Comments Add Comment

‘सीबीटी’ परीक्षा आजबाट, यस्ता छन् परीक्षाका नियम

८ भदौ, काठमाडौं । दक्षिण कोरियामा काम गरी फर्केका नेपालीहरुलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा (सीबीटी) शुक्रबारबाट शुरु हुँदैछ ।

ईपीएस कोरिया शाखाले सीबीटी परीक्षाका लागि ३ हजार ३ सय ४ जना परीक्षार्थीको नामावली सार्वजनिक गरेको छ ।

कम्प्युटरबाट परीक्षा लिइने भएकाले उक्त परीक्षा करीब एक महिनासम्म चल्नेछ । कम्प्युटरमा आधारित विशेष भाषा परीक्षा पास गरेपछि पुनः चार वर्ष १० महिना कोरियामा काम गर्न जाने अवसर प्राप्त हुने शाखाले जनाएको छ ।

परीक्षाको सम्पूर्ण तयारी सम्पन्न भएको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

यी कुरा ख्याल गर्नुस्

सीबीटी परीक्षा चार सेसनमा हुने छ । पहिलो सेसन बिहान ९ बजेबाट, दोस्रो सेसन साढे १० बजेबाट, तेस्रो सेसन १ बजेबाट र चौथो सेसन साढे २ बजेबाट सुरु हुने छ । तर, परीक्षार्थीहरु भने तोकिएको समयभन्दा आधा घण्टा अगाडि नै परीक्षा हलमा प्रवेश गरिसक्नुपर्ने छ ।

सीबीटी परीक्षा सुरु हुनुअघि ओरिन्टेसन क्लास हुनेछ त्यसमा परीक्षार्थीहरुले आफूले काम गर्ने क्षेत्र परिवर्तन गर्न पाउनेछन् ।

कुनै कारणबस यो परीक्षामा सहभागी हुन नसकेमा पुनः परीक्षामा सहभागी हुने पाइने छैन ।

परीक्षार्थीहरुले सक्कल पासपोर्ट र प्रवेश पत्र अनिवार्य लिएर जानुपर्ने छ । यदि परीक्षामा चिट चोरेको पाइएमा तीन वर्षसम्म भाषा परीक्षामा सहभागी हुन नदिइने ईपीएस शाखाले जनाएको छ ।

यो परीक्षा पास गरेकाहरु कोरियामा पुनः काम गर्न जान योग्य हुन्छन् तर कोरिया जाने ग्यारेन्टी भने हुने छैन ।

दक्षिण कोरिया सरकारले इपिएसअन्तर्गत काम गरी वैधानिक तवरले फर्केका व्यक्तिका लागि पुनः कोरियामा काम गर्ने अवसर प्रदान गर्न सीबीटी परीक्षा सञ्चालन गर्दै आएको छ ।

यसैबीच, सन् २०१८ भाषा परीक्षा उत्तीर्ण भई स्वास्थ्य परीक्षण सम्पन्न गराएका उम्मेदवारले शुक्रबारदेखि नै रोजगार आवेन फारम भर्ने कार्य शुरु हुने शाखाले जनाएको छ । सात हजार ९९८ जनाले सन् २०१८ को भाषा परीक्षा उत्तीर्ण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment