Comments Add Comment

एकाबिहानै काठमाडौंमा किन भयो जाम ?

११ भदौ, काठमाडौं । आज काठमाडौंमा गाईजात्रा पर्वको सार्वजनिक विदा । सार्वजनिक विदा भएकाले अघिल्ला दिनको तुलनामा गाडीहरु कमै चल्नुपर्ने हाे । बिहानको समयमा त झन कम संख्यामा सवारीसाधन चल्छन् । तर सोमबार त्यसाे भएन,  एकाबिहानै मानिसहरु केही घण्टा जाममा परे ।

कसैको सवारी पनि थिएन, कुनै नारा जुलुश या विरोध प्रदर्शन पनि थिएन । तर, पैदल यात्री समेत हिँड्न नसक्ने गरी किन जाम भयो ? धेरैलाई थाहा थिएन ।

बिजुलीबजार क्षेत्रमा जाममा परेकाहरु आपसमा कुरा गर्थे– राष्ट्रपतिको सवारी होला । कसैले अनुमान लगाउँथे– जुलुस होला । कसैले भन्थे– गणतन्त्र आए पनि राजाको पालाजस्तो जनतालाई दुःख दिए ।

यहीबीचमा एयरपोर्ट बानेश्वरतिरबाट माइतीघरतर्फ केही थान गाडीहरु साइरन बजाउँदै हुइँकिए । स्कर्टिङसहितका गाडीहरु गइसकेपछि थाहा भयो–त्यसमा कुनै भीभीआईपी थिएनन् । त्यो त बिम्स्टेक सम्मेलनमा आउने विदेशी पाहुनाहरुको लागि स्कर्टिङको रिहर्सल थियाे ।

एयरपोर्ट, तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर हुँदै सोल्टी होटलसम्म स्कर्टिङको रिहर्सल गरिएको ट्राफिक प्रहरी स्रोतले बतायो ।

बिम्स्टेक सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ । त्यसको तयारी लगभग पूरा गरेको सरकारले विदेशी सरकार प्रमुखहरुको आगमनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारेको छ । सम्मेलनलाई लक्षित गरी नेपाली सेनाले हवाई गस्तीसमेत गर्नेछ ।

बिम्स्टेकमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यानमार र थाइल्याण्ड सदस्य छन् । सदस्य राष्ट्रका सरकार प्रमुखहरु १२ भदौदेखि नेपाल आउन सुरु गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment