Comments Add Comment

पाकिस्तान कसरी बन्यो विश्वस्तरीय फिल्डिङ टिम ?

२०१६ को बिदाइसँगै २०१७ को स्वागत भइरहेको थियो । त्यति नै बेला पाकिस्तान क्रिकेट टिम अस्ट्रेलियाको पर्थमा हुँदा प्रशिक्षक मिक्की आर्थरले सोचिसकेका थिए, अब केही नयाँ गर्नुपर्छ ।

त्यतिबेला तीन खेलको टेस्ट श्रृंखलामा आफ्नो पूर्वक्लब अस्टे्रलियासँग पाकिस्तान हृवाइट वास भएपछि आर्थरले नयाँ सोच्न थालेका थिए । पाकिस्तान ब्याटिङ र बलिङमा राम्रो भए पनि फिल्डिङमा निकै नराम्रो भएको आर्थरको बुझाइ थियो । त्यति नै बेला उनले सोचेका थिए, अब फिल्डिङ सुधार्न सकिएन भने हुँदैन ।

‘टेस्ट त हामी लज्जास्पद रुपमा हारेर सकियो । हामी सिड्नीमा हुने एकदिवसीयका लागि खेलाडीहरु हेर्दै थियौँ । तर उनीहरु मैदानमा आफ्नो कला देखाउनका लागि फिट नै थिएनन्’ लाहोरमा कफिका लागि भेट्दा आर्थरले सुनाए ।

‘त्यो एकदमै लाजमर्दो कुरा थियो । यसैले हामीले फिल्डिङ र फिटनेसका लागि योजना बनायौँ । हामीले खेलाडीका लागि केही निश्चित लक्ष्य बनायौँ । यदि फिटनेसमा उनीहरुले त्यो लक्ष्य पूरा गर्न सकेनन् भने उनीहरुलाई टिममा नलिने जानकारी गरायौँ । खेलाडी जो सुकै होस् हामीले आफ्नो निर्णय बलियो बनाएका थियौँ’ उनले भने ।

अस्ट्रेलियाको त्यो दुर्भाग्यपूर्ण भ्रमणपछि पाकिस्तानको फिल्डिङ यसरी फेरियो कि राम्रा भनिएका टोलीको भन्दा उनीहरु अब्बल देखिन थाले । युवा खेलाडीहरु टिमलाई राम्रो बनाएर लैजाने योजनामा राम्ररी मेहनत गरिरहेका थिए । उनीहरुको सीमित ओभरको क्रिकेटमा देखिने उत्कृष्टता टेस्टमा पनि झल्किन थालेको थियो ।

२०१६ को मे महिनामा आर्थरले पाकिस्तान टिम सम्हाल्ने बेला नै उनले फिल्डिङ सुधारका लागि विशेष काम गर्ने प्रतिबद्धता जनाएका थिए । तर, पाकिस्तानी समर्थकले त्यसभन्दा अघिदेखि नै त्यही कुरा सुन्दै आएका थिए ।

आर्थर र जोनले कसरी काम गरेका थिए भनेर बुझ्न एउटा उदाहरण नै काफी हुन्छ । २०१७ मा च्याम्पियन्स ट्रफिअघि फिट नभएकै कारण ब्याटिङमा अब्बल रहेका उमर अकमाललाई उनीहरुले इंग्ल्याण्डबाट घर फर्काइदिएका थिए ।

२००४ तिर नै पाकिस्तान टिमको प्रशिक्षक बनेका बब उल्मर आफ्नो समयमा उम्दा फिल्डिङका लागि चिनिन्थे । उनैले जोन्टी रोड्सलाई पाकिस्तानको फिल्डिङ सुधार्न केही समयमा लागि टिमको प्रशिक्षण ल्याएका पनि थिए । तर त्यसबेलाका कप्तान इन्जामाम उल हकले रोड्सले खासै काम नगरेको भनेर सार्वजनिक रुपमै आलोचना गरे ।

आर्थर आएको समय पनि पाकिस्तान क्रिकेटमा सहज समय थिएन । पाकिस्तान विश्व टि २० को समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक वाकर युनिसले राजीनामा दिएका थिए । त्यससँगै साहिद अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटमा सन्यास लिने घोषणा गरेका थिए । वाकर युुनिसले खेलाडी छनोटमा पाकिस्तान क्रिकेट बोर्डले आफूलाई पूरा अधिकार नदिएको भन्दै आलोचना पनि गरेका थिए ।

त्यस्तोमा केही परिवर्तन र क्रिकेट विकासको सपना देखिरहेको पाकिस्तानका लागि आर्थरले अघि सारेको विकल्पबाहेक अरु उपाय थिएन । आर्थरले पाकिस्तान टिममा फिल्डिङ सुधारको आवश्यकता किन छ भन्ने बुझाए । त्यससँगै उनले फिटनेसमा कसरी काम गर्न सकिन्छ भन्ने योजना बनाए ।

आर्थर पनि भन्छन्, पाकिस्तानको क्रिकेट स्तर त्यसबेला नै निकै राम्रो थियो । आवश्यकता थियो त मात्रै फिटनेस र फिल्डिङमा राम्रो गर्ने । आर्थरले त्यसका लागि पाकिस्तान क्रिकेट बोर्डबाट पनि राम्रो सहयोग पाउँदै गए ।

बोर्डमा रहेका शहरयार खान र नजाम सेठीले आर्थरको योजना कार्यान्वयनका लागि आवश्यक सबै सहयोग गरे । साथै छनोटमा रहेका मुख्य छनोटकर्ता इन्जामाम उल हकले पनि आर्थरमाथि राम्रो विश्वास देखाए ।

जसले उपलब्धीहरु पनि दिँदै गयो । २०१७ को फेब्रुअरीपछि पाकिस्तानको क्याचिङ रेट ८५.९ प्रतिशत देखिएको छ । जुन फिल्डिङमा राम्रो मानिने अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भन्दा राम्रो सुधार हो ।

पाकिस्तानको यो सुधार यसकारण पनि राम्रो हो कि, विश्व क्रिकेटकै उत्कृष्ट स्लिप फिल्डर युनिस खानले २०१७ को मे महिनामै सन्यास लिएका थिए । युनिस स्लिपमा ३७ क्याचको अवसर आएकोमा ३० क्याच समात्ने गर्थे । त्यस्तोमा युनिसको स्थानको विकल्प तयार गर्ने र फिल्डिङ सुधार्ने काममा पाकिस्तानले गरेको सुधार प्रशंसनीय छ ।

अहिले पाकिस्तानमा टिममा छुटेका क्याच सुधारका लागि सिक्ने अवसर बनेको छ, न कि राजीनामाको बाटो । शादब खान, हसन अलि र फहिम अर्सफजस्ता खेलाडीहरुले आर्थरको योजनामा राम्रो खेल देखाइरहेका पनि छन् ।

यो सबैमा आर्थरको मुख्य हतियार हुुन्, जोन रिक्सन । अस्टे्रलियाका पूर्व क्रिकेटर उनी आर्थरकै आग्रहमा २०१६ को जुनदेखि पाकिस्तानको फिल्डिङ प्रशिक्षकको रुपमा काम गरिरहेका छन् ।

जोनले खेलाडीहरुलाई निश्चित काम दिने र फिटनेस र फिल्डिङमा ध्यान दिने योजना बनाएर राम्ररी काम गरिरहेका छन् । ‘जोनको मुख्य विशेषता नै उनी केही पनि छुटाउँदैनन् । हरेक खेललाई निकै ध्यान दिएर हेर्छन् । यदि कुनै खेलाडीले केही गल्ती गरेमा उनी अर्को खेलअघिको अभ्यासमा त्यसमा सुधार गराउँछन्’ आर्थरले भने ।

जोन खेलाडीको हरेक कुरामा विचार पुर्‍याउँछन् । थ्रोइङ, डाइभिङ वा क्याचिङ हरेक कुरा याद गरेर उनी सम्झाउँछन् । उनलाई खेलमा कुन खेलाडीले कतिबेला रन जोगायो, कतिबेला अनावश्यक रन दियो भन्ने कुरा पनि याद रहन्छ ।

२०१८ को जुनबाट पाकिस्तान टिमसँगको सम्झौता सकिएर जोनले छाडेको भए पनि उनले सिकाएको शैली पाकिस्थान टिमले छाडेको छैन । ‘मैले पाकिस्तान टिममा धेरै समय त काम गरिनँ तर जति समय गरेँ राम्ररी नै गरेँ भन्ने लाग्छ । मैले केही काम पाएँ भने त्यसलाई कसरी हुन्छ पूरा गरेरै छाडौं भन्ने लाग्छ’ टेलिफोनमा आˆनो उत्साहित आवाजमा उनले भने ।

‘म आउने समय पाकिस्तानी खेलाडी फिल्डिङको मामलामा निकै तल थिए । मलाई उनीहरुको फिल्डिङ देखेर अचम्म लागेको थियो । सिड्नीमा ग्रेड लेभलका खेलाडीमा हुने फिल्डिङको ज्ञान पनि पाकिस्तानको राष्ट्रिय टोलीसँग थिएन । सानो उमेरमा पाकिस्तानी खेलाडीलाई फिल्डिङ नसिकाइनु नै सबैभन्दा ठूलो गल्ती थियो’ उनले भने ।

टी-२० जस्ता खेलहरु मानिसहरुले रुचाइरहेका बेला फिसफिल्डले कतिसम्म असर गर्छ भनेर खेलाडीले पनि गहिरिएर बुझ्न जरुरी छ । पूरा खेलमा आफूमा आउने एक-दुई अवसरलाई सदुपयोग गर्ने हो भने ब्याटिङमा बनाएको रनभन्दा महत्वपूर्ण हुन्छ ।

जोनले गरेको अर्को महत्वपूर्ण काम खेलाडीको क्षमता बुझेर उनीहरुलाई कुन स्थानमा फिल्डिङ राख्दा राम्रो हुन्छ भन्ने पनि हो । त्यसैले बलरले लाइन लेन्थ मिलाएर गरेको बलिङमा बल कता जान्छ भन्ने फिल्डरले पनि अन्दाज गरिसकेका हुन्छन् ।

यसमा आर्थर र जोनले कसरी काम गरेका थिए भनेर बुझ्न एउटा उदाहरण नै काफी हुन्छ । २०१७ मा च्याम्पियन्स ट्रफिअघि फिट नभएकै कारण ब्याटिङमा अब्बल रहेका उमर अकमाललाई उनीहरुले इंग्ल्याण्डबाट घर फर्काइदिएका थिए । त्यस्ता उदाहरण धेरै छन् । आर्थरले खेलाडीको खेल संख्या र सिनियारिटी नहेरी उनीहरुको फिटनेस र खेलमा ध्यान दिएकैले पाकिस्तान टिममा सुधार आइरहेको छ ।

आर्थर र उनको टिमलाई पाकिस्तानमा क्रिकेट सुधार गर्न पाकिस्तान सुपर लिगले पनि धेरै नै सहयोग गर्‍यो । २०१५ मा सुरु भएको पाकिस्तान सपुर लिग अहिले अर्को उचाइमा पुगिसकेको छ । जहाँ खेलाडीहरुले ब्याटिङ र बलिङसँगै फिल्डिङको महत्व पनि बुझेका छन् । ब्राड हज, लुक राइट, डायन ब्राभोजस्ता क्रिकेटरसँग सिक्ने मौका पाएकैले राष्ट्रिय टिमबाहिरका खेलाडीहरुले पनि अवसर र पैसासँगै ज्ञान कमाइरहेका छन् ।

पाकिस्तानको पूर्व क्रिकेटरसमेत रहेका अलिहे लाहोर क्वालानडर्सका फिल्डिङ प्रशिक्षक अतिक उज जमान क्रिकेटमा देखिएको परिवर्तनको श्रेय आर्थरलाई नै दिन्छन् । ‘पाकिस्तान क्रिकेटको सुधारमा यहाँ आएका सबै प्रशिक्षकको भूमिका छ । तर, आर्थरले जस्तो सफलता अरुले देखाएनन्’ उनले भने ।

आर्थरले निर्माण गरेको यो क्रिकेट र सँस्कार उनले छाडेपछि पनि रहिरहला त ? यसको जवाफ आर्थर स्वयमले त कसरी दिउन् । तरपनि उनी भन्छन्, ‘अझै केही वर्ष यसैमा काम गर्न सकियो र नयाँ क्रिकेटरलाई यसमा अब्बल बनाउन सकियो भने उनीहरुले पछिको पुस्तामा त्यो हस्तान्तरण गर्ने छन् । यो क्रम चलिरहने छ ।’

टी ट्वान्टी वरियतामा एक नम्बरमा रहेको पाकिस्तानले त्यही लय पछ्याउँदै गएमा आर्थरले छाडेपछि पनि उनको योजना र शैलीले निरन्तरता पाउने कुरामा विश्वस्त हुन सकिन्छ । २०१७ को च्याम्पियन्स ट्रफीमा भारतलाई हराएर उपाधि जित्नु नै आर्थरको प्रशिक्षणमा पाकिस्तानले ठूलो उपलब्धी मानिरहेको छ । तर, के थाहा अर्को उपलब्धीले त्यसलाई सानो बनाइदिने हो कि ।

(क्रिकइन्फोमा प्रकाशित डानएल रसुलको लेखको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment