Comments Add Comment

बिनावर्षा बस्तीमा बाढी पस्यो, भारतीय पक्षको चरम लापरबाही

१२ भदौ, सप्तरी । सप्तरीको हनुमाननगर-कंकालनी नगरपालिका १२ का दिनेशकुमार मण्डलको घरमा खाना पकाउने तयारी भइरहँदा पानीको वेग एक्कासी उनको आँगनमा आइपुग्यो ।

सुरुमा थोरै पानी आयो, त्यसपछि निरन्तर पानीको मात्रा बढ्दै घर नै डुबानमा पर्‍यो,’ उनले अघि थपे, ‘हत न पत परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा लग्यौं ।’

तिलाठी-कोइलाडी गाउँपालिका ४ बनरझुल्लाका ललितनारायण यादव सोमबार राति खाना खाएर सुत्ने तरखरमा थिए । राति १० बजेतिर सुत्ने तरखर गरिरहेकै समयमा उनको आँगनमा एक्कासी पानीको भेल आइपुग्यो । वर्षा नभइकनै पानीको भेल एक्कासी आँगनमा आएपछि उनी अचम्भित र त्रसित भए ।
एक्कासी पानीको वेग आएपछि उनले हतपत बालबालिका र घरका सदस्यलाई सुरक्षित स्थानमा लगे ।

सोही ठाउँका जागेश्वर रायलाई पनि एक्कासी यस्तै विपति आइपुग्यो । ‘वर्षा नभइकनै एक्कासी बाढी आयो,’ उनले भने, ‘तत्काल त केही थाहा नै पाउन सकिएन् । धमाधम सुरक्षित स्थानको खोजीमा लाग्यौं ।’

यादव र राय मात्र होइन् तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर ४ र हनुमाननगर-कंकालनी नगरपालिका १२ का करिब डेढ् सय घरमा एक्कासी बाढी आयो ।

सप्तकोशी नदीको पश्चिमतर्फको बाँध तल रहेको यो वस्तीमा एक्कासी बाढी आएपछि सोमबार राति यो ठाउँका बासिन्दाहरु रातभर जाग्राम बसेका छन् । बाढी आएको समयमा कतिले खाना खाएका थिए भने कतिले खाने तरखर गरिरहेका थिए ।

यो बाढीले व्यक्तिको घर डुबानमा परेसँगै घरभित्रका धेरै सामानहरु बगाएको छ । कोशी नदीको बाढी घरभित्र पसेपछि हनुमाननगर कंकालनी १२ की सबाना खातुनको घर भत्किन लागेको छ । उनको घरभित्रको खाद्यानन्नसहितका सामानहरु बाढीले बगाएको उनले बताइन् ।

खातुनसहित धेरैको खाद्यान्नसहितका सामानहरु उक्त बाढीले बगाएको छ ।

एकाएक आएको बाढीले व्यक्तिको घर मात्र नभइ हनुमाननगर-कंकालनी नगरपालिकाको कार्यालय, नजिकमा रहेका विद्यालयहरु समेत डुबानमा परेको छ ।

प्रहरीका अनुसार डेढ् सय जति घर डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी भावेश रिमालले एक्कासी उक्त वस्तीहरुमा पानी पसेपछि घरहरु डुबानमा परेको बताए ।

भारतीय पक्षले डुबायो

सप्तरीमा सामान्य वर्षामासमेत सप्तकोशीको बाढी पस्नुमा भारतको लापर्वाही देखिएको छ । हालै भारतले पाइलट च्यानल खनेर सप्तकोशी नदीको बहाबलाई परिवर्तन गरेपछि नेपाली गाउँ डुबानमा परेको हो ।

भारत सरकारले कोशी योजनाले कोशी ब्यारेज भन्दा तल कोशीको मुलधारलाई हालै पाइलट च्यानल खनेर पश्चिमतर्फ फर्काएपछि नेपाली वस्ती डुबानमा परेको हो । भारतले पाइलट च्यानल खनेकै कारण कोशी नदीको सामान्य बहाबकैबीच नेपाली वस्तीमा पानी बाढी पसेर जलमग्न बनेको छ ।

यसअघि ३ लाख क्यूसेकसम्म कोशी नदीको बहाब हुँदा समेत पानी वस्तीमा पसेको थिएन् । तर सोमबार साँझ मापन गरिए अनुसार १ लाख ७० हजार क्यूसेक बहाबकै पानी मानव वस्तीमा पसेर जनजीवन प्रभावित बनाएको स्थानीयहरुले बताएका छन् ।

भारतले पश्चिमतर्फ बहाब फर्काउनेगरी पाइलट च्यानल खनेपनि शुरुमा ध्यान नपुग्दा यस्तो क्षति भोग्नुपरेको स्थानीयहरुको भनाई छ ।

सप्तकोशी नदीको बहाबलाई पश्चिमतर्फ फर्काइएपछि जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका पूर्ण रुपमा जोखिममा परेको छ ।

भारतीय पक्षले खनेर गरेको बहाब परिवर्तनलाई समयमै ठीक नगरिए यी नगरपालिका र गाउँपालिका सधैं उच्च जोखिममा रहनेछ,’ तिलाठी-कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले भने, ‘माथिल्लो निकायबाट यसको पहल चाँडो भन्दा चाँडो हुनु जरुरी छ ।’

उनका अनुसार भारतीय पक्षले पाइलट खनेर पश्चिमतिर बहाब फर्काइएपछि नेपाली गाउँ बढी जोखिममा परेको छ ।

कोशी नदीको तटबन्ध र स्परहरु अत्यन्तै कमजोर रहेको अवस्थामा भारतले बहाब फर्काइदिएपछि जतिबेला पनि गाउँमा बाढी पस्ने खतरा रहेको बताउँछन् उनी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment