Comments Add Comment

यूरोपमा ६ महिनामा ४१ हजार जनामा दादुरा रोगको संक्रमण

५ भदौ, काठमाडौं । यूरोपमा दादुरा रोगले संक्रमित बिरामीहरुको संख्या कीर्तिमानी रुपले बढेको छ ।

यसवर्षको सुरुवाती ६ महिनामा ४१ हजार जनालाई दादुराको संक्रमण पुष्टी भएको र दादुराको कारण मृत्यु हुनेका संख्या ३७ पुगेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

अघिल्लो वर्ष यूरोपमा करिब २४ हजारलाई दादुराको संक्रमण भएको थियो । त्यसभन्दा अघिको वर्ष करिब ५ हजारलाई दादुरा देखिएको थियो ।

विज्ञहरुले दादुराको संक्रमण एक्कासी बढ्नुको कारण यसको खोप लगाउने मानिसको संख्या घट्नुलाई मानेका छन् ।

यूरोपेली देशहरुमध्ये यूक्रेन र सर्बियामा दादुराको संक्रमण उच्च रहेको छ । विश्व स्वास्थ्य संगठनले यूरोपेली देशहरुलाई चाँडै नै यस समस्याको समाधान खोज्न निर्देशन दिएको छ ।

बेलायतमा भने यसवर्ष ८०७ जनालाई दादुरा भएको छ । बीबीसीका अनुसार बेलायतमा यूरोपेली मुख्य भूमिमा भ्रमणमा गएर आएका मानिसलाई धेरै दादुरा भएको पाइएको छ ।

एमएमआर (मिजल्स, मम्पस् एण्ड रुवेला) भ्याक्सिनले यसको संक्रमणबाट बचाउन सक्छ । बेलायतको नेसनल हेल्थ सर्भिसले सबै बच्चाहरुलाई एक वर्षभित्र र विद्यालय जानुभन्दा केही अगाडि एमएमआर भ्याक्सिन लगाउनु पर्ने बताएको छ ।

तर, २० वर्ष अघिको एक अविश्वसनीय अनुसन्धानले यो भ्याक्सिनको कारण बच्चाहरुलाई अटिजम हुने बताएपछि धेरै मानिसले आफ्ना बच्चाहरुलाई भ्याक्सिन लगाएनन् ।

कस्तो रोग हो दादुरा ?

दादुरा प्यारामिक्सो भाइरस परिवारको एउटा भाइरसका कारण हुने गर्छ । यस रोगले विशेषगरी बालबालिकालाई प्रभावित पार्दछ । दादुरा भएमा मानिसको मृत्युसमेत हुनसक्छ ।

यो रोग हाच्छ्युँ गर्दा तथा खोकीबाट एक व्यक्तिबाट अर्कोमा छिट्टै सर्ने गर्दछ ।

दादुरा रोगीको प्रत्यक्ष सम्पर्कमा रहँदा वा हावाको माध्यमबाट पनि यो रोग सजिलै फैलिने गर्दछ । त्यस्तै, खकार, थुक, सिगानको प्रत्यक्ष सम्पर्कमा आउनेलाई पनि यो रोगको संक्रमण सजिलै हुने गर्दछ । दादुराको संक्रमण भएमा यसले स्वासनली र फोक्सोमा असर पार्छ ।

दादुरा विशेष गरी कुपोषित बालबालिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई हुने गर्छ । यसको संक्रमण सातदेखि १० दिनसम्म रहन्छ । केही मानिस छिट्टै नै निको हुन्छन्, तर केहीलाई भने यसले गम्भीर जटिलतातर्फ लैजान्छ ।

दादुराको समयमै उपचार भएन वा बिग्रियो भने यसले मेनेन्जाइटिस, न्यूमोनिया, हेपाटाइटिस, इन्सेफ्लाइटिस, कडा झाडापखालाजस्ता प्राणघातक रोगसमेत निम्त्याउन सक्छ ।

यो रोगको लक्षणमा सुरुमा चिसो लागेको जस्तो हुने, नाकबाट सिगाँन बग्ने, हाच्छ्यँु आउने तथा मुख भित्र सेतो दाग देखिन्छ । केही दिनपछि अनुहार र घाटीको माथिल्लो भागमा विमिरा जस्तो देखिन्छ । विस्तारै ज्वरो आउने, भोक नलाग्ने, थकान र जीउ दुख्ने हुन्छ ।

दादुराको संक्रमण भइसकेपछि आँखा रातो हुने र छालामा ससाना रातो दागहरु आउँछ । त्यो दादुरा टाउकोबाट विस्तारै निधार हुँदै जीउभरी फैलन्छ ।

बच्चाहरुमा देखिने यो रोगको संक्रमण गर्मी महिनामा बढी हुने गर्छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment