Comments Add Comment

रेशमको परिवारलाई ८१ हजार २५६ डलर सहयोग

५ साउन, काठमाडौं । अमेरिकाको स्वतन्त्रता दिवस (जुलाइ ४ तारिख)का दिन भर्जिनियाको हरन्डन शहरस्थित सुनोको इन्धन चौकीमा लुटेराद्वारा हत्या गरिएका रेशम बजगाईंको नाममा उठाइएको गो फन्ड रकम बजगाईंको परिवारलाई हस्तान्तरण गरिएको छ ।

गत अगस्त १९ तारिखका दिन अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की (विद्यावारिधि) को उपस्थितिमा ८१ हजार २ सय ५६ डलर हस्तान्तरणको धनादेश (चेक) हस्तान्तरण गरिएको हो ।

बजगाईंको हत्या भएपछि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको एनआरएन भर्जिनिया शाखाको पहलमा गो फन्ड खोलिएको थियो ।

कुल रकम ८४ हजार ६ सय ८३ डलर उठेकोमा गो फन्डले आफ्नो खर्च कटाएर कुल एनआरएन अमेरिकालाई ८१ हजार २ सय ५६ डलर ४ सेन्ट धनादेश खातामा जम्मा गरेको थियो । गो फण्ड मा ५० हजारको लक्ष्य राखिएको थियो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको खातामा जम्मा भएपछि उक्त रकम निकालेर संघका केन्द्रीय कोषाध्यक्ष प्रकाश अर्याल (विद्यावारिधि)डेलावरबाट भर्जिनिया आएर सार्बजनिक रुपमा संचार माध्यम तथा समुदाय सदस्य बीच उक्त रकम बजगाईंका परिवारलाई हस्तान्तरण गरेका थिए ।

उक्त रकम अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की तथा प्रकाश अर्यालले सयुक्त रुपमा चेक बजगाईंका नातेदार नजिक ठाकुर ढकाललाई हस्तान्तरण गरेका थिए ।

अनौपचारिक कार्यक्रम रहेता पनि एनआरएन भर्जिनिया शाखाका अध्यक्ष गोविन्द सुबेदीले सबैलाई स्वागत तथा धन्यवाद दिनुको साथै सबैको अतुलनीय सहयोगको चर्चा गरेका थिए ।

सम्भवत गो फन्डमा संकलित रकम नेपाली समुदायमा अहिलेसम्मकै सर्बाधिक रकम हो ।

केन्द्रीय कोषाध्यक्ष प्रकाश अर्यालले पनि यस्तो घटना कसैलाई नहोस र यस्तो रकम संकलन गर्नु नपरोस भन्दै राजदूत कार्कीलाई दूतावासको तर्फबाट अमेरिकन सरकारलाई कसरी हामी सुरक्षित हुने बारेमा पहल गर्न आग्रहसमेत गरे ।

राजदूत कार्कीले आफूले यस बिषयमा चर्चा पनि गरेको र यस्ता बिषयमा कालान्तरमा छलफल गर्ने बताए ।

रेशम बजगाईंका नातेदार ठाकुर ढकालले सबैलाई धन्यबाद दिदै अझ पनि रेशमकी धर्मपत्नी पहिलाको स्थितिमा नआएकोले आफूले उनको तर्फबाट रकम बुझेको जनाए ।

उक्त रकमको धनादेश रेशम बजगाईंकी धर्मपत्नी दीपा बन्जारा तथा छोरी पर्त्युषा बजगाईंको नाममा प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा बिभिन संघरसंस्थाका प्रतिनिधिसहित राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment