Comments Add Comment

सुरक्षागार्डको हत्या आरोपमा ठेला चालक पक्राउ

१० भदौ, काठमाडौं । मोरङको बिराटनगर–२ मा ठेला चालकबाट सुरक्षागार्डको हत्या भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङले घटनामा संलग्न भएको अारोपमा ठेला चालक बिराटनगर–४, जामुनगाछीका २६ वर्षीय सञ्जय सहनीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

यसअघि ३ भदौमा बिक्की हार्डवेयरका सुरक्षागार्ड टंकप्रसाद भट्टराईको हत्या भएको थियो ।

मोरङ प्रहरीका डिएसपी निशान थापाले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सहनीको ठेला स्ट्याण्ड भट्टराईको पसल नजिकै थियो ।

‘सहनीको हार्डवेयर पसलमा कहिलेकाहीँ आउजाउ भइरहने गरेको थियो’, थापाले भने, ‘घटना भएको दिन सामान्य विवादमा सहनीले भट्टरार्इलाई धकेलेको अनुसन्धानबाट देखिएको छ ।’ त्यसपछि शरीरको विभिन्न भागमा रडले हानेर भट्टराईको हत्या भएको देखिएको थापा बताउँछन् ।

‘घटना भएको दिनको सीसी टिभी फुटेजमा पनि उनी पटकपटक हार्डवेयर पसलमा गएको देखिएको थियो’, उनले थपे । त्यही तथ्यलाई पछ्याउँदै जाँदा सहनीलार्इ पक्राउ गर्न प्रहरी सफल भएको हो  ।

प्रहरीको अनुसन्धानले सहनी लागूऔषध दुर्व्यसनी समेत भएको देखाएको छ । घटना भएको दिन पनि उनले मदिरा सेवन गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका सहनीमाथि कर्तव्य ज्यान मुद्दा अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

यो पनि पढ्नुस् 

हत्याको विरोधमा सडकमै शव राखेर प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment