Comments Add Comment

बैंकहरुमा डेढ अर्ब लगानी गर्न राष्ट्र बैंकले माग्यो शिलबन्दी दरभाउपत्र

१५ भदौं, काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले सस्तो ब्याजदरमा क, ख र ग वर्गका वित्तीय संस्थाका लागि यो रकम लगानी गर्न लागेको हो ।

क वर्गका बैंकहरुका लागि १ अर्ब २३ करोड ३३ लाख रुपैयाँ, ख वर्गका बैंकहरुका लागि २३ करोड ११ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थाका लागि ७ करोड ७१ लाख रुपैयाँ लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ । उक्त रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुसँग बैंकले शिलबन्दी दरभाउपत्र माग गरेको छ ।

राष्ट्र बैंकको बिभिन्न कोषमा रहेका रकम आगामी असोज १ गते देखि २०७६ भदौ ३१ सम्म ३६६ दिनको मुद्दती निक्षेपमा त्रैमासिक रुपमा व्याज भुक्तानी हुने गरी लगानी गर्न लागेको हो ।

बैंकले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई तोकेको शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भरी आगामी मंगलबार अपरान्ह ३ बजेभित्र पेश गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

लगानीका लागि राष्ट्र बैंकले निम्न शर्तहरु तोकेको छ :

क. बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पूरा गरेको ।
ख. बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको ।
ग. निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको ।
घ. खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको ।
ङ. कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको ।
च. निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (ब्यवस्था पछिको) मा रहेको ।
छ. रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको ।
ज. लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरीवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको ।
झ. शीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको ।
ञ. बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको । समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको ।
ट. सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment