Comments Add Comment

चुनाव सकियो, कविज्यूको ‘किचकिच’ सकिएन

१० भदौ, काठमाडौं । नेपाली साहित्यको सबैभन्दा ठूलो सञ्जाल भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दुई महिना लामो झै-झगडा र राजनीतिको पहिलो नाटकीय खेल अन्त्य भएको छ । र, दोस्रो अध्यायको झगडा सुरु भएको छ ।

संस्थाको दुई वर्षे कार्यकालका लागि नेतृत्व चयन छनोट गर्ने क्रममा भएको गालीगलौज र आरोप-प्रत्यारोपलाई निर्वाचनको परिणामसँगै दुबै अध्यक्षका प्रत्यासीले चुनाबी स्टन्ट भएकाले ती घटनालाई बिर्सन आग्रह गरेका छन् । तर, चुनावमा हार्ने कविज्युहरुले त्यसलाई अझै बिर्सन सकेको देखिँदैन ।

संस्थामा तीन पटकसम्म बरिष्ठ उपाध्यक्ष रहेर अध्यक्षमा उम्मेदवारी दिएका राधेश्याम लेकाली ५ सय ७० मत ल्याएर विजयी भएका छन् भने अर्का प्रत्यासी गोबर्द्धन पूजाले सम्मानित ३ सय ५९ मत ल्याएका छन् । १ हजार एक सय ७८ आजीवन सदस्यले मत दिन पाउने उक्त संस्थामा यसपटक दुई सय भन्दा बढी मत खसेन । दुई महिनायता संस्थामा राजनीति र गुटबन्दी हावी भएको भन्दै केही वरिष्ठ साहित्यकारले निर्वाचन बहिष्कार गरेका कारण आशातीत मत नखसेको हो ।

अमेरिकाको एउटा विश्वसनीय सफ्टवेयर कम्पनीले गराएको अनलाइन निर्वाचनमा कसले बहिष्कार गरे र कसले कसलाई मत दिए भन्ने कुरा पनि गोप्य राख्ने व्यवस्था भएकाले बहिस्कार गर्नेहरुको नाम बाहिर ल्याइएको छैन । निर्वाचन गत बुधवार, बिहीबार र शुक्रवार मध्यरातसम्म चलेको थियो ।

कवि उषा शेरचन र केही वरिष्ठ लेखक-कविले साहित्यजस्तो पवित्र संस्थामा राजनीति र भष्ट्राचार मौलाएको भन्दै निर्वाचनअघि नै दुबै प्यानललाई बहिस्कार गर्ने घोषणा गरेका थिए । निर्वाचनमा राजनीति पस्न नदिन यही समूहले केही अघि अध्यक्षका प्रत्यासीका रुपमा घोषणा गरिएकी भारती गौतमलाई उमेद्वारी फिर्ता गराएका थिए । यो समूहले पछिल्लो समय गोबर्द्धन पूजा र लेकाली मध्ये एकजनालाई मात्र निर्वाचन लड्न नत्र बहिस्कारको सामना गर्न चेतावनी दिएका थिए ।

संस्थाको उपाध्यक्षमा ५ सय ६८ मत ल्याएर शान्तिराम ढकाल निर्वाचन भएका छन् । ४ जना उपाध्यक्षको व्यवस्था भएको उक्त संस्थामा ढकालले अमेरिकी क्षेत्र हेर्नेछन् । उनका प्रतिद्वन्द्वी प्रकाश नेपालले ३ सय ६१ मत प्राप्त गरे । अध्यक्षपछि सबैभन्दा बढि चासोका साथ हेरिएको महासचिव पदमा गणेश घिमिरे ५ सय ८६ मत हासिल गरेर विजयी भए । जबकि अध्यक्ष लेकालीका आधिकारिक पक्षधर भएर निर्वाचन लडेका रामप्रसाद खनालले जम्मा ३ सय ८३ मत प्राप्त गरे ।

‘प्यानलका सबै जना जित्नु र म आफू मात्र हार्नुलाई मैले ममाथि भएको षडयन्त्रका रुपमा बुझेको छु,’ आफूले अप्रत्यासित हार बेहोरेपछि खनालले आफ्नानिकट मित्रहरुसँग भनेका छन्, ‘मैले लेकालीलाई हार्नबाट जोगाएँ, तर लेकाली समूहले नै मलाई घात गर्‍यो ।’

निर्वाचन परिणाम आएपछि रामप्रसाद खनालले अनेसासका सबै सदस्यहरुलाई म्यासेन्जरमार्फत गम्भीर सन्देश पठाएका छन् । त्यसमा आफू षडयन्त्रको शिकार भएको आक्रोश पनि पोखेका छन् ।

‘अनेसासको केन्द्रीय समितिको निर्वाचनको नजिता सार्वजनिक भएको छ । निर्वाचित हुने सबै मित्रहरुलाई हार्दिक बधाई । म निर्वाचनको असाध्यै अपत्यारिलो नतिजाबाट छक्क परेको छु र खुसी साथ आफ्नो हार पनि स्वीकार गर्दछु । यद्यपि म आफू निर्वाचित हुन नसके पनि मलाई मतदान गर्नुहुने सबै सबैमा, निर्वाचन समिति परिवारमा हार्दिक आधार ब्यक्त गर्दछु । सबैलाई मिलाएर सर्ब सम्मत केन्द्रीय समिति बनाएर, कसैलाई पाखा नलगाएर, सबैलाई साथ साथै अगाडि बढाउने, लैजाने मेरो इमान्दार प्रयास, अनेसास जस्तो साहित्यिक संस्थालाई राजनीति र गुटबन्दीबाट अलग बनाउने मरो पवित्र प्रयासमाथि सकुनी खेल खेल्ने मित्रहरुलाई पनि मेरो धन्यवाद छ ।’

अध्यक्षले थप केही पदहरुमा मनोनित गर्ने व्यवस्था भएकाले उनी आफूलाई मनोनित गर्नुपर्ने दबाव दिन थालेको स्रोतले बताएको छ ।
अर्कोतर्फ सचिवमा भएको प्रतिस्पर्धामा कवि लालगोपाल सुवेदी निर्वाचित भएका छन् । उनले ५ सय ७० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी राजकुमार पुडासैनीले ३ सय ५९ मत प्राप्त गरे । त्यसैगरि ८ सय ६ मतका साथ सानु घिमिरेले सदस्यमा आफूलाई सुरक्षित गरिन् । उनीसँगै लक्ष्मी राईले ७ सय ४५ र अग्नी पराजुलीले ५ सय १३ मत प्राप्त गरेर सदस्यमा निर्वाचित भए ।

निर्वाचनअघि नै बरिष्ठ उपाध्यक्षमा प्रकाश पौडेल ‘माइला’ निर्विरोध निर्वाचित भैसकेका छन् । त्यसैगरी भिमसेन सापकोटा, सुनिल संगम र
निशा अर्याल पनि उपाध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन् । अनेसासमा ४ महादेशका लागि चार उपाध्यक्षको व्यवस्था गरिएको छ ।
निर्वाचनपछि अध्यक्ष लेकालीले अनेसासका सम्पूर्ण सदस्यलाई धन्यवाद दिँदै संस्थालाई अझ मजबुत बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment