Comments Add Comment

वीरगञ्ज पुगेर कम्युनिस्ट नेताहरुले भने : मधेसमा मार्क्सवादको खडेरी छ

६ भदौ, वीरगञ्ज । कम्युनिस्ट नेता कार्ल मार्क्सको द्विशतवाषिर्कीको अवसरमा बुधबार वीरगञ्जमा ‘मधेसमा मार्क्सवाद’ विषयक गोष्ठी सुरु भएको छ । गोष्ठीको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरे ।

कार्यक्रममा नेताहरुले मधेसमा मार्क्सवादको खडेरी रहेको भन्दै मार्क्सवादबाटै मधेसको विकास हुने दावी गरे । मधेसमा विद्यमान गरिबी, अशिक्षा, असमानता र विभेदको अन्त्य गर्न माक्र्सवाद आवश्यक रहेको तर्क भन्दै उनीहरुले विभेद र असमानताको अन्त्य मार्क्सवादबाट मात्रै संभव रहेको दावी गरे ।

नेता झलनाथ खनालले लोकतन्त्र सुदृढ गर्न नेकपा नै लाग्नुपर्ने बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र कलिलो छ, परिस्कृति हुन सकेको छैन अझै व्यवस्थित, प्रभावकारी बनाउन आवश्यक छ । हुन त यो सबैको साझा दायित्व तर त्यसको नेतृत्व नेकपाले लिनुपर्छ’ उनले भने ‘लोकतन्त्र बलियो र व्यवस्थित नबनाएसम्म साम्यवादमा पुग्न सक्दैनौं ।’

मधेसमा धेरै समस्या रहेको भन्दै उनले यसमा सरकारले धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘सीमानाको समस्या अझै हल हुन सकेको छैन, कतै गएर नेपालको यो नक्सा हो भनेर देखाउन सक्ने अवस्था छैन, कपिलबस्तु, सुस्ता, महाकालीको शिर लिपुलेक हो कि कता हो भन्ने टुंगो लागेको छैन’ नेता खनालले भने ‘खुल्ला सीमा नाका सुगम र अप्ठेरो दुवै छ । त्यसलाई पनि व्यवस्थित बनाउनुछ । असमान सन्धीलाई मिलाउनुपर्नेछ ।’

नेकपाका नेता घनश्याम भुसालले माक्र्सवादले मात्रै मान्छेलाई मान्छेजस्तै बनाउने बताए । ‘अहिले तराई मधेसमा धनीलाई गरिब विरुद्ध, गरिबलाई धनीविरुद्ध लडाउने अनि फाइदा लिने काम भइरहेको छ । जनक र बुद्धका सन्तानहरु बोक्सीको नाममा कुटिएका छन्’ उनले भने ‘जडता, पछौटेपनको अन्त्य गर्न, चाकरी, दलाली र चाप्लुसीको बलमा शासन गर्ने क्रमलाई समाप्त पार्न, सम्पूर्ण वौद्धिक परम्परालाई जोगाउन मधेसमा माक्र्सवाद आवश्यक छ ।’

दुई दिने गोष्ठीपछि मधेसमा माक्सवादको भूकम्पीय प्रभाव देखापर्ने र कम्पन ल्याउने दावी उनको छ ।

नेता नागेन्द्र चौधरीले मधेसमा विभिन्न वाद देखा परेको भए पनि माक्र्सवादको विकल्प नदेखिएको बताए । ‘मधेसवाद कुनै दर्शन, सिद्धान्त वा वाद होइन, त्यो त भावनात्मक कुरा हो । तर यहाँ मधेसवादको नाममा आन्दोलन भयो, माक्र्सवाद कमजोर भएकै कारण यस्तो अवस्था आएको हो’ उनले भने ‘मार्क्सवाद संकटमा परेको मधेसमा माक्र्सवाद फैलाउनुछ । त्यसका लागि सम्पूर्ण नेता कार्यकर्ताहरुले माक्र्सवादको अध्ययन गर्न र बुझ्न जरुरी छ ।’

पहिलो दिनको विचार सत्रमा नेकपा नेता डा विजय पौडेलले माक्र्सवाद, यसको उत्पत्ति र उपयोग, मोहनविक्रम सिंहले समसामयिक राजनीति, गणेश साहले समाज विज्ञान, अनुसन्धान तथा राम कार्कीले माक्सर्वादको वर्तमान परिस्थिति र समाजवादको बारेमा धारणा राखेका छन् ।

दोस्रो दिन नेता रामचन्द्र झाले मधेसमा वर्ग संघर्ष र पहिचानका सवालमा धारणा राख्नेछन् । त्यसपछि बाँकी रहेको समयमा मधेसमा कसरी मार्क्सवादको विकास गर्ने भन्ने बारे समूहगत छलफल गरिने आयोजकले जनाएको छ । गोष्ठीमा प्रदेश नं २ का ८ वटै जिल्लाका नेकपाका नेता कार्यकर्ताहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment