Comments Add Comment

लिसंखुपाखर बन्यो आधारभूत शिक्षा सुनिश्चित गाउँपालिका

९ भदौ, चौतारा । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले विद्यालय जाने उमेरका सबै बालबालिकाहरुलाई विद्यालयमा ल्याएको घोषणा गरेको छ । लिसंखुपाखर गाउँपालिकाका जनप्रतिनिधिहरुले सबै बालबालिकालाई विद्यालयमा ल्याउने आफूहरु प्रदेश ३ कै पहिलो स्थानीय तह रहेको दाबीसमेत गरेका छन् ।

सरकारले पहिलो चरण अन्तर्गत बैशाख महिनामा भर्ना अभियान सुरु गरेको थियो । पहिलो चरणमा धेरै बालबालिकाहरु विद्यालय बाहिर नै रहेको तथ्यांक आएपछि साउन ३१ देखि भदौ ३१ सम्म दोस्रो चरणको भर्ना अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणमा आफ्नो स्थानीय तहमा विद्यालय आउन बाँकी बालबालिकाहरु सबैलाई विद्यालय ल्याएर कोही पनि विद्यालय बाहिर नरहेको घोषणा गर्नै सरकारको कार्यक्रम थियो ।

सरकारको यही अभियान अन्तर्गत प्रदेश ३ का १४ जिल्लाका स्थानीय तहमध्ये लिसंखुपाखर पहिलो पटक यस्तो घोषणा गरेको प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाललेे जानकारी दिए ।

अधिंकाश तामाङ र दलित समुदायको बाहुल्य रहेको गाउँपालिकाले प्रदेश ३ मा नै पहिलो पटक घोषणा गर्नु गर्वको विषय भएको सामाजिक विकास मन्त्री दुलालले बताए । मन्त्री दुलालले गाउँपालिका अध्यक्ष कमल नेपाललाई घोषणा पत्र हस्तान्तरण गरेका थिए ।

‘पहिलो चरणको भर्ना अभियानमा केही बालबालिकाहरु छुटेका रहेछन्, सरकारले दोस्रो चरणको अभियान सुरु गरेपछि हामीहरुको गाउँपालिकामा अब एक जना बालबालिकाहरु पनि विद्यालय बाहिर छैनन्,’ घोषणा सभामा गाउँपालिका अध्यक्ष कमल नेपालले भने ।

घोषणासभामा विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।

लिसंखुपाखर गाउँपालिकामा एक सामुदायिक क्याम्पस, बालविकास केन्द्र, सामुदायिक अध्ययन केन्द्रसहित ५६ शैक्षिक संस्थाहरु छन् । १५४ शिक्षक र २ हजार ५५८ जना विद्यार्थीहरु गाउँपालिकाका शैक्षिक संस्थाहरुमा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment