Comments Add Comment

बाह्रविसेको साँधीखोलामा अस्थायी डाइभर्सन, यातायात सञ्चालन

५ भदाै, सिन्धुपाल्चोक ।बाह्रविसेको साँधीखोलामा अस्थायी डाइभर्सन बनाएर मंगलबारदेखि यातयात संचालन गरिएको छ ।

डिभिजन सडक कार्यालय दोलखा र बाह्रविसे नगरपालिकाको सक्रियतामा चारदिनदेखि अवरुद्ध सडक संचालनमा ल्याइएको हो ।

गत शुक्रबार राति आएको बाढीले बाह्रविसे नजिकै रहेको साँधीखोलाको पक्की पुल बगाएको थियो । पुल बगाएपछि बाह्रविसे नगरपालिकाको केही वडा र भोटेकोशी गाउँपालिकाका नागरिकहरुलाई आवतजावत गर्न समस्या भएको थियो ।

‘अस्थायी डाइभर्सन बनाएर यातयात सञ्चालन गरेका छौ, डिभिजन सडक कार्यालय दोलखाका प्रमुख अशोक तिवारीले भने-‘तत्काल बेली बिज्र ल्याउँदा पनि बगाउने भएकाले अस्थायी डाइभर्सन मार्फत नै सडक संचालन गरिएको छ ।’

अस्थायी डाइभर्सन नजिकै स्काभेटर तयारी हालतमा राखिएको र लेदो र बाढी आएमा तत्कालै सफा गरेर यातयात अवरुद्ध हुन नदिने गरी सबै तयारी हालतमा राखिएको प्रमुख तिवारीले जानकारी दिए ।

बाढीले बगाएको पुल अबको केही सातापछि नै निर्माण सुरु गरिने उनले बताए । ‘डिजाइनको काम सुरु भएको छ, थोरै दिनको टेण्डर निकालेर स्थायी पुल निर्माणको प्रक्रिया सुरु गछौं ।’ तिवारीले भने ।

नगरपालिका,स्थानीय सबैको सहयोगमा पुल बगाएको छोटो समयमा नै डाइभर्सन बनाएर अवरुद्ध सडक सञ्चालन गरिएको प्रमुख तिवारीको भनाइ थियो ।

यसअघि पुल बगाएको स्थानमा पुगी यस क्षेत्रका सासंद अग्नि सापकोटा, नेकपा स्थायी कमिटी सदस्य अमृतकुमार बोहारा, नेकपा केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले स्थलगत निरीक्षण गरी बाढी पहिरोको स्थायी समाधानको लागि प्रदेश र केन्द्र सरकारसँग पहल गर्ने बताएका थिए ।

तत्कालै त सडक सञ्चालन होला तर यसलाई दीर्घकालीन रुपमा समाधान गर्न आफूहरु प्रदेश र केन्द्रीय सरकारको ध्यानआर्कषण गराउने सासंद अग्नि सापकोटाले बताए ।

खाता सञ्चालन नहुँदा विपद्मा केही गर्न सकिएन-मेयर

केही दिनदेखि परेको अविरल वर्षाले बाह्रविसे नगरपालिकाका विभिन्न वडाका स्थानीय प्रभावित भएका छन् ।

बाढी र पहिरोले एक दर्जन बढी स्थानीय प्रभावित भएपनि नगरपालिकाले एउटा पालसमेत दिन सकेको छैन । ‘विपद कोषमा ५० लाख रुपियाँ राखेका छौ तर कोलेनीकाले खाता सञ्चालन नगरिदिंदा समस्यामा परेकाहरुलाई केही गर्न सकेनौ ।’ बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भने ।

कोलेनीकासँग समन्वय गरेर खाता छिटो सञ्चालन गर्ने व्यवस्थाको लागि आफूले पहल गर्ने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment