Comments Add Comment

ओलीले गोबरग्यास उदघाटन गर्दा ५ किलोमिटर चक्काजाम

५ भदौ, विराटनगर । प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा मुख्यमन्त्री र अन्य मन्त्रीहरुको सवारी चल्दा महानगरवासीले कुनै सास्ती अनुभव गर्नुपरेको थिएन । तर, मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनमा भने विराटनगरबासीले निकै दुःख पाए ।

प्रधानमन्त्री ओलीको सवारी हुँदा गरिएको ट्राफिक व्यवस्थापनका क्रममा सर्वसाधारणलाई हिँडडुलमा समेत प्रतिबन्ध लगाइयो ।

विराटनगरमा गोबर ग्यास उद्घाटन कार्यक्रममा सहभागी हुन आइपुगेका प्रधानमन्त्री ओलीका कारण कोशी राजमार्गको कञ्चनबारीदेखि डिग्री कलेजसम्मको सडक खाली गरिएकाले सर्वसाधारणले हिँडडुल पनि गर्न पाएनन् ।

मंगलबार दिउँसो १२ बजेतिर विराटनगर विमानस्थल आइपु्गेका प्रधानमन्त्री ओलीको सवारीका लागि करिब पाँच किलोमिटर सडक पुरै खाली गराइएको थियो ।

प्रहरी परिचालन गरी सहायक राजमार्गबाट कसैलाई पनि मुख्य राजमार्ग छेउमा हिँडडुल गर्न र सवारी साधन चलाउन दिइएको थिएन ।
‘पूरै सडक क्लियर गर्न माथिको आदेश छ’, महेन्द्रचौकको मुख्य सडकमा उभिएका एक ट्राफिक प्रहरीले भने, ‘कसैलाई नहिँड्नु भनेको छ ।’

प्रधानमन्त्री ओली बिराटनगर विमानस्थलबाट सिधै गोबर ग्यास प्लान्टको उदघाटन गर्न कार्यक्रमस्थल बिराटनगर- १४ स्थित श्रीकृष्ण गौशालामा पुगे ।

करिव एक घण्टाको सो कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री पुनः कोशी राजमार्ग हुँदै वीरेन्द्र सभागृहको कार्यक्रममा पुगे ।

प्रधानमन्त्री ओली फर्कने क्रममा पनि मुख्य सडक क्षेत्र खाली गराइयो । गोबर ग्यास उदघाटन कार्यक्रमपछि प्रधानमन्त्री ओली फर्कने क्रममा कतिपय क्षेत्रमा विद्यार्थीहरु भर्खरै छुट्टी भएर घर र्फकने बेला भएको थियो । सडक क्लियर गरिएका कारण बालबालिकाहरु विद्यालयको मुख्य गेटमै रोकिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment