Comments Add Comment

‘नाइ नभन्नु ल’ मिस गरेकी केकी पाँचौ सिरिजमा यसरी जोडिइन्


चलचित्र ‘नाई नभन्नु ल ५’मा विशेष भूमिकामा देखिएकी नायिका केकी अधिकारीलाई निर्देशक विकासराज आचार्यले पहिलो पटक अफर गरेका भने थिएनन् । चलचित्र ‘नाई नभन्नु ल’मा समेत केकीलाई विकासले अफर गरेका थिए । तर, केकीले चलचित्र ‘स्वर’बाट डेब्यू गर्ने निर्णय गरिसकेकाले उनले ‘नाई नभन्नु ल’मा काम गर्न सकिनन् ।

तर, चलचित्र ‘नाई नभन्नु ल ५’का लागि गरिएको अफर भने केकीले स्विकार गरिन् । चलचित्रको छायांकन दिन नजिकिदा पनि निर्देशक आचार्यले कलाकार पाएका थिएनन् । उनको दिमागमा केकी थिइन् तर उनले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ रिलिजको संघारमा थियो । यस्तो समयमा केकीलाई अभिनयका लागि आग्रह गर्न आचार्यको मुख लागेन । तर, टिमकै एक सदस्य कुरा गरिहेर्नुन भनेपछि आचार्यले केकीलाई आग्रह गरेका थिए । जुन आग्रह केकीले सजिलै स्विकारिन् ।

केकीले भनिन्-‘विकास अंकलले पहिलो फिल्मदेखि नै मलाई सम्झने गर्नु भएको थियो । विविध कारणले गर्न पाएको थिइनँ । तर फेरि ५ मा काम गर्ने अवसर आयो, मैले एक सेकेन्ड मै हुन्छ भनेकी हुँ । मलाई आफ्नै चलचित्र तयार गर्ने प्रेसर थियो त्यसका बावजुद पनि यसपटक नछाडने निर्णय गरेँ । ‘हाम्रो लागि नाई नभन्नू ल सिनेमा नभई एउटा परिवार हो । यस्तो चर्चित परिवारको अंग बन्न पाउँदा निश्चय नै उत्साहित छु ।’ उनको अनुभवमा एक चोटि काम गर्न नमानेको कलाकारसँग निर्माता निर्देशकले इगो लिएर दोस्रो पटकदेखि कुरै गर्दैनन् । ‘तर विकास अंकलले कहिलै मेरो इन्कारलाई त्यसरी लिनु भएन । यही कारण हो, पाँचमा हामीले सँगै काम गर्यौं,’ केकीले भनिन् ।

भदौ ८ बाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा केकीका अलवा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, स्वस्तिमा खड्का आदि कलाकारको अभिनय रहेको छ । देशभरका एक सय पर्दामा यो चलचित्र रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment