Comments Add Comment

मेयर भन्छिन्- टसल गर्दिनँ, उपमेयर भन्छिन्- बैठकमा आउँदिनँ

४ भदौ, चितवन । गत विहीबार भरतपुर महानगरपालिकाको समीक्षा गोष्ठीमा उपमेयरसहित कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरु उपस्थित नभएपछि मेयर रेनु दाहाल र उपमेयर पावर्ती शाहवीच शीतयुद्ध चलेको चर्चा छताछुल्ल भयो ।

उपमेयर पार्वती शाहले आफूलाई रेनुले कार्यवाहक नदिएको र पेलेर जाने खोजेको आरोप लगाइन् । गुनासाका पोका फुकाउँदै उपमेयर शाह विहीबार आफैंले निर्णय गरेको समीक्षा गोष्ठीमा सहभागी भइनन् । उपमेयर आफू त आइनन् नै, उनले कांग्रेसनिकट वडाध्यक्षहरुलाई पनि नजान उर्दी जारी गरेको चर्चा चल्यो ।

सतहमा हेर्दा मेयर दाहाल र उपमेयर शाहका वीचमा ठूलो समस्या देखिँदैन । तर, समयमै यसको व्यवस्थापन नहुँदा भोलि यहीँबाट धाँजा फाट्ने जाने संकेतहरु देखिइसकेका छन् ।

 मेयर दाहालले भरतपुर महानगरपालिकामा देखिएको विवाद भाद्र ७ गतेको बैठकअघि नै मिलाउने दावी गरिन् ।

तर, कांग्रेसकै मतबाट विजयी बनेको हुनाले कांग्रेस वा उसका सरोकारहरुलाई उपेक्षा गरेर जाने अवस्था न त मेयरसँग छ, न त आफैंले मरी मेटेर जिताएको मेयरका विरुद्ध आन्दोलनमा जान वा असन्तुष्टि पोख्दै हिँडेर सुख पाउने अवस्थामा कांग्रेस र कांग्रेसबाट जितेका जनप्रतिनिधिहरुलाई छ ।

केन्द्रीय राजनीतिको प्रभाव यहाँका पार्टीहरु वा जनप्रतिनिधिलाई नपर्ने भन्ने कुरा त भएन । तर, भरतपुर महानगरको सन्दर्भमा मेयर, उपमेयर र वडाध्यक्षहरु अझै एकअर्काको नैतिक बन्धनमा बाँधिएकै छन् ।

भरतपुर महानगरपालिकामा देखिएको पदाधिकारीहरुको विवादका विषयमा अनलाइनखबरसँग कुरा गर्दै मेयर दाहालले भाद्र ७ गतेको नियमित कार्यपालिकाको बैठकअघि नै आवश्यक छलफल गरेर असमझदारीलाई मिलाउने दावी गरिन् ।

तर, उपमेयर पार्वती शाहले भने मेयरको पारा यस्तै रहे आफू ७ गतेको बैठकमा पनि नआउने अनलाइनखबरलाई बताइन् ।

मेयरले वेवास्ता गर्नुभयो : पार्वती शाह

महानगरको पछिल्लो विवादका विषयमा उपमेयर पार्वती शाहले केन्द्रीय राजनीतिको प्रभाव नपरेको दाबी गरिन् । तर, उनले मेयरले महानगरका गम्भीर विषयहरुमा समेत छलफल नगर्ने र वेवास्ता गर्ने गरेको गुनासो छ ।

मेयर दाहालले जिल्ला बाहिर जाँदा आफूलाई जानकारी गराए पनि जिम्मेवारी भने नदिने र प्रमुख प्रशासकीय अधिकृतले नै सबै चलाउने गरेको उपमेयर शाहको भनाइ छ ।

अहिले पनि मेयरले समस्या समाधानका लागि आफुसँग कुनै कुरा नगरेको बताउँदै उपमेयर शाहले अनलाइनखबरसँग भनिन्- ‘अब भाद्र ७ गते आउनै लाग्यो, अहिलेसम्म छलफल गर्नुभएको छैन, यस्तै पारा हो भने म ७ गतेको १७ औं बैंठकमा आउँदिन ।’

अब भाद्र ७ गते आउनै लाग्यो, अहिलेसम्म छलफल गर्नुभएको छैन, यस्तै पारा हो भने म ७ गतेको १७ औं बैंठकमा आउँदिन

महानगरको आफू दोस्रो व्यक्ति भएको भन्दै उपमेयर शाहले मेयरपछि प्रशासकीय अधिकृतले काम गरिरहेको गुनासो पोखिन् ।

‘मैंले नवौं बैठकदेखि नै मेयरको कार्यशैलीका बारेमा प्रश्न उठाउँदै आएकी हुँ, उहाँसँग नै गएर पटक-पटक सबैलाई समेटेर लैजान र जानकारी गराउन भनेकी छु,’ उपमेयर शाहले भनिन्- ‘अहिलेसम्म प्रगति भएन । मेरो माथिसम्म पहुँच छ, म किन भेट्ने भन्ने पनि उहाँलाई लाग्दो हो, सायद त्यही भएर समस्याको समाधान भएन ।’

मेयर रेनुप्रति गुनासो गर्दै शाहले भनिन्, ‘उहाँ महानगरको पहिलो व्यक्ति भएकाले समस्या समाधानका लागि मेयरले नै पहल लिनुपर्छ ।’

महानगरको समीक्षा गोष्ठी बहिष्कार गर्ने कुनै योजना आफूहरुको नरहेको शाहले प्रष्ट पारिन् । ‘पार्टीसँगको छलफल जारी नै भएका कारणले गोष्ठीमा जान नसकिएको बताउँदै उनले भनिन्- ‘उहाँहरुले सकभर सहभागी नहुन् भनेर आधाघण्टा पनि कुर्नुभएन ।’

न्यायिक समितिको इजलास अहिलेसम्म तयार नभएको शाहको जिकिर छ । त्यसका लागि आवश्यक मान्छे राखौं भन्दा मेयरले भागवण्डा गरौं भनेकाले नाम प्रस्ताव नगरेको शाहले अनलाइनखबरलाई बताइन् ।

भदौ ७ को बैठकअघि नै कुरो मिल्छ : रेनु दाहाल

समीक्षा गोष्ठीमा देखिएको विवादको स्वरुपलाई ठूलो विषय बनाउन नहुने मेयर रेनु दाहाल वताउँछिन् । केही जोडकोण नमिल्दा समस्या आए पनि बसेर नै समस्याको समाधान गर्ने विधि उपयुक्त हुने दाहालको धारणा छ ।

मेयर दाहालले समीक्षा बैठक बहिष्कारदेखि सिटी हल निर्माणमा देखिएको विवादसम्म अनलाइनखबरसँग यसरी कुरा गरिन् –

उपमेयरले उठाएका सवालमा यसअघि कहिल्यै पनि छलफल नै भएन । उपमेयरज्यूलाई केही मनमा लागेका थियो भने मसँग भन्नुपर्दथ्यो । कार्यपालिका बैठक, आन्तरिक बैठकहरुमा कहिल्यै पनि मेयरका विषयमा उहाँहरुको असन्तुष्टि नै थिएन । त्यसैले म भन्छु- गोष्ठी बहिष्कार गर्नुपर्ने कुनै कारण नै थिएन ।

महानगरपालिकाको समीक्षा गोष्ठी गर्ने भन्ने निर्णय उहाँ स्वयंको उपस्थितिमा भएको थियो । म त काठमाडौंमा थिएँ, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत नै बसेर सबै तयारी गर्नुभएको हो । म नभएपछि उहाँ नै कार्यवाहक भएर यी काम भएका हुन् । तर, अन्तिम समयमा आएर बहिष्कार गर्नु त्यति राम्रो भएन कि भन्ने मलाई लाग्छ ।

समीक्षा गोष्ठी हुने दिन बिहान मैले यसको हल्ला सुनें बहिस्कारको । तर, मलाई विश्वास लागेन । बहिस्कार गर्नुपर्ने कारण नै के छ र ? मैले फोनमा कांग्रेस जिल्ला सभापतिसँग पनि कुरा गरें । उहाँले उपमेयरज्यूसहितका साथीहरुका केही गुनासा रहेछन्, त्यो सुनौं भनेर पार्टीको बैठक राखेको हो, बैठक सकेर आउनुहुन्छ भन्नुभयो ।

तर, निर्धारित समयभन्दा एक घण्टा ढिला कार्यक्रम सुरु गर्दा पनि उहाँ आउनुभएन । अतिथिहरु आइसक्नुभएको थियो । कार्यक्रम स्थगित गरेर फर्काउने कुरा पनि आएन । वडाध्यक्षज्यूहरु सबै आउने तयारीमा हुनुहुन्थ्यो । केहीले जानुपर्छ पनि भन्नुभयो, तर कांग्रेस सभापति र उपमेयरले आउन दिनुभएन ।

महानगरपालिकामा मपछिको दोस्रो जिम्मेवार व्यक्ति उहाँ नै हो । आफैं कार्यक्रमको तयारी गर्ने, निर्णयमा हस्ताक्षर गर्ने, अनि आफैं नआउने । अब के भन्ने ?

महानगरपालिकामा मपछिको दोस्रो जिम्मेवार व्यक्ति उहाँ नै हो । आफैं कार्यक्रमको तयारी गर्ने, निर्णयमा हस्ताक्षर गर्ने, अनि आफैं नआउने । अब के भन्ने ?

कतिपय पत्रकारहरुलाई समेत उहाँले कार्यक्रममा आउन आफैंले निम्ता दिनुभएको रहेछ । तर, एकाएक किन यस्तो गर्नुभयो, उहाँले जान्ने कुरा भयो । समीक्षा बैठकमा सहभागी भएर पछि पनि त छलफल गर्न सकिन्थ्यो नि ।

चालु आर्थिक बर्षको बजेट, योजना र कार्यक्रममा कुनै पनि विषयमा विवाद छैन । कसैको पनि कमेन्ट छैन । विगतमा पनि त्यस्तो केही भएको छैन । खिचातानी भएको छैन । बहिस्कार गर्नुपर्ने कुनै कारण पनि थिएन, जानकारी पनि थिएन ।

बाइपास गरेको छैन, हरेक पटक कार्यवाहक दिएकी छु

म विगत एक वर्षदेखि अफिसियल कामबाहेक भरतपुर छाडेर कहीँ पनि गएकी छैन । उहाँलाई जानकारी नदिई गएको एउटा मात्रै उदाहरण दिन म अनुरोध गर्दछु । स्थानीय सरकार सञ्चालन ऐनमा मेयर नहुँदा उपमेयर कार्यवाहक स्वतः हुने व्यवस्था नै छ ।

अब मैले जानकारी गराएको अवस्था उपमेयर नै स्वतः कार्यवाहक भन्नुस् वा निमित्त मेयर हो । अब पत्र नै लेखेर दिनुपर्ने हो भने पनि म दिन्छु । तर, पत्र नै चािहन्छ जस्तो मलाई लाग्दैन । ऐनले त्यस्तो परिकल्पना गरेको छैन ।

जहाँसम्म अटो रिक्सा महानगरपालिकाको हाइवे क्षेत्रबाट हटाउने भन्ने कुरा छ, त्यतिबेला अटो रिक्साको आन्दोलन हुँदा म काठमाण्डौंमा थिए । उहाँले नै कार्यवाहक मेयरका रुपमा काम गर्नुभयो । सहमति पनि भयो । राम्रो भयो । मैले धन्यवाद पनि दिएकी छु । तर, उहाँलाई नसोधी वा जानकारी नदिइकन समस्या समाधानका लागि संयोजक बनाइएको भन्ने कुरा गलत हो ।

फेरि, अप्ठ्यारो परिस्थितिको सामना गरेर त्यसमा सफलता पाउनु उहाँकै हाइट बढ्ने कुरा पनि हो ।

जहाँसम्म सरसल्लाह भएन, पेल्यो भन्ने कुरा छ । कहाँ, कुन विषयमा सरसल्लाह छैन, त्यो भनिदिनुस् । मेरो पारिवारिक विषयमा त सरसल्लाह गर्ने कुरा भएन । महानगरका सन्र्दभमा हरेक कुरामा एउटा कोर टिमका वीचमा जहिले पनि छलफल भएकै हुन्छ । अहिलेसम्मका बैठक र छलफलहरुमा कहीँ पनि रातोपिरो अनुहार कसैको भएको छैन । मैले पनि गरेकी छैन । कांग्रेसबाट जितेका वडाध्यक्षहरुलाई पनि सोधे थाहा हुन्छ ।

कार्यपालिका बैठकअघि एजेण्डाका विषयमा एउटा टिमले छलफल गर्छ । भद्रगोल नहोस् भनेर, विवाद नआओस् भनेर जहिले पनि हर विषयमा छलफल गरेर गएका छौं । वेवास्ता गर्ने भन्ने त कुरा नै छैन । बरु मलाई नै कतिपय वडाध्यक्षहरुले तपाई धेरै लोयल हुनुभयो, मेयर भनेको त अलि बोल्ड र कडा हुनुपर्छ पनि भन्ने गरेका छन् । उहाँ स्वयंले पनि भन्नुभएको छ ।

इजलास बनेको छ, तर काम भएको छैन

न्यायिक समितिको प्रमुख उपमेयर नै हुने भएकाले उहाँको कार्यकक्षको नजिकै इजलास बनाएका छौं । इजलास छैन भन्ने कुरा गलत हो । महानगरको कतिपय भौतिक संरचनाका कारणले केही समस्या छ । तर, पनि केही कमी नहोस् भनेर मैले सोेचेकी छु ।

मेयर र उपमेयरको कार्यकक्षमा कुनै कमी छैन । बरु मेरोमा नभए नहोस्, तर उहाँकोमा होस् भन्ने चाहन्छु । सचिवालयमा कर्मचारीहरु आफैंले राख्नुभएको छ । न्याय सम्पादनका लागि कानुनी सल्लाहकार चाहियो भन्नुभयो, मैंले तपाई प्रस्ताव गरेर ल्याउनुस् भनेकी छु । उहाँले नाम दिएपछि न हुन्छ । मलाई स्पेशल नापीको मान्छे चाहिन्छ भन्नुभएको छ ।

न्यायिक समितिको प्रमुख उपमेयर नै हुने भएकाले उहाँको कार्यकक्षको नजिकै इजलास बनाएका छौं । इजलास छैन भन्ने कुरा गलत हो ।

महानगरमा नै हामी भएको जनशक्ति प्रयोग गरौं । हामीसँग इन्जिनियर, नापीका कर्मचारीहरु पनि छन् । अब बाहिर छुट्टै किन चाहिएको हो, मैंले बुझेकी छैन । महानगरका सबै कर्मचारी हाम्रै हुन् । अमिन पनि छन् । कर्मचारी नभएको भन्ने कुरा हैन ।

गाडी पनि पुरानो भयो भनेर नयाँ गाडी दिएकै छु । सुविधा मेरोभन्दा केही कम भएको छैन । न्यायिक समितिलाई व्यवस्थापकीय र प्राविधिक पक्षबाट कमी भएको छैन । के अर्थमा न्यायिक समिति पंगु बनाइयो भन्नुभयो, मैले बुझेकी छैन ।

महानगरको कर बढी छैन

करको विषयमा कुरा गर्दा राजस्व परामर्श समितिको संयोजक उपमेयर नै हुनुहुन्छ । त्यो समितिले लामो गृहकार्य गरेर नै करको दर कति हुने र दायरा कति गर्ने भन्ने प्रस्ताव ल्यायो । सबैजना हौसिएर अति बढी नै करको दर आयो कि भन्ने मलाई लाग्यो ।

जुन दिन करसम्बन्धी निर्णय गर्न कार्यपालिकाको बैठक बसेको थियो, त्यो दिन मैले जिल्लाका क्रियाशील राजनीतिक दलहरुलाई बोलाएँ । उहाँहरुसँगको छलफलपछि परिमार्जन गरेर घटाइयो ।

धेरै चर्को बनाउँदा जनतामा निराशा आउने हुँदा मध्यम ढंगले दायरा र दर बढाऔं भनेर सहमति गरेको हो । यसमा उद्योग बाणिज्य संघको पनि सहमति छ । अहिले कांग्रेसले विरोध गर्नुको अर्थ नै छैन । सहकार्यबाट नै भएको हो । करका बारेमा विरोध गर्न आवश्यक छैन ।

सिटी हल निर्माणमा अनावश्यक विवाद

भरतपुर महानगरले ५० करोडको लगानीमा सिटी हल बनाउने तयारी गरेको छ । ५ हजारजना अट्ने देशकै ठूलो र आधुनिक सिटी हल बनाउनु भनेको यहाँको सबै हिसावले विकासको कुरा हो, गौरवको विषय हो । बजेट पनि आइसकेको छ ।

तर यसमा जग्गाको विषयमा लफडा निकालियो । क्यान्सर अस्पतालको ७६ विगाहा जग्गामध्ये ५ विगाहा जग्गा सिटी हलका लागि उपलब्ध गराउने र त्यो ५ विगाहा महानगरले अन्यत्र सट्टाभर्ना दिने भन्ने कुरा हो । तर, यो विषय राजनीतिक बन्यो ।

कांग्रेसले वीपीका नाममा रहेको अस्पतालमा कुनै पनि हालतमा सिटी हल बनाउन नदिने अडान लिएको छ । शीर्षनेताहरु नै यसमा लाग्नु भएको छ । सिटी हल धेरै टाढा लैजाँदा पनि त्यसका लागि चाहिने अन्य सहयोगी संरचनाहरु छैनन् ।

सिटी हल के हामी भरतपुर महानगरवासी र चितवनवासीलाई चाहिएको हैन ? रेनु दाहाललाई मात्रै बनाउन परेको हो र ? यसलाई अन्यथा नलिनुस् । विकल्प दिनुस् भन्दा पनि कसैले दिन सक्दैनन् ।

भवनमात्रै ठड्याएर पनि भएन । भरतपुर १४ शिवनगरमा पनि गएर हेरियो । तर, प्राविधिक टिमले यहाँ उपयुक्त नहुने भनेपछि क्यान्सर अस्पतालको जग्गामा बनाउने भनेर कार्यपालिकाको बोर्ड बैठक, क्यान्सर अस्पतालको बोर्ड बैठक र स्वास्थ्य मन्त्रालयबाट समेत निर्णय भएर अहिले क्याबिनेटमा पुगेको छ ।

क्यान्सर अस्पतालको बोर्ड बैठकमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सबै सहसचिवहरु पनि हुनुहुन्छ । सबैको सहमति भयो । तर, अहिले राजनीतिक इस्यु र प्रतिशोधजस्तो बन्यो । यो आवश्यक थिएन ।

सिटी हल के हामी भरतपुर महानगरवासी र चितवनवासीलाई चाहिएको हैन ? रेनु दाहाललाई मात्रै बनाउन परेको हो र ? यसलाई अन्यथा नलिनुस् । विकल्प दिनुस् भन्दा पनि कसैले दिन सक्दैनन् । मैले मात्रै खोज्ने हो त विकल्प ? म जोर जर्बजस्ती गराउने पक्षमा छैन । अस्पतालको जग्गा ७६ विगाहामा ५ विगाहा दिए पनि ७१ विगाहा त बाँकी नै रहन्छ । फेरि त्यो ५ विगाहा अन्यत्र दिन्छौं, भनेकै छौं ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि मसँग नै भेटेर एकदमै राम्रो काम गर्न खोज्नुभएको छ भन्नुभयो । उहाँले नै कांग्रेसका नेताहरुलाई क्यान्सर अस्पतालको जग्गामा नभए अन्यत्र ठाउँ देखाउन पनि भन्नुभयो । दलहरुसँग मैंले छलफल पनि गरें । सिटी हल बनाउन महानगरलाई ठाउँ पनि त देखाइदिन पर्‍यो नि । आएको मौकाको सदुपयोग कसरी गर्ने भन्ने कुरा हो ।

कांग्रेससँग टसल गर्दिनँ, मतदाताको चित्त दुखाउँदिनँ

यी यावत विषयमा म कांग्रेससँग टस्सल गरेर जाने पक्षमा विल्कुलै छैन । बालहठ गरेर जाने पक्षमा पनि छैन । अनावश्यक कुण्ठा लिएर हिँडने पक्षमा पनि छैन । म अझै पनि मिलेर जानुपर्छ भन्ने पक्षमा छु । व्यक्तिगत मेरो त केही स्वार्थ छैन । राम्रो काम गर्नका लागि डराउनु पनि छैन ।

आजसम्म कांग्रेसबाट असहयोग नै भयो भन्ने भएको छैन । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र कांग्रेसका कार्यकर्ताहरुबाट पूरापुर सहयोग छ । कतिपयले मलाई भन्नुभएको पनि छ कि तपाई नडराउनुस्, विचिलत नहुनुस् भनेर । जनस्तरबाट साथ पनि छ ।

कांग्रेसका आम मतदाताप्रति मेरो जिम्मेवारीवोध कत्ति पनि घटेको छैन । म उहाँहरुलाई केन्द्रमा राखेर नै सम्मान गर्दै काम गर्छु ।

नेपाली कांग्रेसका वडाध्यक्षहरुलाई मैंले बढी नै महत्व दिएकी छु । अन्यत्रभन्दा उहाँकै वडालाई प्राथमिकता दिएकी पनि छु । बरु हिजोका दिनहरुमा तत्कालीन नेकपा एमालेबाट विजयी वडाध्यक्षहरुलाई वेवास्ता गरेकी हुँला, तर कांग्रेसका सबै वडाध्यक्षहरुलाई प्राथमिकता दिएकी छु । उहाँहरुको वडामा बजेट दिएकी छु । पहँुच मार्गसहितका करोडौंका योजना पारेकी छु । मैले चाहन्थें भने त दिँदैनथे होला ।

कांग्रेसका आम मतदाताप्रति मेरो जिम्मेवारीवोध कत्ति पनि घटेको छैन । म उहाँहरुलाई केन्द्रमा राखेर नै सम्मान गर्दै काम गर्छु । मेरो प्रशंसा कांग्रेसकै कार्यकर्ता र मतदाताबाट पनि भएको छ । कांग्रेसबाट सर्मथन पनि छ । र, मेरो दायित्व पनि छ ।

मेयरपछिको दायित्व उपमेयर ज्यूकै हो । उहाँका केही गुनासा पहिला नै आएका भए पहिल्यै हामी बसेर मिलाउँथ्यौं । अब भाद्र ७ गतेको कार्यपालिकाको बैठकअघि नै बसेर उहाँहरुका चित्त दुखाइको सम्वोधन हुन्छ । म कठोर छैन । टस्सल गरेर जान चाहँदैनौं । नगरवासीको हित विपरीत केही काम हुँदैनन् । नमिल्ने ठूला इस्युहरु छैन । रातदिन नभनेर खटिरहेका छौं ।

यहाँ केन्द्रीय राजनीतिको पनि केही प्रभाव होला । त्योभन्दा पनि हामी भरतपुर महानगरको समृद्धिका लागि कसरी मिलेर जानुपर्छ भन्ने कुरा महत्वपूर्ण हो । जनताको साथ छ, गर्व छ । जनताको उर्जाबाट जोश र जाँगरका साथ काम गरेकी छु । नकारात्मक भावना र सोच छैन । महानगरको समृद्धिका लागि सानातिना कुराहरु बिर्सिएर अघि बढौं, म सदैव तयार छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment