Comments Add Comment

जिल्लामा बढारियो माधव नेपाल गुट, ओलीसँग प्रचण्डको गुनासो- यो त अलि भएन

६ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जिल्ला कमिटीहरुको एकतालाई लिएर आन्तरिक विवाद चर्किएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले माधव नेपाल समूहलाई लखेटेको आरोप लागेपछि प्रचण्डसमेत ओलीसँग असन्तुष्ट बनेका छन् ।

माधव नेपाल समूहका एक नेताका अनुसार ओली पक्षले विभिन्न जिल्लामा विपक्षलाई बढार्ने अभियान चलाएको छ । आफ्नो गुटको जिल्ला अध्यक्ष हुने ठाउँमा आफैले लिने र माधव नेपाल पक्षबाट अध्यक्ष हुने ठाउँमा हुन नदिने रणनीति ओली पक्षले अपनाएको गुनासो माधव नेपाल पक्षका नेताहरुको छ ।

विभिन्न जिल्लामा ओली पक्षले नेपाल पक्षलाई बढार्ने अभियान चलाएको भन्दै केही शीर्ष नेताले अध्यक्ष ओलीसँग गुनासो पोखेका छन् । पार्टी नेता ईश्वर पोखरेल र अध्यक्ष प्रचण्डले समेत विधि र प्रक्रिया मिचेर जिल्ला अध्यक्ष नतोक्न र वरिष्ठलाई पहिलो प्राथमिकता दिन ओलीलाई दबाव दिएका छन् ।

कसरी ओली पक्षले जिल्ला कमिटीमा एकलौटी गरिरहेको छ त ? यो प्रश्नको जवाफमा माधव नेपालनिकट एक नेताले प्रदेश ५ को दृष्टान्त हेर्न आग्रह गरे ।

प्रदेश ५ को लफडा

पार्टी एकीकरण हुँदा दाङको अध्यक्ष एमालेको भागमा परेको छ । तर, यहाँ माधव नेपाल पक्षका नेता सिनियर हुँदाहुँदै मुख्यमन्त्री शंकर पोखरेलका नातेदारलाई अध्यक्षमा प्रस्ताव गरिएको गुनासो नेपाल पक्षको छ ।

तत्कालीन एमालेको दाङ जिल्ला अधिवेशन हुँदा केपी ओलीनिकट शंकर पोखरेल समूहले बहिस्कार गरेको थियो । तर, अहिलेका प्रदेश इञ्चार्ज विष्णु पौडेलले पहल गरेर दुबै पक्षलाई मिलाएका थिए । त्यसबेला टीकाराम खड्का अध्यक्ष बनेका थिए । अहिले दुई पार्टीको जिल्ला कमिटी बनाउँदा टीकारामलाई पाखा लगाइएको छ ।

ओलीको पक्षमा नभएकै कारण टीकारामले स्थानीय तह र प्रदेशमा पनि टिकट पाएनन् । उपाध्यक्षले पनि कुनै जिम्मेवारी पाएनन् । सचिव प्रदेशका सांसद भइसकेका छन् । यो अवस्थामा मुख्यमन्त्रीका नातेदार शिव आचार्यलाई टिपेर जिल्ला अध्यक्षमा प्रस्ताव गरिएको छ ।

‘जिल्ला अधिवेशनबाट चुनिएको कमिटीका झण्डै ७० प्रतिशतलाई आउट गरेर मनोमानी ढंगले आफ्ना मान्छे ल्याइएको छ’ दाङका एक नेताले अनलाइनखबरसँग भने ।

प्रदेश ५ को अर्को जिल्ला रोल्पामा अध्यक्ष तत्कालीन माओवादीले पाएको छ भने सचिव तत्कालीन एमालेले पाएको छ । तर, यहाँ पनि ओलीपक्षले एकलौटी गरेको माधव नेपाल पक्षको आरोप छ ।

तत्कालीन एमालेमा हरि घर्ती अध्यक्ष थिए । उनी अहिले सचिव बन्न तयार छन् । तर, उनी मात्र होइन, उपाध्यक्ष र सचिवले पनि जिम्मेवारी पाएनन् । अहिले जिल्ला कमिटी बाहिरबाट ल्याएर ओली गुटका व्यक्तिलाई सचिवमा प्रस्ताव गरिएको गुनासो नेताहरुको छ ।

त्यसैगरी अर्घाखाँचीका पूर्वएमाले अध्यक्ष चेतनारायण आचार्य प्रदेशसभा सदस्य भइसकेका छन् । उपाध्यक्ष र सचिव छन् । त्यहाँ एमालेले अध्यक्ष पाएको छ । तर, तत्कालीन एमालेको जिल्ला अधिवेशनमा सचिवमा चुनाव हारेकालाई अध्यक्ष बनाउने प्रस्ताव गरिएको छ ।

रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाल समूह छन् । तत्कालीन एमालेको जिल्ला अधिवेशन हुँदा सहमतिमा शिव सुवेदीलाई अध्यक्ष र पुरुषोतम घिमिरेलाई उपाध्यक्ष बनाइएको थियो । दुई नेताबीच सुवेदी अर्को जिम्मेवारीमा जाँदा घिमिरे अध्यक्ष हुने सहमति भएको थियो ।

सुवेदी बुटवल उपमहानगरको प्रमुख भए । घिमिरे प्रदेश र स्थानीय तहमा गएनन् । तर, अहिले भुसाल निकट घिमिरेलाईै बाइपास गरेर ओली पक्षमा गोपाल भट्टराईलाई अध्यक्षमा प्रस्ताव गरिएको छ ।

पाल्पाका तत्कालीन एमाले अध्यक्ष जनप्रतिनिधि भए । तर, उपाध्यक्ष मोहनबहादुर थापा अध्यक्ष हुन पाएनन् । पूर्वसांसद राधाकृष्ण कँडेललाई अध्यक्षमा अघि सारिएको छ । यहाँ पनि ओलीपक्षले रोलक्रम मिचेको माधव नेपाल पक्षको गुनासो छ ।

देशव्यापीरुपमा ओली पक्षले एकलौटी गरिरहँदा पनि शीर्षनेता माधव नेपाल भने चुप लागेर बसेको गुनासो जिल्ला-जिल्लाबाट पीडित नेताहरुले गर्न थालेका छन् ।

अरु जिल्लामा सिनियरहरुलाई पाखा लगाएर कनिष्टलाई सिफारिस गरिए पनि गुल्मीमा भने ओली पक्षले सिनियरलाई प्राथमिकता दिनुपर्ने तर्क अगाडि सारेको छ । गुल्मीका अध्यक्ष, उपाध्यक्ष र सचिव स्थानीय तहमा गएका छन् । ओली पक्षका सहसचिव बालकृष्ण काउछा बाँकी छन् । अहिले उनलाई नै अध्यक्ष प्रस्ताव गरिएको छ ।

‘अरु जिल्लामा एमालेको तत्कालीन कमिटीमा भएकालाई पाखा लगाइयो । गुल्मीमा सहसचिवलाई नै प्रस्ताव गरिएको छ’ एक नेता भन्छन्, ‘किनकि उनी ओली समूहका हुन् ।’

त्यसैगरी बाँकेमा तत्कालीन माओवादीले अध्यक्ष र एमालेले सचिव लिने सहमति भएको छ । तर, सचिवमा उपाध्यक्ष, सचिव र उपसचिवलाई दिइएन । किनभने उनीहरु कोही पनि ओली गुटका होइनन् ।

बाँकेमा सिनियर पदाधिकारीलाई बाइपास गरेर एमालेको जिल्ला अधिवेशनमा सचिव पदमा हारेका गोपाल गिरीलाई सिफारिस गरिएको छ । एक नेता भन्छन्, ‘अरु जिल्लाहरुमा त्यस्तै छ । फरक समूहबाट नेतृत्वमा आउनेवाला छन् भने कि त हडपेर आफ्नो समूहबाट ल्याइएको छ, कि त माओवादीलाई दिइएको छ ।’

देशव्यापीरुपमा ओली पक्षले एकलौटी गरिरहँदा पनि शीर्षनेता माधव नेपाल भने चुप लागेर बसेको गुनासो जिल्ला-जिल्लाबाट पीडित नेताहरुले गर्न थालेका छन् ।

जिल्लामा ओली पक्षबाट पेलिएकाहरुले आफ्नो गुनासो प्रचण्ड, ईश्वर पोखरेललगायतका नेताहरुसँग पनि पोख्न थालेपछि पोखरेल र प्रचण्ड दुबै नेताहरुले वरिष्ठताका आधारमा जिल्ला अध्यक्ष तोक्न ओलीलाई दबाव दिएको स्रोतले अनलाइनखबरलाई बतायो । प्रचण्डले ओलीलाई यो त अलि ठीक भएन, प्रक्रियासम्मत ढंगले गर्नुपर्‍यो भनेर सम्झाएको स्रोतले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment