Comments Add Comment

भीमदत्तका मेयर भन्छन्- बलात्कारी आफन्त नै भए पनि कारवाही होस्

९ भदौ, कञ्चनपुर । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले निर्मला पन्तका हत्यारा र बलात्कारीलाई पत्ता लगाएर हदैसम्मको कारवाही गरिनुपर्ने बताएका छन् । त्यस्तो अपराधी आफ्नै परिवारको सदस्य रहेछ भने पनि प्रहरीलाई बुझाउन र कारवाहीका लागि सघाउन आफू तयार रहेको विष्टले अनलाइनखबरलाई बताए ।

निर्मलाको हत्याको घटनामा मेयरका भतिजामाथि पनि शंका उब्जिएको समाचार अनलाइनखबरमा आएपछि विष्टले भने- ‘त्यो घरमा मेयरका भतिजा र एसपीका छोरा पनि जाने गर्दथे भन्ने समाचार आयो, मेरो कुन भतिजो हो, कुन आफन्त हो, यदि कुनै आफन्तले नै त्यस्तो अपराध गरेको रहेछ भने त्यसलाई म संरक्षण गर्दिनँ, समातेर प्रहरीलाई बुझाउन तयार छु ।’

आफ्नो परिवारजनसँग जोडेर समाचार आउँदा नराम्रो लागेको भएता पनि यो घटनामा कोही आफन्तकै संलग्नता रहेको पाइए आफूले त्यस्तो व्यक्तिलाई संरक्षण नगर्ने विष्टले दोहोर्‍याए । उनले भने- ‘मेरो आफ्नो छोरो ११ वर्षको छ, उनले बलात्कार गर्ने कुरै भएन । हिजो मात्रै मेरो घरमा ढुंगा प्रहार र आक्रमण भयो, तैपनि मैले भनिरहेको छु, मेरा कोही नातेदारमाथि नै शंका छ भने उनीहरुलाई पक्रेर अनुसन्धान गरियोस्, म प्रहरीलाई सहयोग गर्छु । कम्युनिस्ट पार्टीको होस् वा जोसुकै होस्, अपराधीलाई छुट दिनुहुँदैन । परिवारभित्रै छ भने पनि छाड्नुहुँदैन ।’

निर्मला पन्तको हत्या भइसकेपछि आफूले पीडित परिवारलाई भेटेको र प्रहरीमा पनि उनीहरुलाई लिएर गएको विष्टले बताए । पीडितलाई न्याय दिलाउनका लागि नगरपालिकाका तर्फबाट आफूले सक्दो प्रयास गरिरहेको विष्टले बताए ।

आफूलाई एसपी डिल्लीराज विष्टसँग जोडेर हेरेको भन्दै मेयर विष्टले चित्त दुखाए । एसएसपी र आफूवीच सम्बन्ध नरहेको स्पष्ट पार्दै उनले भने- ‘उनी बाहुन विष्ट हुन्, म क्षेत्री विष्ट हुँ । विष्ट भन्नेवित्तकै सबै एकै हुँदैनन् नि सर ।’

सिडियो सरुवा भएर आउँदा पनि स्थानीय तहसँग समन्वय नगरी काम गर्ने गरेको मेयर विष्टको गुनासो छ । प्रहरी प्रशासनले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर काम गरेको भए हताहतीका घटनाहरु नहुने उनी बताउँछन्

मेयरलाई नसोधी बारम्बार गोली प्रहार

सिंहदरबार गाउँ-गाउँमा आयो भनिसकेपछि नगरवासीहरुले सबै काम मेयरले गर्न सक्छ भन्ने ठान्ने गरेको विष्टले बताए । ‘सिंहदरबार गाउँमा आयो भनेपछि सबै काम मेयरले गर्नुपर्छ भनेर सोच्नु स्वाभाविकै हो । तर, निर्मलाको हत्याको घटनाबारे प्रहरीले मलाई समयमा जानकारी दिएन, जनताले चाहिँ मेयर किन समयमा आएन भनेर प्रश्न उठाए,’ मेयर विष्टले भने- ‘सिडियो र प्रहरीहरुले नगरप्रमुखसँग कुनै समन्वय नगरी काम गर्दा समस्या भएको छ । हिजैको गोलीकाण्ड पनि गलत भएको छ, मैले यस विषयमा प्रशासन समक्ष आपत्ति जनाएको छु । वालकको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छु ।’

सिडियो सरुवा भएर आउँदा पनि स्थानीय तहसँग समन्वय नगरी काम गर्ने गरेको मेयर विष्टको गुनासो छ । ‘नयाँ सिडियो र प्रहरी आउँछन्, जनप्रतिनिधिसित समन्वयन गर्दैनन् । हिजो म आफैंले नयाँ प्रजिअलाई टेलिफोन गर्दा पुरानै सिडियोले फोन उठाए ।’

प्रहरी प्रशासनले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर काम गरेको भए हताहतीका घटनाहरु नहुने उनी बताउँछन् । घटनामा प्रायः वालवालिकामाथि गोली लाग्ने गरेको भन्दै दुःख व्यक्त गरे ।

विष्टले भने- ‘शुक्रबारको घटनामा बालकको मृत्यु भएको छ । अस्ति पनि प्रहरीको गोली लागेर घाइते बनेका वालक नै छन् । बालकमाथि गोली लाग्नु अति नै दुःख घटना हो ।’

निर्मला हत्या प्रकरणमा एसपी डिल्लीराज विष्टले घटनाको अनुसन्धानमा कमजोरी गरेकाका कारण यस्तो समस्या आएको मेयर विष्टले बताए । पहिले पक्राउ परेका दुईजनालाई तारेखमा छाड्नु र पछि मानसिक रोगीलाई पत्रकार सम्मेलनमा उभ्याउन प्रहरीको कमजोरी भएको उनले बताए ।

तर, नगरवासीहरुले पनि उत्तेजनमा नआई शान्तिपूर्ण रुपमा प्रशासनलाई दबाव दिनुपर्ने उनको सुझाव छ । मेयर विष्टले अनलाइनखबरसँग भने- ‘नगरवासीहरु मलाई पनि आन्दोलनमा आइज भन्नुहुन्छ, तर म मेयर भएकाले आन्दोलनमा उत्रन मिल्दैन, तै पनि मैले निर्मला पन्तको परिवारलाई न्याय दिलाउन प्रयास गरिरहेको छु । हामीले गृहमन्त्रीलाई समेत दोषीमाथि कारवाहीको माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छौं ।’

यो पनि पढ्नुहोस्

कञ्चनपुरमा प्रहरीको गोली लागेर बालकको मृत्यु, ५ जना घाइते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment