Comments Add Comment

मोदी हिँड्ने बाटोमा तारको लठारो व्यवस्थापन सुरु


५ भदौ, काठमाडौं । गत २८ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउनुअघि चावहिलमा रातारात सडक कालोपत्रे गरियो । कारण थियो– मोदी एयरपोर्टबाट चावहिल हुँदै चुच्चेपाटीपिस्थत होटेल हायात पुगेर बस्ने योजना ।

अहिले ठ्याक्कै त्यस्तै झल्को दिने गरी भीआईपीहरु ओहोर–दोहोर गर्ने काठमाडौंको एउटा रुटमा तार व्यवस्थापनको काम सुरु भएको छ । कामको संयोग के परेको छ भने यसपालि पनि मोदी काठमाडौं आउँदैछन् ।

नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र काठमाडौं महानगरपालिकाको समन्वयमा सडकमा यत्रतत्र लत्रिएका तारलाई मिलाउने र बाँध्ने काम भइरहेको छ ।

बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीका राष्ट्रहरुको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ । सम्मेलनमा भाग लिन बिमस्टेक सदस्य रहेका ६ देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख काठमाडौं आउनेछन् । उनीहरु त्रिभुवन विमानस्थलबाट ताहाचलस्थित सोल्टी होटेलसम्मको रुटमा ओहोर–दोहोर गर्नेछन् । त्यसैले सरकारको निर्देशनमा यही रुटमा बिजुलीका पोलमा लत्रिएका तार मिलाउन थालिएको हो ।

कुन रुटमा कसले मिलाउँदैछ तार ?

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार एयरपोर्टदेखि गौशाला चोकसम्मको रुटमा तार व्यवस्थापनको जिम्मा ईन्टरनेट सेवा प्रदायक वेबसर्फर र स्काई केबललाई दिइएको छ ।

यस्तै गौशाला चोकदेखि चावहिलसम्म सुबिसु, चावहिलदेखि होटेल हायातसम्म आईटेल र स्पेसटाईम, तीनकुनेदेखि बानेश्वरसम्म मर्कान्टाइल र ब्रोडलिंकले तार मिलाउने जिम्मा पाएका छन् ।

त्यसैगरी बानेश्वरदेखि माईतीघर मण्डलासम्म क्लासिकटेक, माईतीघरदेखि थापाथलीसम्म वेब केबलले तार व्यवस्थापनको जिम्मा पाएको छ भने थापाथली पुलदेखि टेकु पुलसम्म हिमालय अनलाईन र टेकु पुलदेखि सोल्टी होटेलसम्मको रुटमा भायोनेटलाई तार व्यवस्थापनको जिम्मा दिइएको प्राधिकरणका प्रवक्ता अर्यालले बताए ।

यसमा टेलिकम र प्राधिकरणले पनि सहजीकरण र व्यवस्थापनको काम गरिरहेको उनले जानकारी दिए । तर, यी रुटबाहेक अन्य क्षेत्रमा तार व्यवस्थापनमा भने सरोकारवाला निकायको ध्यान छैन । किनभने त्यहाँ विदेशी पाहुनाको आवत जावत हुनेछैन ।

लाज ढाक्न सधैं टालटुले काम

विदेशी पाहुना आउँदा मात्रै कुरुप सहरको सजावटमा जुट्ने सरकारी रवैया पुरानै हो । सडकमा असरल्ल र बिजुलीका पोलमा अव्यवस्थित तारले दुर्घटनाको जोखिम समेत बढाएको छ । बिजुलीको पोलले भारनै थेग्न नसक्ने तारको लठारो बोकिरहेको छ ।

सडकमा हिँड्दा हिँड्दै तारको लठारो खसेर मान्छे ढाल्ने स्थिति छ । विद्युतका पोलमा टेलिफोन, केवल अपरेटर, ईन्टरनेट सेवा प्रदायक लगायतका कम्पनीका तारको गन्जागोलले काठमाडौं सहरको सुन्दरता समेत कुरुप बनाएको छ ।

विदेशी पाहुनाका आँखालाई केहीबेर भ्रममा राखेर लाज ढाक्न सरकारले गर्ने टालटुले कामप्रति जनमानसले व्यंग्य गर्दै आएका छन् । देशकै राजधानीसमेत रहेको काठमाडौंको सुन्दरता बचाउन पनि तार व्यवस्थापनको दीर्घकालीन योजना तर्जुमा गर्न आवश्यक छ ।

काठमाडौं महानगरपालिकाका सहप्रवक्ता नमराज ढकाल महानगरलाई सुन्दर देखाउन तार व्यवस्थापनको काम जरुरी रहेको बताउँछन् । उनले सबैभन्दा पहिले तीनकुने–माईतीघर रुटमा बिजुलीका पोलमा रहेका तारलाई भूमिगत गर्ने पुरानै योजना सुनाए ।

प्राधिकरणका प्रवक्ता अर्याल पनि तार भूमिगत गर्नेबारे योजना बनिरहेको सुनाउँछन् । तर, यो योजनाले अहिलेसम्म गति लिन भने सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment