Comments Add Comment

रेखालाई अनमोलको जवाफ: टाइटल मागेर पाइदैन

हालसम्म जम्माजम्मी ६ वटा चलचित्र खेलेका नायक अनमोल केसीले सुपरस्टारको उपमा पाएका छन् । एकाध चलचित्रले मात्रै लगानी उठाउने देशमा अनमोलमाथि लगानी गर्ने कुनै पनि निर्माताले टाउकोमा हात राख्नुपरेको छैन ।

हालै अनमोल अभिनित छैठौ चलचित्र ‘क्याप्टेन’ को फस्टलुक रिलिज भयो । यो होम प्रोडक्सन चलचित्रबाट उनलाई निकै आशा छ । चलचित्रमा उनले एक फुटबल स्टारको भूमिका निभाएका छन् । उनै अनमोलसँग ‘क्याप्टेन’ र अन्य बिषयमा अनलाइनखबरले गरेको छोटो कुराकानी :

तपाई त दुब्लाउनुभएछ नी, कति घट्नुभयो ?
हो, म करिब १२ केजी घटिसकेको छु । तर, सिक्स प्याक्स भने हराएको छैन । चिल्लो कम खाएकाले सिक्स प्याक्स झनै देखिएको छ । पाखुरा भने अलि सानो देखिन थालेको छ । फुटबलको बिषयमा चलचित्र (क्याप्टेन) बनिरहेकाले बिहानदेखि बेलुकासम्म दौडनु पर्छ । एउटै दृश्यलाई विभिन्न कोणबाट देखाइने हुँदा धेरै अभ्यास गर्नुपर्छ । फेरि, यस चलचित्रमा म १८ बर्षको किशोरको भूमिकामा देखिनुपर्ने भएकाले पनि ज्यान घटाएको हुँ ।

क्याप्टेनको छायांकनका लागि लामो समय किन लाग्यो ?
मेरो चलचित्रका लागि १ बर्ष समय लाग्छ नै । क्याप्टेनको छायांकन ४ महिना अगाडि सुरु भएको हो । राम्रो चलचित्र बनाउन समय पनि राम्रै लाग्नु अस्वभाविक होइन ।

चलचित्रको फस्टलुक रिलिज भएको छ, तपाई आफैलाई कस्तो लाग्यो ?
म फस्टलुकबाट उत्साहित छु । पोस्टरले कथाको भाव पनि बोकेकोे छ । यो चलचित्रले राष्ट्रियताको विषयलाई समेत उठान गरेको छ । मैले राष्ट्रिय जर्सी पनि लगाएको छु । त्यसैले अझै जिम्मेवारी बढाएको छ भन्ने लाग्छ ।

यसपटक चलचित्रमा उच्च भीएफएक्स गर्नुपरेको भन्ने सुनिएको छ, त्यस्तो किन होला ?
हामीले नेपालको र नेपालको फुटबलको बिषयमा चलचित्र बनाएका छौ । तर, नेपालमा एउटा पनि राम्रो रंगशाला छैन । चलचित्रमा हामीले अन्तर्राष्ट्रिय स्तरको रंगशाला देखाउनुपर्नेछ । क्लाइमेक्सको सोही दृश्यका कारण भीएफएक्समा समय लागेको हो ।

तपाईंले यसअगाडि गरेका चलचित्रभन्दा क्याप्टेन के कुराले विशेष छ ?
मैले आजसम्म खेलकुद र राष्ट्रियताको बिषयमा चलचित्र गरेको नै छैन । फेरि मैले गाउँले गरिब यूवकको भूमिका पनि गरेको छैन । जसले गर्दा पनि क्याप्टेन मेरा लागि विशेष छ । दर्शकले यसपटक मलाई लभरब्वाईसँगै खेलाडीको रुपमा पनि देख्न पाउनुहुनेछ । दर्शकलाई हरेक कलाकारले फरक–फरक स्वादमा अभ्यस्त बनाउन सक्नुपर्छ भन्ने मलाई लाग्छ । मेरो कोशिश पनि त्यही नै हो ।

प्रसंग बदलौ, नायिका रेखा थापाले ‘२ वटा चलचित्र खेल्नेलाई मेघास्टार भन्ने मिडियाले मलाई महानायिका भन्न डराउँछ’ भन्नुभयो । उहाँको भनाई तपाईंप्रति लक्षित थियो भनेर विश्लेषण गरिएको छ । यसमा के भन्नुहुन्छ ?
कुनै पनि टाइटल आफूले मागेर पाइने होइन । दर्शक र आफ्ना शुभचिन्तकले दिने कुरा हो । म त नयाँ कलाकार हुँ । म आफूलाई महानायक, मेघास्टार केही पनि सोच्दिनँ । अब, उहाँले त्यो कुन अर्थमा भन्नुभयो मलाई थाहा भएन । तर, मेरा लागि उहाँ नै स्टार हो । म त उहाँको चलचित्र हेरेर हुर्किएको हुँ । उहाँ मेरो सम्मानित आइडल हुनुहुन्छ । मेघास्टार भन्दा पनि माथि कुनै उपमा हुन्छ भने मेरा लागि उहाँ त्यही नै हो ।

तर दर्शक र मिडियाले मेघास्टार, बक्स अफिस किङ, सुपरस्टार भन्दा तपाई कस्तो महशुश गर्नुहुन्छ ?
यो उहाँहरुले मलाई दिनुभएको माया हो । यसका लागि म धन्यवाद दिन चाहन्छु । मैले त ६ वर्षमा ६ वटा मात्र चलचित्र गरेको छु । तर, मेरा चलचित्र सबै सफल छन् । हरेक पटक उहाँहरुलाई फरक स्वादका चलचित्र पस्कने मेरो प्रयास जारी रहनेछ ।

यस्ता खालका उपमाले काममा कत्तीको दबाब महसुस हुन्छ ?
एक प्रकारले दबाब त हुन्छ नै । तर, मलाई यस्तो टाइटल नदिएको भए पनि म दबाब नै महसुस गर्थेँ होला । किनकी, आजसम्म मेरा कुनै पनि चलचित्र असफल छैनन् । मुख्य कुरा भनेको काममा इमान्दार हुनुपर्छ । म यस्तो उपमाको ‘ब्याक अफ द हेड’ प्रेसर लिन्छु । तर, आफ्नो बेष्ट दिने प्रयास मेरो सधै रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment