Comments Add Comment

अनेसासको चुनाव : कविज्यूवीच कुटाकुट हुनमात्र बाँकी !

भनिन्छ, साहित्यकारहरु समाजका ऐना हुन् । रवि नपुग्ने ठाउँमा कविहरु पुग्छन् । तर, अचेलका कवि त्यस्ता रहेनन् । राजनीतिको दुर्गन्ध कविहरुको नासिकाभित्रै छिरिसक्यो । यसैको उदाहरण हो – बुधबारदेखि हुन लागेको डायस्पोरा कविहरुको अस्वस्थ चुनावी प्रतिस्पर्धा ।

डायस्पोरा साहित्यको प्रवद्धन गर्न खुलेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को १३ औं कार्यसमितिको निर्वाचन बुधबार र विहीबार हुँदैछ । चुनाव आउनै लाग्दा नेपाली कविहरुवीच कुटाकुट मात्रै हुन बाँकी छ, त्यसअघि हुने गाली गलौजका सबै प्रक्रिया पूरा भइसकेका छन् ।
एक त साहित्यकार, त्यसमा पनि विदेशका सभ्य मुलुकमा बसोबास गर्दै आएका कविहरु । उनीहरुले देखाउने संस्कार उच्च नैतिकतायुक्त हुनुपर्नेमा पदीय लुछाचुँडी यति चर्को देखिएको छ कि उनीहरुले नेपालमा हुने राजनीतिक लुछाचुँडीलाई बिर्साइदिएका छन् ।

साहित्यकारहरुको निर्वाचन नजिकिँदै जाँदा उमेद्वारहरु गालीगलौजमा उत्रिएका छन् । निर्वाचनको मैदानमा उत्रिएका संस्थाका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली र महासचिव गोवर्द्धन पूजावीच अध्यक्ष पदका लागि चुनावी भिडन्त हुँदैछ ।

अध्यक्षका प्रत्याशीहरुको आरोप प्रत्यारोपसँगै पक्ष-विपक्षमा संस्थाका साधारण सदस्यहरु पनि गम्भीर आरोप प्रत्यारोपमा उत्रेका छन् । विश्वका ५० देशका सय च्याप्टरमा फैलिएको यो संस्थाको निर्वाचनमा अनलाइनमार्फत करिब १ हजार ६ सय साहित्यकारले मतदानमा भाग लिँदैछन् । यो संस्था नेपाली साहित्यकारहरुको सबैभन्दा ठूलो संस्था मानिन्छ ।

संस्थाले एक अध्यक्षसहित १२ पदको निर्वाचन गर्नेछ । त्यसमा एकजना बरिष्ठ उपाध्यक्ष, चारजना उपाध्यक्ष, एकजना महासचिव एकजना सचिव, एक जना कोषाध्यक्ष, तीन जना सदस्य रहने व्यवस्था गरिएको छ । ४ उपाध्यक्षले एसिया, युरोप, अस्ट्रेलिया र अमेरिका गरी ४ महादेशको प्रतिनिधित्व गर्नेछन् । बाँकी पदाधिकारीले केन्द्रीय कमिटी सञ्चालन गर्ने व्यवस्था अनेसास विधानले गरेको छ ।

अध्यक्षको निर्वाचनमा चर्को बहस भए पनि बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माइला, उपाध्यक्षहरु भीमसेन सापकोटा, निशा अर्याल र सुनिल संगम र कोषाध्यक्ष निर्विरोध निर्वाचित भैसकेका छन् ।

बाँकी पदहरुमा लेकालीपक्षका उपाध्यक्षमा प्रकाश नेपाल, पहासचिवमा रामप्रसाद खनाल, सचिवमा लालगोपाल सुवेदी र सदस्यहरुमा लारा (लक्ष्मी राई) बेलायत, कृषबाबु गुल्मेली (कोरिया) सानु घिमिरे अस्ट्रेलिया निर्वाचनमा होमिएका छन् ।

त्यसैगरी अर्कोतर्फबाट अध्यक्षमा गोबर्धन पूजा, सचिवमा राजकुमार पुडासैनीले उमेद्वारी दिएका छन् भने उपाध्यक्षमा शान्तिराम ढकाल, महासचिवमा गणेश घिमिरे र सदस्यमा अग्निनाथ शर्माले आफूहरु कसैको प्यानलमा नभई स्वतन्त्ररुपमा उमेद्वारी दिएको दाबी गरेका छन् ।

राधेश्याम र गोबर्धनवीच भनाभन

अध्यक्षका प्रत्यासी रहेका गोवर्द्धन पूजाले अनेसासका नाममा राधेश्याम लेकाली र उनको समूहले संस्थालाई एकलौटी ढंगले अघि बढाएको हुँदा त्यसको विरुद्धमा आफ्नो उमेद्वारी आएको बताएका छन् ।

अध्यक्षका प्रत्यासी गोबर्द्धन पूजाले अर्का प्रत्यासी लेकालीलाई संस्थाका बरिष्ठ उपाध्यक्ष भएर सदस्यतावापतको शुल्क आफ्नो गोजीमा राखेको, साहित्यकारहरुलाई विदेश लैजाने क्रममा कोरियाका लागि ३५ हजार, जापानका लागि ५० हजार अतिरिक्त शुल्क लिएको, अनेसास सक्न नेपालमा त्यही नामको अर्को संस्था खोलेको र तानशाहीरुपमा अघि बढेको आरोप लगाएका छन् ।

त्यसैगरी प्रतिसाहित्यकारहरुसँग उठाएको १० हजार रुपैयाँ जम्मा गरेर आफ्नो निजी घरमा लगानी गरेको आरोप पनि गोबर्धनले लगाएका छन् । गोबर्द्धन पूजाको यो आरोपसँगै संस्थामा विभिन्न आरोप प्रत्यारोप र गाली गलौच सुरु भएको छ ।

अध्यक्षका अर्का प्रत्यासी राधेश्याम लेकालीले साहित्यिक पत्रकार संघको सचिव हुँदा आफूले गर्नुपरेको कामलाई लिएर निश्कृय रहेको आरोप लगाउँदै संस्थामा पद ओगटेर काम नगर्ने आफ्नो प्रवृत्ति सम्झन आग्रह गरेका छन् ।

लेकालीले गोबर्धनका बारेमा भनेका छन्- ‘संस्थाको आवद्धता र उमेरका हिसाबले कान्छो भएका कारण उहाँलाई आरोप लगाउँन चाहन्न । तर पदमा रहँदा उहाँका क्रियाकलापका बारेमा साहित्यकार निलम कार्की निहारिका, कृसु क्षेत्री, मनोज न्यौपाने लगायतले दिनुभएको नसिहत याद राख्न आग्रह गर्दछु ।’

सामाजिक सञ्जालमा गोबर्द्धन पूजाले अन्तर्राष्ट्रिय साहित्य समाजमा महासचिव हुँदा माइन्युटसम्म नराखेको, संस्थाको सम्मेलनहरुमा भाग लिन नगएको र जिम्मेवारी पूरा नगरेको भन्दै लेकालीले आफूमाथि लगाएका आरोपहरुको पुष्टि गर्न भनेका छन् ।

अध्यक्षका प्रत्याशीहरुले सामाजिक सञ्जालमा पोष्ट गरेका विचारहरु हामीले यहाँ जस्ताको त्यस्तै पस्केका छौं-

राधेश्याम लेकालीलाई ४ प्रश्न : गोबर्धन पूजा

राधेश्याम लेकालीज्यू, उमेर र अनुभवले मभन्दा जेठो हुनुहुन्छ । त्यसैले मैले तपाईलाई सम्मानका साथ ‘लेकाली दाइ’ नामले सम्बोधन गर्ने गरेको छु, एकपटक दशैंमा तपाईको हातको टीका पनि थापेको छ ।

झन्डै २५ बर्षदेखि हामी एकै बाटोका सहयात्री बनेका छौं । यसक्रममा तपाईको नेतृत्वमा बनेको साहित्यिक पत्रकार संघमा म सचिव बनेर काम गरेको अनुभव र तपाईको कार्यशैली मलाई राम्ररी थाहा छ । झन्डै ३ बर्षे त्यो सहयात्रामा मैले तपाईबाट धेरै राम्रा नराम्रा कुरा सिक्ने अवसर पाएको छु । (तर राम्रा कुरालाई मात्रै आत्मसाथ गरेको छु ।) संस्थामा लिसो बन्ने तपाईको प्रवृत्ति स्वरूप मैले १० बर्षअघि नै छोडेको साहित्यिक पत्रकार संघमा तपाई अझै स्वघोषित अध्यक्ष नै हुनुहुन्छ ।

समयले आज हामीलाई एकै मैदानको खेलाडी बनाएको छ । हारजित स्वाभाविक प्रक्रिया हो । अंकगणितीय जीतले अहंकार बढाउँछ त्यसैले मनलाई जित्ने प्रयास गरौं ।

१. तपाई नेपालका थुप्रै संघ सस्थासँग सम्वद्ध हुनुहुन्छ । अनेसास विदेशमा बस्ने भाषा साहित्यसेवीका लागि एकमात्र साझा संस्था हो । त्यसैले तपाईको सानो त्यागले मात्रै पनि अनेसासले नाम अनुसारको परिभाषा पाउनेछ । अनेसासलाई अन्तरराष्ट्रिय नेपाली साहित्य समाज नै बनाउन मद्दत गर्नुस्, न कि नेपाल साहित्य समाज ? त्यसैले मेरो उमेद्वारीलाई स्वीकार गरी सहयोग गर्न अनुरोध गर्दछु ।

२. तपाईले ६ वर्ष बरिष्ठ उपाध्यक्ष र नेपाल च्याप्टरको अध्यक्ष एकै व्यक्ति बनेर ताना शाह ?? प्रवृत्तिको विकास गर्नुभयो । त्यसैले आधाभन्दा बढी नेपालका आजीवन सदस्य तपाईको कार्यशैलीप्रति असन्तुष्ट छन् । ती सदस्यको आवाजलाई तपाईले सुन्न पनि चाहनुभएन । केवल शक्ति विस्तारका नाममा अनेसासलाई नेपालका जिल्ला-जिल्लामा विस्तार गर्नतर्फ लाग्नुभयो ।

मैले कार्यसमितिको प्रत्येक बैठकमा महासचिवको हैसियतले सचेत गराएको पनि हो, तर टेरपुच्छर लगाउनुभएन । नेपालमा शाखा विस्तार गर्दा त्यहाँका पदाधिकारीलाई थाहा पनि दिनुभएन कि उहाँहरू केन्द्रको विधानअनुरुप केन्द्रीय  कार्यसमितिमा उमेद्वारी दिन पनि योग्य हुनुहुन्न भन्ने । केवल १० हजार रुपैयाँ बटुल्नतर्फ मात्रै ध्यान दिनुभयो ।

३. म चाहन्छु, साहित्यिक पदलाई सेवाका रुपमा विस्तार गरिनुपर्छ । यसलाई पेशाका रुपमा अगाडि बढाउनुहुँदैन । यो दृष्टिलाई मान्य हो भने अनेसासका लागि तपाईभन्दा म उपयुक्त हुन सक्छु । तपाईले साहित्यिक पदलाई सधैं पेशाका रुपमा अघि बढाउनुभयो । साहित्यिक सम्मेलनमा जान चाहने साहित्यकारलाई निरुत्साहित बनाउन पहिले नै दर्ता शुल्कका नाममा । कोरिया जानका लागि ३५ हजार, जापान जानका लागि ५० हजार रकम माग गर्नुभयो ।

४. अनेसास नेपाललाई नेपाल च्याप्टरका रुपमा दर्ता नगरी ‘अनेसास नेपाल’ भनेर छुट्टै संस्थाका रुपमा दर्ता गराउनुभयो । मैले यसको बिरोध गर्दा अनेसास नै टुक्र्याइदिने धम्की दिनुभयो । अब भन्नुस् आˆनो स्वार्थका लागि घर नै भत्काउन चाहने तपाईलाई कसरी अनेसासको मूलीका रूपमा स्वीकार गर्ने ?

यसैले तपाईका निजी स्वार्थ पूरा गर्ने तपाईसँग नेपालमै थुप्रै संस्था छन् । विदेशमा बस्ने भाषा साहित्यसेवीको संस्थामा तपाईको कुदृष्टि नपरोस् भनेर मैले आम आजीवन सदस्यको प्रतिनिधित्व गरेको मात्रै हुँ ।

यसपटक मलाई अनेसासलाई अनेसास नै बनाउन सहयोग गर्नुस् । म कुनै पक्षको नभई निश्पक्ष भएर सेवा गर्ने प्रण गर्दछु । तपाईको अनुभवको कदर गर्दै म तपाईलाई सल्लाहकारका रुपमा मनोनित गराउने प्रयास गर्ने छु । धन्यवाद !

दसैंमा टीका लगाएको भाइ गोवर्धन पूजा,अध्यक्ष प्रत्याशी अनेसास केन्द्रीय कार्यसमिति

झूठको खेती गरी चरित्र हत्या नगरौं- राधेश्याम लेकाली

मेरा नाममा प्रश्न गर्नुहुने अनेसासको अध्यक्ष पदका प्रत्यासी श्री गोवर्धन पूजाज्यू ! यहाँले निर्वाचनको संघारमा आएर निर्वाचनलाई प्रभाव पार्ने ध्येयबाट गर्नुभएको अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

निर्वाचन एउटा प्रजातान्त्रिक प्रक्रिया हो । अनेसासजस्तो साहित्यिक संस्थाको निर्वाचन स्वस्थ्य तवरमा हुनुपर्छ । समाजलाई निर्देश गर्ने साहित्यिक क्षेत्रलाई स्वच्छ राख्नुपर्छ ।

साहित्यिक पत्रकार संघमा मेरो उपस्थिति ४० को दशकदेखि हो । म ०४० सालमा पहिलो मनोनित सदस्य भएपछि ०४३ मा निर्वाचित सचिव, ०५६ सालमा निर्वाचित महासचिव र ०६० सालमा निर्वाचित अध्यक्ष भई ०६४ सालमा आˆनो कार्यकाल पूरा गरेपछि मैले संस्थापक अध्यक्ष भवानी घिमिरेज्यूलाई पद हस्तान्तरण गरेको र ०६६ भदौ ६ मा उहाँको देहावसान भएपछि पूर्वअध्यक्ष अच्युतरमण अधिकारी सभापति हुनुभयो । उहाँले छोड्नु भएपछि पुनः मेरो नेतृत्वमा यो संघ चलिरहेको छ ।

म महासचिव रहँदा गोवर्धन पूजाज्यू तपाईंलाई मनोनित गरेको र पछि म अध्यक्षमा निर्वाचित हुँदा तपाईं सचिव रहेको । तर, तपाईंले आˆनो जिम्मेवारी पूरा नगरेकै कारण साहित्यकारहरू कृसु क्षेत्री, नीलम कार्की निहारिका, मनोज नेउपानेलगायतले पाक्षिक कवि गोष्ठीको जिम्मेवारी लिएको स्मरण गराउँछु ।

मैले अनेसासबाट प्रकाशित हुने ‘अन्तरदृष्टि’ को ०५६ सालमा सम्पादन गरेको, २००९ मा एनआरएनसँगको सहकार्यमा अनेसासबाट सदस्यसचिव भएर साहित्य उत्सवको आयोजना गरेको, २०१०-२०१२ मा ‘अन्तरदृष्टि’ को प्रधानसम्पादकमा मनोनित भएर केन्ऽीय सदस्यको जिम्मेवारी वहन गरेको, २०१२ देखि निरन्तर तीन पटक वरिष्ठ उपाध्यक्षमा रही काम गर्दै आएको छु ।

यसैबीच तपाईं सिधै महासचिवमा आई दुई कार्यकाल बिताउनुभएको हो । तपाईं आफ्नो दुई कार्यकालमा अमेरिका बाहिर भएका कुनकुन अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुनुभयो ? संस्थाले गरेका बैठकहरूका माइन्युट केकति राख्नुभएको छ ? तपाईंलाई नै थाहा छ । निर्वाचनको मुखमा तपाईंले जस्तो चरित्र हत्या गर्ने मेरो रत्तिभर नियत छैन ।

नेपालमा अनेसास नेपालकै कानुनअनुरूप दर्ता गरिएको हो भन्ने कुरा तपाईंलाई पनि थाहा हुनुपर्ने हो ।

अनेसास अमेरिकामा दर्ता भएको संस्था हो । यस अर्थमा पनि नेपाल अन्तरराष्ट्रियभित्रै पर्‍यो । नत्र त राष्ट्रिय संस्था भइहाल्यो नि ! अनेसासको च्याप्टर नेपालमा सुरुदेखि नै खुलेको हो । यसका संस्थापक सदस्य लव गाउँलेज्यू आफैंले खोल्नुभएको हो । फेरि पछि वियोगी बुढाथोकीज्यू अध्यक्ष भएका बेला तपाईंलाई कार्यसमितिमा मनोनयन पनि गरेको हो । तपाईं आफू बस्दा मात्र ठीक हुने त होइन होला नि !

नेपालमा आजीवन सदस्य बनाउन मिल्ने, केन्द्रीय पदाधिकारीमा वरिष्ठ उपाध्यक्षसम्म पटक-पटक बनाउन मिल्ने अनि अध्यक्षमा नमिल्ने भन्ने अनेसासको विधानमा कहाँ उल्लेख छ ? थाहा पाउन पाए हुन्थ्यो ।

केन्द्रमा र च्याप्टरमा एउटै व्यक्तिले प्रतिनिधित्व गर्न नहुने भन्ने पनि विधानमा कहाँ उल्लेख छ ? यस्तो नेतृत्व गर्ने म मात्र छैन, यो कुरा तपाईंलाई पनि राम्ररी थाहा छ ।

अनेसासको अध्यक्ष पदमा मेरो उमेद्वारी हुनुअघि नै नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा कानुनी सल्लाहकार कमला वलीको संयोजकत्वमा निर्वाचन समिति गठन गरी हालको उपाध्यक्ष उन्नति बोहरा ‘शीला’ लाई कार्यवाहक अध्यक्ष घोषणा गरिसकेको कुरा सर्वविदितै छ ।

अनेसास नेपाली भाषा साहित्यको उत्थानका लागि खोलिएको संस्था हो । जहाँजहाँ नेपाली साहित्यका सर्जकहरू छन्, त्यहाँ त्यहाँ अनेसासको पहुँच पुग्नुपर्छ । म अनेसासमा आउनुअघि नै चितवन, भैरहवा, काभ्रेलगायतका ठाउँहरूमा अनेसासका च्याप्टरहरू खुलेका थिए । नेपालमा धेरै च्याप्टर खोल्दा केन्ऽले अनुगमन र नियन्त्रण गर्न असजिलो हुन्छ भनेर नेपाल च्याप्टरअन्तर्गत रहने गरी समिति बनाइएको हो । नारायणी समितिको उदघाटनको बत्ती बाल्दाको साक्षी तपाईं स्वयं हुनुहुन्थ्यो ।

अनेसास फैलिनु राम्रो कि खुम्चिनु पूजाजी ? कोही व्यक्ति पनि विधान विपरीत संस्थामा पद ओगटेर बस्दैन भन्ने कुरामा हेक्का राख्नु उपयुक्त होला !

अनेसासको विधानले व्यवस्था गरेअनुसार सबै सदस्यहरूबाट एक सय डलर लिइएको हो । जसमध्ये विधानबमोजिम नै केन्द्रले ५० र च्याप्टरले ५० डलर राख्ने प्रावधान छ, जसको हिसाब तपाईंले केन्द्रीय कोषाध्यक्षबाट लिन सक्नुहुन्छ । कुरा एक सय डलरको होइन, सदस्य विस्तारको हो । सबैलाई समेट्ने कुरा हो ।

म नेपाल केवल टेलिभिजन महासंघजस्तो गरिमामय संंस्थाको कार्यकारी निर्देशक पदमा कार्यरत छु । यसबाहेक पनि मेरा अन्य कामहरू छन् । अनेसासमा सेवा गर्न आएको हुँ । यहाँ बसेर कसैले कमाउने सोच नबनाउँदा पनि हुन्छ । त्यो पनि नेपालमा बसेर ।

संसारभरिका सम्मेलनहरूमा सहभागी हुन जाँदा आफ्नै पैसा लगानी गरेर जाने हो । तपाईं कुनै पनि देशमा भएका सम्मेलनमा नजानु भएकाले यसबारे तपाईंलाई अनुभव नहोला । जुन देशमा कार्यक्रम भएका छन्, ती देशहरूमा रहेका आयोजक च्याप्टरहरूले दर्ता शुल्क लिने गरेका छन् । जापान सम्मेलनमा एक हजार यान, पर्थ सम्मेलनमा ५० डलर, सिक्किम सम्मेलनमा एक हजार भारु आदि ।

यी रकमबाहेक कहीँकतै गैरकानुनी ढंगले रकम उठाइएको छैन । यस्तो निराधार आरोप लगाएर चुनाव जित्छु भन्ने भ्रम नपाल्नुस् । यो आरोप प्रमाणित गर्नुहोला ।

कोरिया सम्मेलनमा जानेमा अनेसासका केन्द्रीय सल्लाहकार प्रा.डा खगेन्द्रप्रसाद लुइँटेल, ऋषि बराल, कमला रिसाल, जापान सम्मेलनमा जानेमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, सविता गौतम दाहाल तथा अस्ट्रेलियाको पर्थ सम्मेलनमा जानेमा डा. लक्ष्मणप्रसाद गौतम, सन्ध्या पहाडी, बाबा बस्नेत, युवराज नयाँघरे, डा. रेणु थापा सोलु, ऋषि बराल, राजेन्द्र के.सी., कमला रिसा ललगायत हुनुहुन्छ । उहाँहरूले के-कति रकम दिनुभयो भनी उहाँहरूसँगै सोध्नुहोला ।

निर्वाचनको मुखमा आएर निर्वाचन जित्नकै लागि एउटा ६० वर्ष नाघेको आफ्नो प्रतिस्पर्धीमाथि तपाईंले यति घीनलाग्दो, कपोलकल्पित र निराधार आरोप लगाउनुभयो । साढे दुई दशकदेखिको एउटै साहित्यिक यात्रा गरेका हामीबीचको सबै सम्बन्ध आज तोड्नुभयो । के पद नै सबै कुरा हो त ? स्वस्थ्य प्रतिस्पर्धा गरौं ।

अब आदरणीय मतदाता सदस्यज्यूहरूलाई नै निर्णय गर्ने अधिकार छ । गालीगलौज बन्द गरौं ।

संस्थाभित्र म मात्र होइन तपाईंभन्दा प्रकाश पौडेल माइला, भीमसेन सापकोटालगायतका वरिष्ठ साथीहरू कार्यसमितिमा हुनुहुन्छ ।

उहाँहरूलाई उछिनेर अध्यक्ष पदमा हामफाल्ने तपाईंको योजना अवश्य खुल्नेछ । तपाईंले संस्थाभित्र गरेका क्रियाकलाप र योगदानबारे जगजाहेरै छ । म हरेक हिसाबले तपाईंभन्दा सिनियर भएकाले यसपटक अनेसासको अध्यक्ष पद मलाई छोडिदिनुहोस् । यदि त्यसो गर्न सक्नुहुन्न भने स्वस्थ प्रतिस्पर्धा गरौं । जितहार जसको भए पनि एकअर्काको अस्तित्व स्वीकारौं । अरूलाई होच्याएर आफू कहिल्यै अग्लो भइँदैन ।

अब सबै कुरा मतदाताज्यूहरूको हातमा छ । निर्वाचनको निर्णय स्वीकारौं । भ्रमको खेती नगरौं । निराधार झूठको खेती गरी चरित्र हत्या गर्ने प्रयत्न नगरौं ।

मेरा भाइ गोवर्धन पूजाको जय होस् ! भलो होस् ।

राधेश्याम लेकाली, अनेसास अध्यक्ष पदका उमेद्वार

बहिस्कारको चेतावनी

तर, अध्यक्षका प्रत्यासीहरु नै गालीगलौजमा उत्रिएपछि वरिष्ठ साहित्यकारहरुले दुबै अध्यक्षलाई बहिस्कार गर्ने चेतावनी दिन थालेका छन् ।
‘साहित्यकार आफैंमा गरिमायमय पद हो । त्यसमाथि अन्तर्राष्ट्रिय साहित्य समाजको २७ वर्षको इतिहास छ ।

यस्तो संस्थामा निर्विरोध निर्वाचित हुनुपर्नेमा अध्यक्ष पदका लागि एक अर्कामा आरोप लगाउनु राम्रो नियत होइन ।’ कवि उषा शेरचन भन्छिन्, ‘अब संस्थाको हितका लागि पनि दुईमध्ये एक प्रत्यासीले आत्मआलोचनासहित प्रत्यासीबाट हट्नुपर्छ । यसो नगरे हामी दुबैलाई बहिस्कार गर्न बाध्य हुनेछौं ।’

कुनै फाइदा नहुने बरु आफ्नो काम छाडेर सेवा गर्नुपर्ने पदका लागि निम्न स्तरको गालीगलौज र आरोप-प्रत्यारोपले साहित्यकारलाई चिन्तित बनाएको शेरचनले बताइन् । शेरचनले सार्वजनिकरुपमै दुईमध्ये एक प्रत्याशीले उमेद्वारी फिर्ता लिन चेतावनी दिएकी छिन् ।

पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक कल्याण पन्त, चर्चित नाटककार अशेष मल्ल, डा.श्याम कार्की, संस्थाका पूर्वअध्यक्ष मोहन सिटौला, गीता खत्री, निवर्तमान अध्यक्ष पदम विश्वकर्मा, सल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलहरुले पनि संस्था निर्बिरोध हुनुपर्ने भन्दै यसअघि अध्यक्षका प्रत्यासी भारती गौतमको उम्मेद्वारी फिर्ता गराएका थिए ।

‘हामीले तीनपटक वरिष्ठ उपाध्यक्ष सम्हालेका राधेश्याम लेकालीलाई अध्यक्ष दिएर महासचिव भएका गोवर्धन पूजालाई अर्को कार्यकालका लागि अध्यक्ष बनाउन पहल गरेका हौं ।’ संस्थाका निवर्तमान अध्यक्ष पदम विश्वकर्माले अमेरिकाबाट अनलाइनखबरसँग कुरा गर्दै भने, ‘हाम्रो कुरा नसुन्दा संस्थामा अलिकति समस्या आएको छ ।’

लेकालीको प्यानल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment