाँ आउनुभएको धेरै दिन भएको छैन । विशेष त हामीले बुझेको आइडियाहरु दिने नै हो । मानसिक रुपमा र ट्याकटिसमा फोकस गर्ने हो । त्यो सबै कुरामा काम भएको छ । श्रीलंका हुने खेलपछि पनि केही सुधार हुने नै छ ।

नेपालले एकदिवसीय मान्यता त पाएका छ तर, चाहेर पनि भारत, पाकिस्तान जस्ता देशसँग खेल्न पाइँदैन । एसिया कपले त्यो मौका दिन्छ ।
हङकङ, यूएईसहितका टिमलाई हराएर एसिया कपमा छनोट हुन कत्तिको चुनौतीपूर्ण छ ?

अवश्य पनि चुनौती छ । सबै टिमले मेहनत गरिरहेका छन् । अरु टिमलाई जति डर हुन्छ, हामीलाई पनि उस्तै हो । छनोट हुन्छौं भन्ने सोचेर राम्रो क्रिकेट खेल्नुपर्छ ।

यो पनि पढ्नुहोस,

शक्तिसँगै उनको पार्लेजी बिस्कुट मिस गरिरहेको छु : सोमपाल कामी

‘भारतीय र नेपाली क्रिकेटरको भिन्नता अवसर मात्रै हो’

मलेसियन पिच बुझेको छु, त्यसले फाइदा हुन्छ : सागर पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment