+
+

गर्भावस्थामा हुनसक्छ यस्तो जटिलता, के छ उपाय ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ५ गते १४:००

यादकदा सुन्ने गरिन्छ, ‘सुत्केरी व्यथाले मृत्यु ।’ प्रसुतीको चरणमा पुगेपछि विभिन्न किसिमको जटिलताले गर्दा आमा र बच्चाको ज्यान जोखिममा परेको घटना हामी धेरै सुन्छौं । त्यही कारण अक्सर महिलाहरु यो परिस्थितीलाई ‘जीवन र मरण’को दोसाँधमा राखेर हेर्ने गर्छन् । प्रसुती अवस्था पार गर्नु भनेको एउटा बच्चाको जन्म मात्र होइन, आमाको पनि पुर्नजन्म हो ।

यसो भन्दैमा प्रसुती चरणमा पुगेकाहरु भयाभित चाहि हुनुपर्दैन । बरु सर्तक हुनुपर्छ । आवश्यक सर्तकता अपनाइयो भने प्रसुतीको चरण सहज र स्वभाविक हुन्छ ।

तर, सबैको हकमा गर्भावस्था सामान्य हुन्छ भन्ने छैन । कतिलाई गर्भावस्थाका बेला जटिल समस्या आइपर्ने गर्छ ।

नेपालीमाझ मातृ मृत्युदर बढ्नुमा पनि ‘गर्भावस्थामा हुने जटिलता’ नै मुख्य कारण हो । यस्ता जटिलता गर्भावस्थामा मात्र नभई सुत्केरी अवस्थामा पनि हुने गर्छ । गर्भावस्था वा सुत्केरी अवस्थामा विभिन्न जटिलताहरु देखा परे  महिलाहरुको मृत्यु समेत हुनसक्छ ।

रक्तश्रावः एक समस्या

गर्भावस्थामा हुने मुख्य जटिलता भने रक्तश्रावको समस्या हो ।

नेपालमा गर्भावस्थामा रक्तश्राव भएर मृत्यु हुने महिलाहरुको संख्या सबैभन्दा धेरै रहने गरेको छ । दोश्रोमा उच्च रक्तचापका कारण जटिलता सिर्जना भएर मृत्यु हुनेको संख्या पनि धेरै छ ।

त्यसबाहेक, ‘अब्सट्रक्टिभ लेभर’का समयमा प्रसुती गर्न नपाएर मृत्यु हुने महिलाहरुको संख्या समेत नेपालमा धेरै छ  । अब्सट्रक्टिभ लेभर भएमा पाठेघरबाट बच्चा निस्कने बाटो साघँुरो भई पाठेघर फुट्ने, अड्किने अथवा बच्चाको मृत्यु भित्रै हुने वा आमाको समेत मृत्यु हुने गर्दछ । अहिले नेपालमा महिलाहरुको मृत्यु हुनुमा यी तीन कारणहरु नै मुख्य मानिन्छन् ।

यस्ता जटिलतालाई कसरी सुल्झाउने,  कम गर्ने तथा रोक्ने भन्ने कुरा नै अहिलेको मुख्य चुनौती हो । त्यसका लागि विभिन्न कार्यक्रमहरु छन् ।

पाठेघरबाट बच्चा निस्कने बाटो साघुरो भई पाठेघर फुट्ने, अड्किने अथवा बच्चाको मृत्यु भित्रै हुने वा आमाको समेत मृत्यु हुने गर्दछ

उदाहरणका लागि रक्तश्राव भएर, व्लिडिङ्ग भएर मर्नेहरुका लागि रक्तश्राव कसरी कम गर्ने भन्दा स्वास्थ्य संस्थामा गएर प्रसुती गराएमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले विभिन्न सावधानी अपनाएर यो जोखिम कम गर्न सक्दछन् ।

त्यस्तै, लामो समयसम्म व्यथा नलगाओस् भनेर कसरी छिटो बच्चा जन्माउने भनेर उनीहरुले विभिन्न उपाय अपनाउँछन् । अनि राम्रो स्वास्थ्य संस्थामा जादाँ सामान्य प्रसुती हुन नसक्ने रहेछ, शल्यक्रिया नै गर्नुपर्ने रहेछ भने पनि उनीहरुले शल्यक्रिया गरेरै भएपनि आमालाई बचाउँछन् । कयौ अवस्थाम रक्तश्राव रोकेर तथा साललाई लामो समयसम्म अड्किन नदिएर पनि  यसको जटिलतालाई कम गर्न सकिन्छ ।

किन हुन्छ रक्तश्राव ?

सुत्केरी अवस्थामा महिलाहरुमा रक्तश्राव हुने भनेको पाठेघर राम्ररी खुम्चिन नसकेर वा बच्चा जन्मिए लगत्तै पाठेघर खुम्चिन ढिलो भएर हो ।

रक्तश्राव हुनेमध्ये ८० प्रतिशत कारण पाठेघर नखुम्चिएर हुने गर्छ । यसलाई कसरी खुम्याउने भन्ने कुरा तालिम प्राप्त स्वास्थ्यकर्मीलाई मात्र थाहा हुन गर्छ । त्यसैले, तालिम प्राप्त स्वास्थयकर्मीद्धारा स्वास्थ्य संस्थामा गएर प्रसुती गर्न सक्यो भने मात्र पनि धेरै मात्रामा यस्तो जटिलतालाई कम गर्न सकिन्छ ।

उच्च रक्तचाप 

उच्च रक्तचाप भएमा रक्तचाप बढेर मानिस बेहोस हुने, काप्ने गर्दछन् । समयमै उपचार नपाएको खण्डमा गर्भवती आमाको साथै गर्भमा रहेको शिशुको समेत मृत्यु हुने गर्छ । यसलाई जोगाउन प्रत्येक महिना गर्भको परीक्षण गराउने, प्रेसर हेर्ने, पिसाबको जाँच गराउने तथा रक्तअल्पत्रा भएको छ कि छैन भनेर हेर्नु पर्दछ । यति सामान्य जाँच गरेको खण्डमा मात्र पनि गर्भावस्थामा हुने जटिलतालाई कम गर्न सकिन्छ । सामान्यतया यस्तो समस्या गर्भवती महिलामध्य  करिब १५ प्रतिशतमा मात्र यस्तो समस्या देखिने गर्छ ।

अर्को भनेको शल्यक्रियाद्धारा बच्चा जन्माउने पैविधि हो । नेपालका ग्रामिण भेगका सबै स्वास्थ्य संस्थाहरुमा शल्यक्रिया सेवा उपलब्ध छैन । त्यही भएर यस्तो कुनै समस्या भएमा सुविधासम्पन्न अस्पतालमा गएर चेकजाँच गरी प्रसुती गरेको खण्डमा तथा ठाउँ ठाउँमा शल्यक्रिया सेवा सहितको बर्थिङ्ग सेन्टरको व्यवस्था गरेर पनि गर्भावस्थामा हुने जटिलतालाई कम गर्न सकिन्छ । साथै, धेरै आमाहरुलाई मर्नबाट जोगाउन सकिन्छ ।

रक्तअल्पत्रा                                                               

रक्तअल्पत्रा वा गर्भावस्थामा शरीरमा रगतको मात्रा कम भएका गर्भवती महिलालाई आईरन चक्की तथा पोषणतत्वयुक्त खानेकुराको सेवन गर्न दिएर पनि रक्तअल्पत्रा हुनबाट जोगाउन सकिन्छ । प्रसव व्यथाका क्रममा रक्तअल्पत्रा भएका महिलाको शरीरबाट थोरै रगत बगेमा पनि त्यसले जटिल समस्या निम्त्याउन सक्छ ।

जबकी समयमै रोगको पहिचान गरी रगत बढाउन सकेको खण्डमा प्रसब व्यथाका क्रममा जति रगत गएपनि त्यसले उनीहरुको स्वास्थ्यमा खासै असर पार्दैन । यसरी पनि हामीले जटिलतालाई कम गर्न सक्दछौ ।

त्यसबाहेक, गर्भवती महिलाहरुमा असुरक्षित गर्भपतन तथा संक्रमणका कारण पनि जटिलता उत्पन्न हुने गर्दछ । जुन   गर्भावस्थामा क्रमामा नेपालमा देखिएका जटिलताहरु मध्यमा ‘आम’ कारण हुन् । सेवा प्रदायक स्वास्थ्य संस्था तथा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट गर्भावस्थाको जाँच तथा सुत्केरी गराएको खण्डमा  रक्तश्राव, उच्च रक्तचाप, रक्तअल्पत्रा, असुरक्षित गर्भपतन तथा संक्रमणका कारण हुने जटिलतामा भने अवश्य कमी ल्याउन सकिन्छ ।

त्यसो त, नेपालमा टिनएज प्रेग्नेन्सीको समस्या पनि धेरै रहेको पाइन्छ । टिनएज प्रेग्नेन्सी भन्नाले बीस वर्ष मुनीका किशोरी आमाहरुलाई जनाउँछ । यस अर्थमा नेपालमा किशोरी आमाहरुको संख्या पनि निकै धेरै छ । किशोरी आमाहरु आफै किशोरावस्थामा भएका कारण उनीहरुको शरीरमा रगतको कमी हुने गर्दछ । त्यस्तै, हड्डी कमजोर हुनुका साथै

उनीहरु शारीरीक तथा मानसिक रुपमा समेत परिपक्व भैसकेका हुँदैनन् । जसका कारण उमेर पुगेका महिलाहरुको तुलनामा उनीहरुमा जटिलता बढी हुने गर्छ ।

यस्ता जटिलतालाई कम गर्न सानो उमेरमा विवाह नगर्ने, छिटो बच्चा नपाउने, एउटा बच्चा पाई हाले अर्को  बच्चाबीचको गर्भान्तर कम्तीमा पाँच वर्ष राख्नु पर्दछ ।  त्यसबाहेक, गर्भ रहेको खण्डमा समय समयमा गर्भको चेकजाच गरेर तथा पोषणतत्वयुक्त आहार सेवन गरेर पनि गर्भावस्थामा हुने जटिलतालाई कम गर्न सकिन्छ ।

(परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथलीका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. गेहनाथ बरालसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?